कला

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि!

मुक्तक

१) मुक्तक

कति पुरिइसके, कति आलै छन् चोटका खतहरू,

सम्झिन मन लाग्दैन, त्याग्न पनि सकिन्न कुनै संगतहरू।

मन मिल्ने मनमै छन् नमिल्ने आफैं टाढिदै गए,

अनौठो लाग्छन् हजुर सम्झिँदा आफ्नै विगतहरू।

२) मुक्तक

मौन सम्बाद गरें मैले अग्लिएको धुरीसँग,

अकस्मात परिवर्तित तिम्रा चुरीफुरीसँग।

भाव मिलाउने कोससिस गरें, त्याग जति मेरा भागमा परे,

खोइ, कसरी मिल्न सक्छ र मन्द पवन हावाहुरीसँग?

३) मुक्तक

स्वतन्त्रताको उपभोग गर्ने बहानामा नाङ्गो नपार्नु,

पानीजस्तै हो इज्जत र अस्मिता उदाङ्गो नपार्नु।

ढिला प्राप्त गरेको वस्तु नै मूल्यवान् हुन्छ हजुर,

लक्ष्य चुम्न ढिला भए पनि बाटो बाङ्गो नपार्नु।

४) मुक्तक

धनको कमी भए पनि मनको दरिद्र हुनु भएन,

जता ढल्क्यो उतै पल्क्यो द्वैध चरित्र हुनु भएन।

हरेक ठाउँको आफ्नो छुट्टै मौलिकता र महत्त्व छ,

त्यसैले मन्दिर जुठो हुनु भएन, रछ्यान पवित्र हुनु भएन।

५) मुक्तक

चाहेको दिन पनि सकिन र लिन पनि सकिन,

जगाउन खोज्थ्यौ तिमी म बिउँझिन पनि सकिन।

कुर्दाकुर्दा आत्तिएर धेरै टाढा पुगिसकेछौ तिमी,

विलम्ब गरें दुख साट्न, पछि दौडिन पनि सकिन।

६) मुक्तक

नाप्नुपर्छ जोख्नुपर्छ माना, पाथी, मुरी राख्नु,

सम्बन्धमा मिठास भर्न अलिकति दूरी राख्नु।

धेरै चपाए गुड पनि तितो हुन्छ सत्य हो,

व्यस्ततामा ध्यान दिनु कर्तव्यमा बहादुरी राख्नु।

७) मुक्तक

सबैका फरकफरक आनीबानी लाग्छ आजकाल,

अरूभन्दा म नै रहेछु भाग्यमानी लाग्छ आजकाल।

भविष्यको भरोसा छैन र कसैको आशा छैन,

सबैभन्दा प्यारो आफ्नै जिन्दगानी लाग्छ अजकाल।

८) मुक्तक

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि,

तर्नै नसक्ने मजधारमा डुबाउन खोजे पनि।

ठक्करै ठक्करले पत्थर भएको छ मन ऐले,

विश्वास लाग्दैन कसैले हात दिइ उठाउन खोजे पनि।

९) मुक्तक

जो दिनरात परिश्रम गर्छ उसकै घरमा अनाज छैन,

प्रतिकार त गर्न चाहन्छ, तर बोल्ने आवाज छैन।

जल्दोबल्दोको पछाडि नै त दौडिन्छ यो दुनियाँ,

निमुखा गरिबको पक्षमा वकालत गर्ने समाज छैन।

१०) मुक्तक

बनावटी हाँसोभित्र मन उदासउदास देखें,

पीडा लुकेको मुहारमा पनि उत्साह खास देखे।

दुख लुकाएर हाँस्न पनि ठुलै ताकत चाहिन्छ नि,

बोलीचाली मृदुभाषी अमृत भरिएको मिजास देखें।

प्रकाशित: १६ भाद्र २०८१ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App