वसन्त अनुभव रेडियो नेपालबाट प्रसारित हुने बालकार्यक्रम सुनेर हुर्किएका अनि त्यसैको प्रभावले साहित्यतिर आकर्षित भएका स्रष्टा हुन्। विष्णुबहादुर र भीमाकुमारी खत्रीका कान्छा सुपुत्र हुन् उनी। उनको जन्म विसं २०३५ साल वैशाख १० गते दाङ जिल्लाको साविक हापुर २ मा भएको हो। हाल उनी जन्मिएको त्यो ठाउँ दाङको घोराही उपमहानगरपालिका १२ गुर्जेमा पर्छ। स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर गरेका अनुभव हाल सरकारी सेवामा कार्यरत छन्।
वसन्त अनुभवको २ व्यक्तित्व छन् - सम्पादक व्यक्तित्व र लेखक व्यक्तित्व। व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह), लघुकथाको सुगन्ध स्मारिका (अङ्क ४/५) अनि ऐतिहासिक यात्रा (संयुक्त टुक्काकवितासङ्ग्रह) मा उनको सम्पादन क्षमता देख्न सकिन्छ भने लघुकथाको सुगन्ध १२ फूल १०८ सुगन्ध (२०७९, संयुक्त लघुकथासङ्ग्रह) र नेपाली नस्ल (लघुकथासङ्ग्रह) मा उनको लेखनकौशल झल्कन्छ। २०५४ बाट लघुकथा यात्रामा लागेका उनको पहिलो लिखित लघुकथा ‘महिला स्वतन्त्रता’ हो।
यस विषयमा उनी आफैंले यो लघुकथा डायरीमा सुरक्षित छ भनेकाले उनको पहिलो लिखित लघुकथा कतै प्रकाशित नगरिएको भन्ने बुभिन्छ। बीचमा निकै समय लघुकथा नलेखी बसेका उनले २०७८ सालदेखि लघुकथा लेखमा रफ्तार बढाएर त्यो मौनता तोडेका छन्। उनले २०८० चैत महिनामा ‘नेपाली नस्ल’ लघुकथासङ्ग्रह प्रकाशित गराएर आफू लघुकथामा सक्रिय भएको पुष्टि गरेका छन्।
वसन्त अनुभवको नेपाली नस्ल सङ्ग्रहभित्र ५४ लघुकथा सङ्ग्रहित छन्। ३४ लघुकथाका शीर्षकहरू एकपदीय छन् भने बाँकी २० लघुकथाका शीर्षकहरू द्विपदीय छन्।
उनका लघुकथाहरूमा नेपाली समाज मुखरित छन्। पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ। सङ्ग्रहमा भुइँमान्छेहरूका समस्याहरू असरल्ल छन्। कतिपय लघुकथाले अभिधेयार्थको बाटो हिंडेका छन् भने कतिपय लघुकथाले प्रतीकात्मक र ध्वन्यात्मक अर्थको फेरो समाएका छन्।
मानव र मानवेतर दुवै खाले पात्रहरूको उपयोग गरिएको छ। कतिपय लघुकथामा मान्छेका शारीरिक अवयव (पेट, मुख, हात, टाउको) पनि पात्र बनेर आएका छन् भने कतिपय लघुकथामा त मानवीय भावनाहरू (वेदना) ले पनि पात्ररूप धारण गरेका छन्। यसले लघुकथालाई रोचक र पठनीय पनि बनाएको छ।
यस सङ्ग्रहका लघुकथाहरू रैखिक ढाँचाका नै छन्। उद्देश्य र आशय प्रष्ट छन्। सामाजिक, राजनैतिक, शैक्षिक बेथितिमाथि गरिएका प्रहारहरू निकै बलिया छन्। भाषागत रूपमा सरल भएर पनि अर्थगत रूपमा गहन छन् लघुकथाहरू। सम्वादमा मिठास छ। कृतिमा केही कमीकमजोरी देखिएका छन्। एकाध लघुकथामा एउटै आशय दिने वाक्यहरूको पुनरावृत्ति भएको छ। प्रकाशनमा हतारो नगरी यी पक्षहरूमा सामान्य दृष्टि पुर्याउन सकेको भए यो लघुकथासङ्ग्रहको ओज अझै बढ्ने थियो। यद्यपि व्यङ्ग्यधर्मिता प्रखर रूपमा प्रकट भएको यो सङ्ग्रह आजकल प्रकाशित भएका लघुकथासङ्ग्रहहरूमध्ये उम्दा सङ्ग्रह हो भन्न सकिने ठाउँ भने छ।
प्रकाशित: १७ भाद्र २०८१ १४:०० सोमबार