राजु मृगेन्द्र जोशी- अध्यक्ष एवं संयोजक। कार्यक्रम स्थल : नेपाल प्रशासन प्रशिक्षण केन्द्र, जावलाखेल, ललितपुर। तत्कालीन श्री ३ जुद्धशमशेर जंगबहादुर राणाको निवास-दरबार। राणातन्त्रको अवसानपछि प्रजातान्त्रिक सरकारले राष्ट्रियकरण गरेको। जावलाखेल दरबार उपयोगबिना जर्जर विदीर्ण अवस्थामा रहेथ्यो।
सदुपयोग गर्न विदीर्ण हुँदै गुजरान महललाई बेलायती सरकारको सहयोगमा उपयुक्त तवरले मर्मत सम्भारपछि कर्मचारी प्रशासनिक प्रशिक्षण केन्द्रमा परिणत। दक्षिणतर्फ संलग्न नारायण शमशेर जबराको निवास। नारायण भवन त्रिभुवन ग्राम विकास प्रशिक्षण केन्द्र। इँटाका टुक्राटुक्रीले रोलर लगाई निर्मित बाटो। सिंगमर्मरले छापेको। इटालियन धातुले सिलिङ छाएको। झलझली आँखामा झल्किन्छ अझै।
त्रिभुवन ग्राम तथा जिल्ला विकास विभाग सिंहदरबारबाट नारायण भवन सर्यो। वर्तमानमा नब्बे वर्षीय चेतात्मा भर्खरको तन्नेरी युवक। नारायण भवनको नृत्य हल–पञ्चायत विकास विभागको सम्मेलन कक्षमा परिणत ! भक्तपुर विकास सहयोग संघको ३०औं वार्षिक साधारण सभाको अवसरमा ‘खोप्रिङ सम्मान- २०८१’ समादरणीय पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्यूको करकमलबाट प्रदान।
विदीर्ण दैहिक चेत लगलगाउँदै सिँढी उक्लँदै सभाकक्षसम्म पुगेँ। सकिन मूल थलोसम्म ओर्लन। आत्मबल उमेरले निचोर्दो रहेछ। अनुभूत गरें। छोराले ‘विस्तारै सुस्तसुस्त जाऊँ’ भन्दै थिए। आँट गर्न सकिनँ। टुप्पोमा जडित बेन्चमै थचक्किएँ। करजोरी प्रणाम त्यहींबाट बिसाएँ।
राजु मृगेन्द्र जोशीज्यू र प्रमुख अतिथि श्री विद्यादेवी भण्डारी आफैं उक्लनु भई ‘खोप्रिङ सम्मान- २०८१’ दोसल्ला ओढाई हस्तान्तरण महानता थियो उहाँहरूको। मनमनै गुनगुनाएँ ! ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम्’ मनमनै भनें। ओजस्वी नारी महात्म्य सार्थक सिद्ध हुन्छ उदारमनस्क भावले। राजु मृगेन्द्र जोशी अध्यक्ष एवं संयोजकका उदात्त चेतप्रति दुर्बल देहका पार्थक चिन्तन चेतधारीसँगको धन्य अभिवादन रह्यो धृष्टता मनको मेरो उधृत गरूँ, सम्मानपत्रको व्यहोरा यसप्रकार:
‘भक्तपुर विकास सहयोग संघको ३० औं वार्षिक साधारण सभामा आयोजित ‘खोप्रिङ सम्मान- २०८१’ मा नेपाली संस्कृति तथा भाषाको विकास एवं प्रवर्द्धनमा दशकौंदेखि अनवरत सेवारत रही अतुलनीय योगदान दिनुभएका वरिष्ठ वाङ्मय साधक तथा भाषासेवी श्री तेजेश्वरबाबु ग्वंगःज्यूलाई उच्च कदरस्वरूप यो सम्मान–पत्र प्रदान गरिएको छ।
यहाँको निरन्तर योगदानले नेपाल र नेपालीको गौरव एवम् श्री वृद्धिमा निःसन्देह थप उपलब्धि प्राप्त हुने विश्वासका साथ यहाँको सक्रिय एवम् स्वस्थ दीर्घ जीवनको कामना गर्दछौं।’
९० वर्षे जोवन–कुम्ली नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान पुग्दा असहज लाग्यो। परन्तु, यसले जीवनकालको पूर्व स्मृति उप्काउन यथेष्ठ सहायता बर्सायो। मन रुझ्यो। लुगा यथावत सुरुकै। यो जुद्ध-दरबार भवनलाई ‘नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान भवनमा परिणति दिन मित्रवर डा. तुलसीनारायण श्रेष्ठले वैचारिक सिञ्चन गरेको झल्यास्स झलझलियो। पुरनावृत्ति ऐन अवसर नै हुदो रहेछ। चस्किएछु म।
यो अवसरको सुनौलो प्रहरमा। बेलायत सरकारको अनुदान सहायता प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बेलायतकी संवैधानिक महारानी एलिजाबेथ द्वितीयले निरीक्षण गर्नुहुनेभयो। त्यसताका प्रतिष्ठान कार्यकारी प्रमुख आदरणीय श्री गोरखबहादुर न्हुच्छेप्रधान। तत्कालीन अधिराजकुमार श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह पूर्व निरीक्षणमा पदार्पण भएथ्यो।
सहायक अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी र विभागीय प्रमुखहरू समेतको सहभागितामा गोष्ठी चलिरहेथ्यो। विकेन्द्रीकरणको चरम अवसर। लेखनकला अभिमत सम्प्रेषण, निडर तर्क प्रस्तुतीकरण आदिका हेतु कारक तत्त्व अनुदेशक गुण।
यस हस्ताक्षरीले त्यस गोष्ठीमा ओभरहेड प्रोजेक्टरको सहाराले पर्दामा चित्राङ्कन प्रस्तुत गर्दै थियो। प्रशिक्षण कक्ष प्रवेश अन्यानेक भएथ्यो। सबै हामीले रूढि अभिवाद व्यक्त गरेको झझल्कियो। गुने मनमनै कालभरि परिस्थितिले शिरासन गरिसकेको।
भक्तपुर विकास सहयोग संघको २०८१ का सम्पूर्ण पदाधिकारीज्यूहरूमा हार्दिकताका कलशका अक्षर–भाव–सिञ्चन यो वयोवृद्ध चेतनाधारीको।
बिट मार्नुअघि आफ्नै उत्कण्ठाका जोखना जाहेरी ! उस बेलैका मान्यवर मित्रवरहरूमध्येका श्री कोमल बदन, श्री सर्वज्ञ मल्ल आदिमध्ये प्रायः सबै प्रमुख अतिथि आदरणीय पूर्व राष्ट्रपतिज्यू साथै कार्यक्रम थलोबाट उक्लनु भएकाले प्रत्यक्षीकरण गर्न पाएँ।
श्री मोहन श्रेष्ठ (साहिँला) बाट कोमल बदन मल्लज्यूको घुँडाको समस्याका कारण लामो सिँढी उकल्न नसकेको यथार्थ जानेँ। कृष्णलाल उझाँथाछेंज्यू माथि उक्लेरै दाइ सम्बोधन–गुञ्जनले विभोर भएँ। प्राध्यापक श्री माला मल्ल संस्थाको महासचिव हुनुभएको आमन्त्रण-पत्रमै अङ्कित रहेकाले दूरभाव संवाद साथ विभोर बनें।
प्रकाशित: २२ भाद्र २०८१ ०९:१६ शनिबार