कला

मातृशक्ति जुर्मुराउने पर्व

पुस्तक

हरितालिका तीज तपाईंहाम्रो घरआँगनतिर नजिकिँदै छ। यो तीज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दिदीबहिनीले मनाउँछन्। जहाँजहाँ तीज मनाउँछन्, त्यहाँको परम्परा के–कस्ता छन् ? यसबारेमा बृहत् रुपमा थाहा पाउनु छ भने अब ती ठाउँ घुमिरहनु पर्दैन; डा. भूपहरि पौडेलको ‘तीजको तरंगमा फक्रिएका परम्परा’ नामक ग्रन्थ पल्टाए पुग्छ। हिजोआज मात्र होइन, दशकअघि र त्यसभन्दा पर वैदिक कालसम्म तीजका परम्पराबारे जानकारी पनि यसमै समेटिएको छ। एउटै वाक्यमा भन्दा यो ग्रन्थ तीज परम्पराको विश्वकोश हो।

तीज परम्परालाई सांस्कृतिक, सामाजिक, धार्मिक, आध्यात्मिक, भौगोलिक, राजनीतिक, आर्थिक, शैक्षिक, साहित्य, कला, आमसञ्चार, अन्तर्राष्ट्रिय, सामाजिक सञ्जालहरूले आत्मसात गरेका छन्। लेखन, सम्पादन तथा प्राध्यापन क्षेत्रमा लामो समय बिताइसकेका ग्रन्थकार डा. पौडेलले यो ग्रन्थलाई २५ खण्डमा विभाजन गरी तीज परम्परालाई विस्तृत रुपमा प्रस्तुत गरेका छन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा तीज मनाउने परम्परा बढ्दै गएको छ। छिमेकी मुलुक भारत, बर्मा, भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, जापानलगायतका देशहरूमा पनि तीज परम्परा रहेको खण्ड २१ को ‘अन्तर्राष्ट्रिय नेपाली महिलाको तीज पर्व’ मा उल्लेख गरिएको छ। विभिन्न माध्यमबाट विदेश पुगेका र त्यतै बसोवास गर्दै आएका दिदीबहिनीहरूले हरेक वर्ष तीज पर्व मनाइरहेको खण्ड २० को ‘फोटोमा हरितालिका तीज र ऋषिपञ्चमी पर्व’ मा समेटिएका तस्बिरबाट स्पष्ट हुन्छ।

पत्रकारिता क्षेत्रले तीज परम्परालाई प्रमुखता दिँदै आएको छ। दैनिक, पाक्षिक, मासिक पत्रपत्रिका र बुलेटिनहरूमा पनि तीज परम्पराले उच्च स्थान पाएको खण्ड २४ को ‘अखबारमा हरितालिका तीज’ मा देखाइएको छ। तीज मनाइरहेका सर्वसाधारण, बौद्धिक वर्ग, जिम्मेवार तहमा रहेकाहरूका भनाइका आधारमा तीजका समाचार, लेख तथा फिचर प्रकाशन भएका छन्। पछिल्लो समय अनलाइन, मोबाइल तथा फोटो पत्रकारिता, सामाजिक सञ्जाल, युटुबहरूले तीजका समाचारका साथै कार्यक्रमहरूलाई ‘लाइभ’ दिएर यसको गरिमा र महत्व झल्काएको भेटिन्छ। तीज जनजनले मनाउने पर्व बनेको छ।

मातृभाषी समुदायमा समेत तीज मनाउने परम्परा छ। नेपालको तराई क्षेत्रका कायस्थ परिवार, मैथिल समुदाय, राना समुदाय, राई, थकाली समुदायका महिला पनि हरेक वर्ष तीजमा गायन, नृत्य, अभिनय, आराधना, दर्शन, पूजन, दीप प्रज्ज्वलनमा सहभागी भएको देखिन्छ। तीज सबै जातिमाझ लोकप्रिय हुँदै आएको खण्ड १९ को ‘मातृभाषी समुदायको हरितालिका तीज’ मा उल्लेख छ।

शब्दकोषीय, पञ्चांग र पूजा पद्धतिका हस्तलिखित र मुद्रित पुस्तकका खण्डहरूमा हरितालिका तीज मनाउने वैदिक विधिका बारेमा उल्लेख गरिएको पाइन्छ। यस आधारमा यस पुस्तकलाई तीज परम्पराको प्रामाणिक ग्रन्थ मान्न सकिन्छ। तीज व्रत र पूजा प्रधान पर्व हो। पूजा र व्रतका साथसाथमा गायन, नृत्य, प्राणायाम र ध्यानमार्फत आफूभित्र प्रवेश गर्दै सांसारिक जन्ममरण क्रियाबाट मुक्त हुने ऋषि परम्परा हो– तीज।

खण्ड ६ मा हरितालिका तीजको पूजा पद्धति र कथा समावेश गरिएको छ। पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत तथा ध्यान बस्दै आएकी थिइन् तर मातापिताले उनको बिहे विष्णुसँग गराइदिन लागेको सखीहरूले पार्वतीलाई सुनाइदिए। यस कुराले पार्वती चिन्तित भइन्।

त्यसपछि सखीहरूले उनलाई हरण गरेर लगी कतै लुकाइदिए। त्यो गोप्य ठाउँमा पार्वती व्रत, जप, तप र ध्यानस्थ भइन्। व्रत पूर्ण भएपछि पार्वतीले भाद्र शुक्लपक्ष तृतीयाका दिन देवादिदेव महादेवलाई पतिका रुपमा पाएको मानिन्छ। भगवती पार्वतीले सखीहरूका साथमा हरेक वर्ष यस दिन पूजा र व्रतका साथसाथ गायन, नृत्य गराउँदै आइन्। उनका सखीहरूले पनि यसलाई निरन्तरता दिए। त्यही पौराणिक मान्यताको अनुशरण गर्दै तीज व्रत बस्ने परम्परा आज पनि छ।

खण्ड १४ मा नेपालका भौगोलिक क्षेत्रमा प्रचलित तीज गीत प्रस्तुत गरिएको छ। यस खण्डमा हिमाली तथा पहाडी तराईका कतिपय जिल्लाहरूमा गाइएका तीज गीतहरूलाई समावेश गरिएको छ। उनीहरूले गाएका तीज गीतलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ। ती गीतमा सासूले माइत जान नदिँदा, अर्काको घर जानुपर्दा, खान नपाउँदा, पति गुमाउनुपर्दा, पढ्न नपाउँदाका पीडा, विलौना, भेदभाव, अवहेलना, अन्याय, आक्रोश, पिर, चिन्ता, डर, कुण्ठा, दुःखदायी व्यवहारका साथसाथै शिव–पार्वती, कृष्ण–राधा, सीतारामको भक्ति, प्रार्थना गरिएको भेटिन्छ।

तीजमा दिदीबहिनीहरू माइती जाने, माइती परिवारसँग भेटघाट र सुखदुःखका संवाद गर्ने, थरीथरीका परिकार बनाएर दर खाने, तृतीयाका दिन राता, हरिया र पहेंला रङका धोती, सारी, चोलो, चुरा, पोते, टीका लगाई नजिकैको देवालय जाने, भगवान् शिव शंकर र भगवती पार्वतीको दर्शन, पूजन, आराधना, दीप प्रज्ज्वलनका साथै गायन, नाच, अभिनय, हँसीठट्टा र रमाइलो गर्ने गर्दछन्।

तीजमा दिदीबहिनीलाई मनका कुरा पोख्न, नाच्न, गाउन कुनै बन्देज हुँदैन। लाज, शरम, पारिवारिक बन्धन सबैबाट उनीहरू मुक्त हुन्छन्। हाँस्न र ठट्टा गर्छन्। शिवालयमा दिनभर ढुक्कले बस्न पाउँछन्। मनभित्रका आक्रोश, पिर, चिन्ता, डर, कुण्ठा भएजति सबै गीतमार्फत पोख्दा उनीहरूको मन हलुका हुन्छ। दिदीबहिनीलाई यस्तो स्वतन्त्रता तीजमा मात्र प्राप्त हुन्छ। यसर्थ पनि तीजमा दिदीबहिनी माइती जान बढी उत्सुक हुने गरेको देखाइएको छ।

तीजमा विवाहित दिदीबहिनीहरू पतिको सुस्वास्थ्य र दीर्घायुको कामना राखेर व्रत बस्ने वैदिक परम्परा छ। पछिल्लो समय तीज परम्पराको दायरा फराकिलो भएको देखिन्छ। विधवा र मातृभाषी समुदायका महिला पनि व्रत बस्न थालेका छन्। व्रतमा आफू, घरपरिवार, सन्तति, समाज, देश र विश्व ब्रह्माण्डमा सुख, शान्ति, मेलमिलाप र एकताको भावना फैलियोस् भन्ने भावना राख्न थालिएको छ। यो तीजको सकारात्मक पक्ष हो।

खण्ड १८ मा ‘शिवालयमा तीज’ का बारेमा चर्चा गरिएको छ। हरितालिका तीजका आराध्य देवता शिव हुन्। शिव शक्तिमान र पार्वती शक्ति हुन्। भाद्र शुक्लपक्ष तृतीयाका दिन जहाँजहाँ शिवालय छन्, त्यहाँत्यहाँ तीजमा मेला लाग्छ। काठमाडौंको देवपत्तनस्थित आराध्यदेव भगवान् पशुपतिनाथमा यस दिन ठूलो मेला लाग्छ। काभ्रेको धनेश्वर, भक्तपुरको डोलेश्वर, देवघाट, हलेसीसहित सबैजसो शिवालयहरूमा मेला लाग्छ।

खण्ड  ४ मा हरितालिका तीज र पूजा परम्पराका बारेमा उल्लेख गरिएको छ। भगवान् शिव देवाधिदेव हुन्। उनको अपूर्व महिमा छ। उनी दिव्यशक्तिद्वारा सृष्टि, स्थिति र लय गर्छन्। शिव परम्तत्व हुन्। माता पार्वतीले परम्तत्व प्राप्तिका लागि भगवान् शिवको अनुष्ठान गरेकी थिइन्। तीज परम्परा परम् शिवतत्व प्राप्तिका लागि मनाइने पर्व हो।

शिव, परमात्मा, परमेश्वर, राम, श्रीकृष्ण जे भन्नुस्, शब्द नामले फरकजस्ता लाग्छन्, तर एउटै परम् शक्ति हुन्। शिव नै गुरु, देवता र प्राणीहरूका बन्धु हुन्। शिव नै आत्मा र शिव नै जीवन हुन्। शिवभन्दा अर्को जगत् छैन। पार्वतीले जसरी आफूभित्रका सबै इन्द्रियलाई शिव अनुष्ठानमा फर्काएर कामनाका पहाड भत्काइन् र परम् शिवशक्ति प्राप्त गरी भवसागरबाट मुक्त भइन्। आजको तीज त्यसैको निरन्तरता हो।

व्रतले व्यक्तिलाई शारीरिक तथा मानसिक स्वास्थ्यलाभ प्राप्त हुनेमा दुईमत छैन। व्रतका साथमा शिवको कीर्तन र आराधना गर्नाले पनि आत्मशान्ति प्राप्त हुन्छ। तीजका माध्यमबाट जानीनजानी तरिकाले दिदीबहिनीहरू आफूतिर फर्किरहेका हुन्छन्। समाजमा रहँदा–बस्दा र व्यावहारिक कर्मका क्रममा दौडधुप गर्दा आफूलाई बिर्सिएकाले हाम्रा ऋषिमुनिहरूले तीज परम्परा चलाएका हुन्। यही ध्येय राखेर तीज परम्परा बसाइएको हो।

समाजमा धार्मिक, सामाजिक, आध्यात्मिक, पारिवारिक, आर्थिक आदि संरचनालाई जीवन्तता प्रदान गर्न मातृशक्तिको सर्वोपरि स्थान छ। कुनै पनि परिवार सबल र सफल हुनुमा मातृशक्तिको ठूलो हात रहेको हुन्छ। मातृशक्तिविनाको परिवार खरबारीसरह हुन्छ। तीजमा मातृशक्तिले गरेको व्रत र उपासनाले व्यक्ति, परिवार, छिमेक र समाजमा शान्ति स्थापनामा सकारात्मक प्रवाह फैलिएको हुन्छ।

विविध पाटोबाट हेर्दा तीज विशेषतः संस्कृति हो। वैदिक कालदेखि चल्दै आएकाले यो वैदिक पर्व या पौराणिक पर्व पनि हो। यो पर्वमा सबै दिदीबहिनीले मन फुकाउँछन्, रमाउँछन् र गाउँछन्। सबै जाति, भाषा र धर्मका दिदीबहिनी पनि आउन पाउँछन्। यसमा कुनै सीमा छैन। त्यसैले तीज उत्सव पनि हो। यो पर्वमा दिदीबहिनीहरु माइत जान्छन्; दाजुभाइ, बाआमा र आफन्तजनसँग भेटघाट गर्छन् र दुःखसुखका कुरा गर्छन्। यसकारण तीज दुःखसुख कुरा पोख्ने पर्व हो। तीजले दिदीबहिनीलाई शारीरिक तथा मानसिक शुद्धि भई मनमा शान्ति, सन्तोष, सद्भाव र आनन्द दिन्छ। यसकारणले तीज मुख्यतः आफूतिर फर्कने पर्व हो।

ग्रन्थकार डा. पौडेलको यो कृति ६६६ पृष्ठको रहेको छ। काभ्रे नालाका रत्नप्रसाद श्रेष्ठले प्रकाशन गरेको यस ग्रन्थको डिजाइन नवराज दाहालले गरेका छन्। कलर्स प्रेस प्रा.लि. गोंगबुले मुद्रण गरेको यसको मूल्य १५०० रुपैयाँ रहेको छ। आकारको हिसाबले ठुलो देखिए पनि प्रस्तुतिका हिसाबले वाक्य सरल छन्। समग्र अध्ययन गर्दा पाठकलाई तीज परम्पराको सिंगो ज्ञान प्राप्त हुने छ। यही नै यस ग्रन्थको क्षमता हो।

प्रकाशित: १५ भाद्र २०८१ ०९:५४ शनिबार

# Haritalika Teej # Didibahini