कला

हाँसिरहन्छ जमिन

अन्तर्य

चिया पसलमा सधैं गफ मात्र उम्लन्न। कहिलेकाहीं फरक चर्चा पनि पाक्छ। यसै साता मनोहरा खोलामा आएको बाढीसँगै मूलपानीस्थित जनकको चिया पसलमा ज्ञानको भेल पनि उर्लियो। मनोहरा खोलाले खेत बगाएको चिन्ता गर्दै स्थानीय केदार कार्कीले सुस्केरा हाँल्दै चिया पिउन थालेपछि पसले जनक ‘महर्षि’ मुद्रामा झुल्किए।

‘खेत त त्यही होला नि,’ केदारलाई व्यङ्ग्यगरेजस्तै गरी उनले भने, ‘बरु खेतमाथि खोला बग्यो भन न।’ उनको सरल कुराले पीडामा रहेका केदारको अनुहारमा अलिकति मुस्कान प्रदान गर्‍यो। चियाको गिलाँस बटुल्दै गरेका जनक मुस्कुराउँदै केदारनजिक गफिन थाले।

‘हेर भाइ, अहिले हामी हाँसेजस्तै गरी जमिन हाँस्न थालेको युग बितिसक्यो,’ उनले भने, ‘हरेक युगमा हरेक व्यक्तिले यो जमिन मेरो भनेको सुन्दा जमिन निकै हाँस्छ रे,’ खेतको आलीमा बसेर जमिन मिचेको कुरामा झगडा गरेका सँधियार देखेर पनि जमिन हाँस्छ रे भन्दै जनकले जमिन दर्शनको कक्षा नै सुरु गरे।

खासमा जनकले विश्वविख्यात लेखक लियो टोल्स्टोयले आफ्नो कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड?’ बारे पढेको छैन। टोल्स्टोयको कथामा एउटा मान्छेलाई कसैले दिनभरि जति जमिनमा हिँड्न सक्छेस्, त्यति तेरो हुने भनेका थिए। उक्त व्यक्ति बिहानैदेखि धपेडी गर्दै जमिन धेरै बनाउने लोभमा साँझसम्म दौडिरह्यो। उसले जमिन पनि निकै फन्को मार्‍यो। अन्ततः ऊ थाकेर मर्‍यो। उसलाई करिब ६ फुटको जमिनमा गाडियो।

मानिसले मरेपछि पाउने भनेको त्यही ६ फुट जमिन हो भन्दै धनसम्पत्तिको मोह बेकार हो भन्ने सत्यलाई प्रस्ट पारेका छन्। यो कथा नपढे पनि यसको भाव भने जनकले बुझेको भान हुन्थ्यो।

त्यसैले उनी जति जमिन भए पनि नपुग्ने मानव मोहबारे चर्चा गर्न थाले। त्यसैले उसले केदार कार्कीलाई जमिन कसैको पनि नभएको र कसैले पनि लिएर नजाने भन्दै चिन्ता नगर्न आग्रह गरे। ‘यो जमिन मेरो यो तेरो भनेर लड्नेहरू थुप्रै जमिनमा गाडिएर माटो भइसकेका छन्,’ जनकले थपे, ‘त्यसैले जब–जब जमिनको विषयमा सँधियारको झगडा हुन्छ, जमिन आलीमा उभिएर हाँसिरहन्छ।’

उनको हाँसोसँगै जमिनका विषयमा अन्य कुरा पनि खोतलिए। खोलाले बगाएको भनेको केदारको जमिन नजिकैबाट बाटो पनि खुल्ने चर्चा चलेको थियो। मनोहरा खोला किनारमा बाटो खुल्ने भएपछि यस क्षेत्रमा जमिनको थप चर्चा चलेको छ। यो खोलाले भक्तपुर र काठमाडौंलाई छुट्टाएको छ।

खोला सर्दा कहिले काठमाडौंको जमिन भक्तपुरमा पुग्छ, कहिले भक्तपुरको जमिन काठमाडौंमा आउँछ। त्यसैले जमिनकै लागि अहिले सर्वसाधारण खोलाको चाल पनि नियाल्न थालेका छन्। तर खोलाले आफ्नो रूप फेरिरहेको छ। ‘जसले जे चाहे पनि खोला आफ्नै बाटोमा हिँड्छ,’ जनक फेरि मुस्कुराउँदै भने, ‘खोलाले व्यक्तिको जमिन चिन्दैन।’

जनक जमिन दर्शन सकाएर हाँस्दै चिया बनाउन हिँडे। केदार मौन रहे। उनको चित्त बुझ्यो बुझेन थाहा छैन तर केदार र जनकबिचको चिया पसलको यो सत्सङ यी दुईमा मात्र सीमित छैन। समाजमा थुप्रै केदार छन् अनि थुप्रै जनक पनि।

चिया पसलमा जमिनको चर्चा यो पहिलो पनि होइन। कहिले यहाँ मुलुकको चुच्चे नक्सामा भारतले मिचेको मुलुकका जमिनको चर्चा हुन्छ, त कहिले सँधियारले मिचेको आफ्नै खेतको आलीको चर्चा हुन्छ। सानो टुक्रा जमिनका लागि ठुलो विवाद अब काँठ क्षेत्रमा नौलो रहेन।

त्यसैले यहाँको पसलमा जमिनको निरन्तर चर्चा चलिरहन्छ। अझ अहिले त प्लटिङ चलिरहेकाले जमिनसँगै त्यसको मूल्यको पनि चर्चा चल्ने गरेको छ। गाउँबाट भर्खरै सहरमा विकसित हुँदै गएको यो ठाउँमा जमिनको चर्चा कुनै नौलो रहेन।

यही ठाउँमा तीन आना जमिनका लागि जीवनभर संघर्ष गरेर आएका पनि जम्मा भएका छन्। अनि तीसौं रोपनी जमिन केही पनि सङ्घर्ष नगरेर गुमाएका पनि थुप्रै छन्। तर जमिनप्रतिको लोभ भने थोरै हुनेको भन्दा धेरै हुनेको बढी देखिन्छ। बरु तीन आना हुनेले चाहिँ बाटो दिन किचकिच गरेको देखिँदैन तर तीसाैं रोपनी हुने चाहिँ बाटो साँघुरो भए पनि चल्छ भनेर बस्छ।

त्यसैले राजधानीको काँठ क्षेत्रमा जमिनको कुरासँगै जमिन दर्शन सुनिन्छ। एक एक इन्च जमिनका लागि झगडा हुने पनि सामान्य भइसकेको छ। कुनै समय मानिस हिँड्नका लागि बाटो दान गर्नेहरू अहिले बाटो काट्न थालेका छन्। दर्शन ठुला ठुला गरे पनि जमिनको विषयमा आएपछि सबै पुराना दर्शन टुंगिन्छन् अनि जमिनको नौलो दर्शन सुरु हुन्छ। जसमा लोभ बढी झल्कन्छ।

त्यसैले पुराना कथाकारले भन्ने गरेको ‘ये लोक क्युँ लड रहे दो गज जमिन के लिए ?’ भन्ने सन्देशले काम गरेको देखिँदैन। दुई इन्च जमिनका लागि पनि निरन्तर झगडा परिरहन्छ। त्यो देखेर जमिन हाँसिरहन्छ।

जमिनको महत्त्व सबै ठाउँमा एकै नभएर होला, राजधानीमा चाहिँ जमिनको चर्चा अलि बढी नै हुने गरेको छ। त्यसैले रामेछापमा तीन सय रोपनी जमिन भएका विनय खड्का मूलपानीमा तीन आना जमिन किनेकोमा बढी खुसी हुन्छन्।

‘काठमाडौं आएको १३ वर्ष भयो, घडेरी किन्न सकिएको थिएन,’ हालसालै घडेरी किनेका उनले भने, ‘तीन आना घडेरी किनेसँगै मनमा सन्तोष छाएको छ।’ उताबाट आएका आफन्तले घडेरी किनेर घर बनाइसकेका कारण पनि आफूलाई दबाब बढेको उनले सुनाए। ‘जमिन रवाफ पनि रहेछ,’ उनले सुनाए, ‘त्यसैले राजधानीमा जमिनको धेरै चर्चा हुने गरेको छ।

जमिन रवाफ, सान जे भए पनि यसमा मानिसको भोग भने सीमित छ। टोल्स्टोयको कथाका पात्र हुन् या चिया पसले सबैले एउटै सन्देश दिएका छन्– जमिन कसैको होइन, सबैको हो। त्यसैले जमिनमा खुट्टा राख्नू तर जमिन टाउकोमा नराख्नू। अनि सामान्य कुरामा पनि जमिनका लागि लड्नुभन्दा यहाँ सद्भावका साथ बस्नू। कसैले भनेका छन्– आज जमिनमाथि सद्भावसँग बसे मात्र भोलि जमिनमुनि शान्तिसँग बास हुन्छ। जमिनको हाँसो बुझे जमिनका लागि रोइरहनु पर्दैन।

प्रकाशित: १५ भाद्र २०८१ ११:१० शनिबार

# internal #Characters from Tolstoy's stories