कला

यसरी मनाए कलाकारले तीज

आज शुक्रबार सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन्। उनी १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी छन्। सदाझैँ यो वर्षको तीजमा पनि उनी फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त भइन्।

आज उनी दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त थिइन्। व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फूर्ति बढ्ने उनको अनुभव छ। तीजमा व्रत बस्नु उनको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो। “तीजको बेग्लै धार्मिक महत्त्व छ”, उनले भनिन्, “म स्वास्थ्य रहन पनि तीजको व्रत बस्छु।”

अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त भइन्। तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ। कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्त्व दर्शकमाझ बुझाएकी छन्, त्यति उनको वास्तविक जीवनमा मेल खाँदैन। तीजको दिन उनी चितवनमा ‘हिमालय रोडीज’ को सुटिङमै व्यस्त थिइन्। उनलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन। काम गर्नु नै उनको उत्सव हो। त्यसैले उनको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन।

गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया पुगिन्। तीजमा नचाउन एक साताअघि अष्ट्रेलिया पुगेकी उनले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याइन्।

स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उनको अनुभव छ। तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसकेकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउँछिन्। “भोकै बसेर पर्व मनाउने होइन”, उनी भन्छिन्, “नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ।  मैले यसरी मनाउँदै आएकी छु।”

गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको बताइन्। दिनमा तीनदेखि चार ठाउँ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिएकी उनले एक महिनामा राम्रो आम्दानी गरेको सुनाइन्।

तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिन्छिन्। उनी फलफूल खाएर व्रत बस्दैछिन भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउँदै छिन्।

उनी भन्छिन्, “समय फेरियो। पर्व पनि फेरिँदैछन्। तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ।”

प्रकाशित: २१ भाद्र २०८१ १७:१६ शुक्रबार