विविध सभ्यता र संस्कृतिले भरिपूर्ण छ सुदूरपश्चिम र कर्णाली प्रदेशको समाज। भाषा, साहित्य, संस्कृति भिन्न प्रकारको भएकाले यहाँको भूगोल झट्ट हेर्दा र सुन्दा अनौठो लाग्छ।
भाषाको चर्चा गर्दा दार्चुला, बैतडी, डडेलधुरामा बोलिने भाषा र बझाङ, बाजुरा, अछाम अनि डोटी पूर्वी भागमा बोलिने भाषामा ठुलो अन्तर देखिन्छ। सामान्य रूपमा साहित्य र संस्कृति उस्ताउस्तै देखिए तापनि सूक्ष्म रूपले अध्ययन गर्ने हो भने भिन्नता पाइन्छ। यही विविधताभित्रको एकताको सिंगो स्वरूप हो काली–कर्णालीको पवित्र माटो।
विसु (वैशाख संक्रान्ति) पर्वले नयाँ वर्षमा मनाउने सबैथरी पर्व–आगमनको ढोका खोलिदिन्छ। त्यसपछि असार १५, साउने संक्रान्ति र साउन पन्ध्रलाई देशका अरू जिल्ला र प्रान्तमा मनाउने पर्वझैं समानरूपले मनाइन्छ। तर भदौ १ गतेलाई पश्चिममा गाभ्या संक्रान्तिका नामले भव्यताका साथ स्वागत गरिन्छ।
जमिनबाट उत्पादित हरेक बोटवृक्षको आआफ्नै महत्त्व छ। हाम्रा वनजंगल आयुर्वेदिक औषधालय हुन्। खेतबारीमा उत्पादित खाद्यान्न र सागपातहरू मानवजीवनका प्राण हुन्। सागपातमा पाइने पौष्टिकताले हाम्रो शरीर हृष्टपुष्ट हुन्छ, निरागी हुन्छौं। तर कतिपय सागपात अनजानमा हामी खेर फाल्छौं या घाँसका रूपमा प्रयोग गर्छौं, जस्तै च्याउ। सानो छँदा गाउँघरमा च्याउ उम्रेको देखेमा हामीलाई घिन लाग्थ्यो। बरु मानिसले खान हुँदैन, गाईवस्तुलाई लेपो (कुँडो) बनाएमा दुध दिन्छ भन्ने चलन थियो। त्यसैले भनिएको होला ‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्’। अहिले च्याउको महत्त्व कति रहेछ ? बल्ल पो थाहा भयो।
यसैगरी सुत्केरी हुँदा महिलालाई हरियो सागपात, माछामासु, दुध दिने चलन थिएन। हरियो सागपात खुवाएमा बच्चालाई असर गर्छ भन्ने अज्ञानताले मनमा जरा गाडेको थियो। आमा र बच्चालाई हरियो सागपात र दुधले कति पौष्टिक आहार दिलाउँछ भन्ने धेरैपछि मात्र हामीलाई थाहा भयो। प्रकृतिले हामीलाई अमृतमय खाद्यवस्तु फलफूल सबै दिलाएको छ। तर कस्तुरीले आफ्नो बिनाको बास्ना थाहा नपाएझैं हामीलाई प्रकृतिका अनमोल औषधीजन्य बोटविरुवाबारे थाहा छैन। परिणाम, हामी रोगी बनिरहेछौं।
भदौ संक्रान्तिलाई गाभ्या संक्रान्ति भनिन्छ। क्रान्ति शब्दमा ‘सम्’ उपसर्ग लागेर संक्रान्ति बनेको हो। एक महिनापछि अर्को महिना आगमनको पहिलो दिनलाई संक्रान्ति भनिन्छ। भदौ संक्रान्तिलाई सुदूरपश्चिम र कर्णालीमा ठुलो महत्त्वका साथ हेरिन्छ। यस दिनमा गाभाका परिकार खाने चलन छ।
गाभामा पाचन शक्ति हुन्छ, उष्णता दिन्छ। साउनभरि काम गर्दा थकित शरीरलाई शक्ति दिनका लागि गाभा खानुपर्छ भन्ने लोकोक्ति एकातिर छ भने अर्कातिर गाभाको परिकार खाँदा हिउँदभरि शुभ हुन्छ भन्ने भनाइ पनि छ। त्यस दिन गाईवस्तुलाई प्रशस्त मात्रामा घाँस खुवाउने गाईको गहुँत र दुबोले घर पवित्र पार्ने पुरानो चलन अहिले पनि कायम छ।
दरबारको ऐनभन्दा खोलादराको चैन ठुलो हुन्छ भन्ने कथनअनुसार गाभ्या संक्रान्तिका दिन खोलादराको राजाको मानमर्यादा कायम राख्न र गाउँका नायक, मन्दिरका धामी, पुजारी, गाउँका बुढाबुढी र गाउँका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप ताजा गाभा, एक ठेकी दही, एक छाप्रो (भाँडो), लाउन (पुरी) सम्मानस्वरूप उपहार दिने चलन छ, जसलाई ओल्को चढाएको भनिन्छ। त्यसैले पनि सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा यस दिनलाई गाभ्या संक्रान्ति साथै ओल्क्या संक्रान्ति पनि भनिन्छ। यहाँको समाजले हरेक संस्कृति बोकेको छ। अनि पो समृद्ध संस्कृति र सभ्यता पनि छ यो प्रदेशमा।
भदौ १ वादी समुदायको मुक्तिको दिन पनि हो। उनीहरूले नाचगान गरेर यस दिनलाई विशेष पर्वका रूपमा मनाउँछन्। प्रकृतिका मौलिक कलाकारका रूपमा परिचित वादी जातिमा धेरै सिप छन्, मातृभूमिप्रति अगाध माया र ममता छ तर आफ्नो नाममा एक टुक्रा पनि जमिन छैन। पेट पाल्नकै लागि उनीहरू फिरन्ते जीवन बिताइरहेका हुन्छन्।
सारङ्गी बनाउन, बजाउन र गीत गाउन सिपालु वादीहरू कुनै बेला हुक्का, चिलिम, सुल्पा र माटाका विविध भाँडाकुँडा बनाउने गर्थे। बिस्तारै यो चलन हराउँदै गएको देखिन्छ। परिवार संख्या बढ्दै गएपछि खाद्यान्नको अभाव हुँदै गयो। बाध्य भएर व्यावसायिक विकल्पमा लाग्न थाले।
गणतन्त्रकालयता उनीहरूले यो पेसा छाडेर सिर्जनाका अन्य काममा आफूलाई व्यस्त तुल्याएका छन्। तर गाभ्या संक्रान्तिको दिनमा उनीहरू घरघरमा गएर खाद्यान्न सामग्री माग्ने गर्छन्। यस दिन उनीहरूलाई खुसी पार्ने गरी सबैलाई खाद्यान्न र नगदी दिएर बिदाइ गरिन्छ।
मुक्तिपर्वको दिन भएकाले यस दिनमा वादीजातिलाई विशेष सद्भावका दृष्टिले हेर्ने गरिन्छ। सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीका केही भागमा उनीहरूको बसोबास छ। आफूभन्दा माथिल्लो जातलाई श्रद्धा गरी जहिले पनि भाग्या (भाग दिने व्यक्ति) र मालिकजस्ता आदरार्थी शब्द प्रयोग गरी आफ्ना समस्या सुनाउने गर्छन्। भाद्र १ गते उनीहरूलाई खुसी पार्न सकिएन, हेपाहा प्रवृत्तिले बोलेको खण्डमा बदलामा मुखमा नअटाउने अपशब्द प्रयोग गर्न पनि पछि पर्दैनन्।
अधिकांश वादीहरू अपठित छन् तर चेतनाको कमी छैन उनीहरूमा। सल्यान, दाङ, दैलेखका केही भागमा पनि वादीको बसोबास छ। नेपाल सरकारले निःशुल्क पढाउने, वृद्धवृद्धालाई भत्ताको व्यवस्था गर्ने, गाउँ–टोलस्तरमा जनप्रतिनिधिसम्म बनाउने अवसर दिएपछि उनीहरूको स्तर बढेको छ।
अहिले उनीहरू सिर्जनामा लागेको देखिन्छ। बझाङ, बाजुरालाई कर्मथलो बनाएकी डिक्रा वादी विगत २० वर्षदेखि गायन पेसामा नै फर्केकी छन्। उनका श्रीमान् कित्थ्या वादी सारङ्गीवादक हुन्। राष्ट्रले उनलाई सम्मान पनि ग¥यो। देउडा गीतका गीति क्यासेट उत्पादन गरी नाम चलाएकी छन्। देउडामा ठाडी भाका गाउने सुपरिचित कलाकार बनेकी छन् उनी। यसरी क्रमिक रूपमा वादी जातिको विकास भइराखेको देखिन्छ।
असार–साउनमा पानीले भिजेकी प्रकृति भदौको घामपानीमा उज्याली देखिन्छिन्। अझ भदौ महिनामा देखा पर्ने सप्तरंगी इन्द्रणीको छायाले शुभ संकेत दिन्छ भन्ने गर्थे बझाङ तलकोटका ज्योतिष करणदेव जोशी। मालिका भगवतीको विशेष पूजा श्रावणको पूर्णिमा तिथिमा पर्ने र भदौमा प्रत्येक साल गौरादेवीको पर्व र श्रीकृष्ण जन्माष्टमी मनाउने भएकाले पनि यस महिनालाई फलदायी महिनाका रूपमा हेर्ने गरिन्छ।
गाभ्या संक्रान्तिका दिनदेखि सबैथरी पितृहरू ढोका नजिकै आउने गर्छन् भन्ने भनाइ रहेको छ। सोह्रश्राद्ध पनि भदौमा नै पर्ने हुँदा धार्मिक एवं सांस्कृतिक महिनाका रूपमा यसलाई लिने चलन छ।
सूर्यनारायण उत्तरायणबाट दक्षिणायन प्रवेश गर्ने हुँदा गर्मी पनि बिस्तारै कम हुँदै जाने, रात क्रमिक रूपमा लामा, दिनहरू छोटा हुँदै जान्छन्। खेतीपातीमा देखिने लोभलाग्दो दृश्यले किसान दाजुभाइहरू आफूले गरेको कर्मको फलको आशामा ढुकेका हुन्छन्। गाभाले शरीर पोसिलो पार्ने, गाभा र दही खाँदा शुभ हुने, हिन्दु धर्ममा प्रचलित सबै पर्वको स्वागत पनि गाभ्या संक्रान्तिबाट हुने हुँदा यसको महत्त्व गरिमामय छ भन्ने संस्कृतिविद्को कथन रहेको छ।
प्रकाशित: १५ भाद्र २०८१ १०:१६ शनिबार