कला

जीवनमा पहिलोचोटि पर्यटकसँग जहाज चढ्दा

यात्रासंस्मरण

काजी  र म प्राय थर्डपोल ट्रेकिङ अफिसमा बसिरहेका हुन्थ्यौ। १० अप्रिल १९९५ का दिन पनि  रणबहादुर खत्री (काजी) र म अफिसमै थियाै। उनलाई सबैले काजी नै भनेर बोलाइने गरिन्थ्यो। यहाँ पनि काजी नै भनेर उल्लेख गरिएको छ। उनी अफिस म्यानेजर थिए भने म ट्रेकिङ भरिया।

त्यो बेला अहिले जस्तो सञ्चारको सुविधा राम्रो थिएन। टेलिफोनको सुविधा नभएकाले त्यो बेला ट्रेकिङ गाइड होस् वा भरिया होस् कामको जानकारी कार्यलयमै गएर बुझेसकेपछि पालो समेत अपिलसमै कुर्नुपर्ने हुन्थ्यो। त्योबाहेक अर्को उपाय थिएन।

अफिसमै बसेर ट्रेकिङका कुराहरू गर्दै गर्दा काजीले भने, “म पनि ट्रेकिङ जानुपर्ला जस्तो लागेको छ यसपालि।”

पहिला मुक्तिनाथ गएर अन्नपूर्ण ट्रेकिङ जाने एकजना अमेरिकन छे। अफिसमा उसँग जाने गाइड कोही पनि छैन। गाइडहरूसबै फिल्डमा छन्”

“अफिसमा कोही पनि गाइडहरू नभए त।” मैले केही भन्न खोज्दा खोज्दै  बिचैमा काजीले थपे, “त्यो बेलासम्म फिल्डबाट कोही फर्किदैन, भएका पनि घर गए।”

“मुक्तिनाथको बाटो चिनेको पोटर कोही भयो भने अब म उसैलाई लिएर ट्रेकिङ जानुपर्ला जस्तो छ जे एन्।”

अफिसमा बस्दाबस्दा दिक्क भएको बेला ट्रेकिङ गएर मुड फ्रेस गर्न पर्लाजस्तो छ।

“तिमीलाई मुक्तिनाथको बाटो थाहा छ? थाहा भए ट्रेकिङ जान पाउने र जहाज पनि चढ्न पाउने थियौ।”

पक्का गराउन खोजेझैं फेरि, “ल भन भन जे एन तिमीलाई बाटो थाहा छ भने ...भनिहाल... थाहा छ?”

मैले मनमनै सोचेर जहाज पनि चढ्न पाउने भएपछि गए नगएको केही नभनी “मलाई थाहा छ” भनिदिएँ।

हुन त त्यो जोमसोम मुक्तिनाथको बाटोको बारे के पर्छ कसो पर्छ भनेर पहिल्यै कान्छो भाइ देवीसँग केही जानकारी लिइसकेको थिएँ।  र त्यही बलमा बाटो थाहा छ भनेको थिएँ। काजी र म मुक्तिनाथ जाने कुरा पक्का भयो।

१८ अप्रिलका दिन हामी काठमाडौ ओभरल्याण्डको बसबाट पोखरा लाग्यौं। बाटोमा काजीसँग  निकै रमाइलो अनुभवहरू गर्न पाइयो।

त्योबेला हाम्रो बसाइ होटेल साइलेण्ट पिकमा तय गरिएको थियो।

होटेल पुगेपछि रूम ब्वायले भेरोनिकोे ब्यागेज उसको रूममा लगिदियो। भेरोनिका पनि रूमतिर लागी। आराम गरिसकेर रूमबाट “आर यू रेडी?” भन्दै भेरोनिका हामी भएकोतिर आई।

“यस वीआर रेडी” भन्दै काजी अगाडि हिंडे। पोखराको शट शाइटसिनका लागि।

स्थानीय होस् या पर्यटक सबैका लागि हल्लनचोक निकै आकर्षणको केन्द्र थियो। हामी तिनै जना त्यतै लाग्यौं। अघिल्लो पटक फिनल्याण्डबाट आएका टोपीको ५ जनाको ग्रुपसँग अन्नपूर्ण बेसक्याम्प ट्रेकिङ जाँदा त्यही चउरमा टेण्ट लगाएर बसेका थियौं।

निकै रमाइलो भएको थियो त्योबेला। अहिले पनि त्यो बेलाको मीठो सम्झना आइरहन्छ। यसको बारे मैले टोपीको ग्रुपसँग अन्नपूर्ण बेसक्याम्प ट्रेकिङ जाँदा को नियात्रामा उल्लेख गरेको छु।

साँझपख डिनरमा होटेल मालिकले हामीलाई निकै शिष्टतापूर्वक चौरासी व्यञ्जनसहित स्वागतसत्कार गरे। तर मैले होटेलवालाहरूले नेपालीलाई त्यति राम्रो व्यवहार गर्दैनन् भन्ने सुनेको थिएँ।

उनले हामीलाई भने सौहार्दपूर्ण सत्कार गरे।

मनमनै सोचे, “काजी अएकाले होला। काजीसँग जाँदा मैले पनि त्यही सेवा सत्कार पाएको। अरू बेला भए त्यस्तै हो।”

“जेएन तिमीलाई  यस्तो चल्छ कि नाइँ कहिल्यै खाने गरिएको छ कि छैन?”

मैले भने, “हेलम्बुका ट्रेकिङमा बुद्धिमानसँग जाँदा चलाइसकेको छु।”

दुवै जनाको डिनरको रमाइलो उल्लेख्य रह्यो।

भोलिपल्ट हाम्रो गन्तव्य भने निकै रमाइलो र चुनाैतीपूर्ण तर नचिने पनि बाटोमा हिंड्ने मान्छे त भेटिएलान् नि सोध्न लाज नमाने त भैगो।

मेरो माइला बाको छोरो देवीले भनेको सम्झिएँ, “जता जता ट्रेकिङ बुटका डोब फर्केका छन् त्यसैलाई पछ्याउदै त्यतै त्यतै लाग्ने” भनेको।

मनमा त्यस्तै कुरा खेल्दै थिए। एक्कासि काजीले भने, “भोलि हामी बिहानै जोमसोम उड्नु छ। भोलि बिहानै उठ्नुपर्छ, सुत्नुपर्ला अब।’

जोमसोमको जहाज चढ्न हामी बिहान सातै बजे एयरपोर्ट पुगेका थियौं। मनमा धेरै कुरा खेलिरहेका थिए। कताकता मनमा उकुसमुकुस र उथलपुथल भइरहेको थियो।

रोमान्चकले दिमागमा विभिन्न विचार मडारिरहका थिए। त्यो क्षण मेरो जीवनमा पहिलोचोटि धर्ती छोडेर आकाश चुम्ने अवसर आउँदै थियो। मन पुलकित थियो र काजीको पनि। सायद त्यो दुवैको पहिलो जहाज चढाइ थियो।

बिहान सातै बजेको फ्लाइट भएकाले सबेरै उठेर एयरपोर्टतिर लाग्यौं। एक घण्टा कुरेपछि मात्र जहाज चढ्ने सूचना पाइयो।

मैले त एयरपोर्ट पुग्नेबित्तिकै बसमा चढेझैं चढ्ने होला भन्ने सोचेको थिएँ तर त्यस्तो रहेनछ। जहाज टिकेट संकलन गर्ने, यात्री र उनीहरूको सामान जाँच गर्ने त्यो पनि पुलिसले। चेकजाँच पछि मात्र विभिन्न ढोकाहरू पार गरेर मात्र जहाजसम्म पुग्न पाइने।

उडानको प्रतीक्षामा बस्दा पनि मन तुलबुल भइरह्यो। सानामा केसबाङबाट जहाज उडेको सम्झिए। त्यो बेला पोखराबाट सिधै माछापुच्छ्रेलाई ठोक्काउला जस्तै गरी आउँथ्यो। जहाज मनाङ जाँदा दायाँ र जोमसोम जाँदा बायाँ मोडिएर जान्थ्यो।

स्थानीयहरू माछापुच्छ्रे हिमाललाई कैलाश पर्वतको अर्को रूप मान्छन्। त्यो दैवीय वा ब्रम्हाण्डीय ऊर्जाको केन्द्रबिन्दु भएको विश्वास पनि गर्दछन्। ब्रम्हाण्डीय ऊर्जाको प्रभावले कुनै पनि बाह्य तत्त्व त्यसको नजिक जान नसक्ने भनाइ थियो।

भन्नुहुन्थ्यो मेरो बाले, “जहाजले पनि त्यसको नजिक गएर दर्शन त गर्छ तर माथिबाट पार गरेर जान सक्दैन।”

मैले त्यो बेला मेरो जीवनमा जहाज कहिले चढ्न पाइएला भनेर सपना बुनेको थिएँ। त्यसबेला सानोमा घलेलको केसबाङ छँदा जहाज चढ्न बुनेको सपना पूरा हुने भयो।

यीनै कुरा सोच्दा सोच्दै एक घण्टा पनि बितिसकेछ। जहाजका कर्मचारीले सबैलाई जहाजतिर जान भने। मैदान निकै मनोरम, उत्तरतिर अन्नपूर्ण हिमाल झकिझकाउ देखिंदै थियो।

भेरोनिकालाई अगाडि लगाएर हामी हतारहतार बोर्डिङ पास देखाउदै जहाज भित्र पस्यौ। परिचारिकाले जहाजभित्र पस्दै गरेका यात्रीलाई स्वागत गर्दै आआफ्नो सीटमा बस्न अनुरोध गर्दै थिइन्।

सुलुत्त परेको दुई लाइनमा एकएकवटा सिट भएको हाम्रो जहाज पनि यात्री बोकेर धर्तीबाट उठ्यो।

मैले पनि जहाजमा बसेर पहिलोपटक धर्ती छोडेँ।

जहाज सेती नदीलाई पछ्याउदै  माछापुच्छ्रेलाई छुँलाजस्तै गरी आकासियो र देब्रे मोडियो। आकाशबाट हेर्दा कहिले मनमा चिसो पस्थ्यो त कहिले मन त्यसैत्यसै आनन्दित र पुलकित हुन्थ्यो।

सानामा कहिलेकाहीं कौदीडाँडा कटेर हिमाल पछाडि लागे जस्तै यो पालि पनि कौदीलाई दायाँ पारेर चुचुरिएका हिमालहरूसँग पौंठे खेल्दै अर्को उपत्यकातिर लाग्यो। केहीछिनमै जहाज कालीगण्डकी र मुस्ताङ उपत्यकामाथि प्रवेश गर्दै थियो।

जहाजबाट अग्ला हिमाल फुच्चे देखिन थाले, उपत्यका अझ भासिन थाले। बादलका गुच्छाहरूले मुनिबाट जहाजलाई उठाएझैं लाग्न थाल्यो। केहीबेर भने जहाज  हिमालका खोंच र बादलका फुर्काहरूसँग पौंठे खेल्दा झ्याक्क  कहिले माथि उरालिन्थ्यो त कहिले तल भास्सिए जस्तो हुन्थ्यो।

अनि यात्रुहरू कहालिएर “ओ माइ गड” भन्दै घोप्टो परेर सीटमा टाँसिन पुग्थे।

केही समयपछि जहाजले सबै अवरोध पार गर्दै उचाइँबाट धक्का दिंदै अगाडि बढ्थ्यो। जहाज चढेको पहिलो अनुभव कहिले रूनु कहिले हाँस्नु र कहिले चरम आनन्दमा हराउनु थियो। यस्तै आनन्दले उद्देलित भावनाहरूसँगै हराउँदा जहाजले अन्नपूर्ण र धवलागिरि हिमाललाई छिचोलेर मुस्ताङ छिरेको पत्तै भएन।

हिमालपारिको उच्च समस्थलमा अवस्थित मुस्ताङ उपत्यका निकै रमणीय देखिन्थ्यो। थोरै त्राहिमाम र धेरै अद्भूत अनुभूति लिंदा लिंदै जहाज जोमसोमको मैदानमा ओर्लिसकेको थियो। जब जहाज मैदानमा ओर्लियो तब मन बेजोड आनन्दले अनुग्रहित भयो।

“ल जेएन जहाजमा चढेर जोमसोम पनि आइपुगियो, है कुनै ठाउँमा त धन्दै मारेन अबचाहिं बाँचियो” काजीले खिसिक्क हाँस्दै भने।

जहाजबाट ओर्लिदा मन्दमन्द चिसो सिरेटोले हान्दै थियो भने निलगिरि हिमालले स्वागत गर्दै थियो एउटा फरक वातावरणीय दृष्टान्तबाट।

समयतालिका अनुसार त्यो दिन हामी सिधै मुक्तिनाथ जाने योजना थियो कार्गो (भेरोनिकाको ब्यागेज) काउन्टरमा आउनेबित्तिकै बाहिर सडकमा निस्कियौं।

एउटा होटेलको पेटीमा हतारहतारमा भारीतारी मिलाएर कालिगण्डकीको किनारको बाटा पछ्यायौंं। कहिले बगरको बाटो त कहिले ससाना छाप्रा, देवल पार गर्दै खुला बगरमा निस्कियौं। खच्चरका हुल भेटियो। त्यससँगै मुक्तिनाथ जाने बाटो पछ्यायौं तर धुलो उडेर खपिनसक्नुभयो।

खच्चरको हुलसँगे हिंड्दा धुलो उडेरे हिंड्न मेसो दिएन। हामीले खच्चर र धुलो छल्न बगरछेउको ठूलो ढुंगामा बिसायौं।

मुस्ताङका सेता हिमाली चुचुराबाहेक उपत्यका अरू सबै कुरा उजाड र मरूस्थल लाग्दथे, तर आनन्द लाग्ने सिरसिरे हावा।

हावा झोकिलो हुँदै थियो। भेरोनिका र काजी अघिअघि थिए म पछिपछि। कोही बेला तिनै जना सँगैसगै भइन्थ्यो, त्यो बेला काजीले भन्थे ल जेएन, “बाटो झुक्किने रहेनछ तर त्यस्तो झुक्किने ठाउँ आयो भने मलाई भन्नु।”

जोमसोमबाट ३ घण्टा भौतारिंदै हिंडेपछि एक्लेभट्टी भन्ने ठाउँ आयो।

तिनचार झुप्रा घरसँगै कालीगण्डकीको किनारपट्टि एउटा होटेल थियो। त्यो पनि विदेशमा भएको होटेलको नाममा। नाम थियो होटेल हिलटन।

“जे एन, भोक पनि लाग्यो, ठाउँ पनि ठिकै छ, लञ्च यतै खाउँ न त, अनि उकालो लाग्नुपर्ला हुन्न।” त्यही लञ्च खाने काजीको मनसाय थियो।

मैले हुन्छ भनेपछि भेरोनिकालाई पनि इंगित गर्दै भने, “वी इट लञ्च ह्यर, देयर इजनट एनी प्लेस टु इट इन वीटवीन एक्लेभट्टी एण्ड ह्वेर वी आर गोइङ।”

भेरोनिकाले पनि हुन्छ, “ओके” भनेपछि हामीले लञ्च हिलटनमै खाने भइयो।

भट्टी यात्रीहरूको सुविधालाई लक्षित गरी खान, पिउन र बास बस्न बनाइएको छाप्रो या घरलाई भनिने गरिन्छ।

यात्री लगायत स्थानीयहरूका अनुसार शुरूका दिनहरूमा मुक्तिनाथ लगायत मुस्ताङका अन्य ठाउँमा तीर्थयात्रामा आउनेहरूका लागि त्यहाँ एउटा भट्टीहरू बनाइएको थियो। त्यस ठाउँलाई एक्लेभट्टीका नामले चिनिंदै आयो र आजसम्म पर्यटकीय दृष्टिकोणले पनि त्यक्तिकै चिनिंदै आएको छ।

एक्लेभट्टीबाट बाटो मुक्तिनाथ र कागबेनी जाने बाटो छुट्टिएको थियो गण्डकीको किनारकिनार गयो भने कागबेनी र दायाँपट्टिको उकालोतिर लागे मुक्तिनाथ पुगिन्थ्यो।

अपह्रान्ह भइसकेको थियो मुक्तिनाथ जानुपर्ने भएकाले लञ्च खाइसकेपछि हामी दायाँतिरको उकालो बाटो लाग्यौं। पत्रे चट्टानका तिखा, धारिला गेग्रान, चर्को हावाको झोक्का त्यसमाथि गह्रौं भारी, म हिंड्न सकेको थिइन। हावाको झोक्काले धन्दै बाटो तल खसालेको थियो मलाई।

म सम्हालिदै बाटो लागें। एक घण्टासम्म घच्याकघुचुक र अप्ठ्यारो बाटोमा हिंड्दा जुत्ता पनि झुत्रो भएर खुट्टाबाट झर्न थालिसकेको थियो।

तेर्पायाँ गोरेटो हुँदै पहरालाई छिचोलेपछि अलि सम्म परेको घाँसे थली पुगियो। थली निकै रमणीय लाग्दथ्यो, तलतिर कालीगण्डकी वरपर मरूस्थल तथा उच्च धरातलीय स्वरूप र त्यसको आकर्षणले मन त्यत्तिकै आनन्दित बनायो।

जिन्दगीमा मेरा लागि यो पहिलो अनुभव थियो त्यो खालको दृश्यको। काजीलाई पनि निकै मनपरेछ। भन्दै थिए, “आहा कस्तो रमाइलो हो यो ठाउँ त, स्वर्गै रहेछ नि है जेएन।”

मैले थपें, “त्यसैले त मानिसहरू यै बाटो भएर मुक्तिनाथ जानेआउने मन पराउँछन् रे।”

मुक्तिनाथ पुगेर मानिसहरू हरेक पापकर्मको प्रायश्चित गर्दै त्यसबाट मुक्त हुन वा छुटकारा पाउन भगवानसँग शरणागत हुन्छन् र मुक्ति समेत मिलेको अनुभूत गर्छन्। यस्तै कुरामा मेरो दिमाग उद्येलित भयो।

तेर्पायाँ बाटो उक्लेर गल्छेडो पुगेपछि तल खोला किनार र भित्ताहरूमा पुराना बस्तीहरूको भग्नावशेष देखिन्थे। दुई खोलाको दोभान नजिक पुरानो माटोले बनाएका बुच्चा छाना भएको बस्ती देखियो सायद त्यो कागवेनी थियो। त्यस बस्तीबाट लमतन्न परेर तिनतिर विशाल उपत्यका फैएिको देखिन्थ्यो। त्यसमाथि हरिया रूखका बुच्काहरूले गर्दा कलाकारले चित्र कोरेजस्तै सुन्दर देखिन्थ्यो सिङ्गो मुस्ताङ उपत्यका।

“काजी सर ऊ त्यही बस्ती हो कागबेनी।” मेरो आफ्नै अनुमानमा फ्याट्ट भनिदिएँ। तर त्यो कागबेनी नै थियो।

“हामी भोलि फर्केर आउदा त्यही जाने हो?”

हजुर भनेर म सुइँसुइँ उकालो लागेँ।

उकालो चढ्दै गर्दा अलिअलि टाउको दुखेजस्तो र थकाइको महसुस भयो।  मरूस्थलको परिदृश्यमा पनि अकल्पनीय आर्कषण वा प्राकृतिक सुन्दरताले सबै विस्मृति र थकान हराएर गयो। त्यही सुन्दरतालाई करिब आधा घण्टा जति नियाल्दै तेर्पायाँ जाँदा ३५०० सय मीटर उचाइमा अवस्थित खिङ्गा गाउमा पुगियो।

म लजको पेटीमा थ्याच्च भारी बिसाए लामो स्वास फेरें।

“काजी सर, मैले त यही बिसाइदिएँ तपाईहरू नबिसाउने?” भनी मैले सोधे।

“भित्र बस्ने कि जेएन” भन्दै काजी डाइनिगतिर लागे। त्यहाँ एकछिन बस्दा तल्लो भेगका मानिसहरूको भन्दा वेशभूषा, जीवनशैली फरक भएको अनुमान लगाउन सकिन्थ्यो। त्यहाँका घरका छाना टाढाबाट देखिएका कागवेनीका घरका छानाजस्तै थिए। तराई र मध्ये पहाडी बस्तीहरूमा हुने बाँके परेका छानाभन्दा फरक थिए। जहाजबाट केही अस्पस्ट देखे पनि र जोमसोमबाट हिंड्ने बेला त्यत्ति ख्याल गरिएन। त्यहाँका बस्तीका छाना कस्ता थिए भनेर। हामी हतारहतारमा बाटो लागेका थियौं।

त्यहाँ केही स्याउका बारी र भोटे पीपलका रूखहरूले त्यहाँको मरूभूमिलाई चुनौती दिइरहेका जस्तो लाग्दथ्यो। त्यहाँको परिदृश्यबाट उचाइ अनुसार मानिसहरूको सामाजिक जनजीवन पनि फरक हुने गर्छ भन्ने दृष्टातन्तहरू जान्न सकिन्थ्यो।

दिन ढल्किदै थियो,एउटा लोकल लजमा पानी खाएर हामी तेर्पाय उकालो लाग्यौं।

लेउ लागेको कुलोमा पानी कलकल बग्दै थियो जस्ले मनलाई शान्त र आनन्दित पार्दै थियो कुलो पछ्याउदै अलि माथि पुगेपछि अनौठा खालका ढुङ्गाका चाङ लागाएका पर्खालहरू थिए।

चित्रसहित केही सुन्दर लिपि मन्त्रहरूले भरिएका  थिए। र चक्र सहितका  ठूलाठूला गोला चट्टानरूपी शीलाहरू पनि छरपष्ट देखिन्थे। ती शीलाहरू शालिग्राम थिए। मलाई पहिला ती ठूलाठूला शीलाबारे पनि केही थाहा थिएन। पछि त्यहाँको भौगोलिक एवं पुरातात्त्विक विषयको अध्ययन र स्थानीयहरूबाट जानकारी लिएपछि थाहा लाग्यो ती अजङगका शीलाहरू पनि शालिग्राम थिए भनेर।

शीलाहरूलाई हिन्दूहरूले भगवान् विष्णुको अवतारको रूपमा मान्ने गर्दछन्। वैदिककालमा भगवान् विष्णुले शंखचुडको दानवीय शक्ति कमजोर पारी देवताहरूको जितका लागि शंखचुडको पतिव्रता धर्मपत्नी  तुलसीको पतिव्रता शक्तिलाई तोड्नुबाहेक अरू उपाय थिएन।

विष्णु स्वयं शंखचुडको रूपधारण गरी तुलसीको पतिव्रता शक्तिलाई तोडेपछि मात्र शिवले शंखचुडको जीवनलीला समाप्त पारेर युद्द जितेका थिए। त्यो कुरो तुलसीले थाहा पाएपछि विष्णुलाई पत्थर बनोस् भनी सराप दिएकी थिइन्। त्यही सराप पूरा गर्न (सरापबाट मुक्त हुन)  विष्णु भगवान् दामोदरकुण्ड र दामोदर हिमाल वरिपरि आएर शालीग्राम बनेर बसेको विश्वास गरिएको छ। यही कारण विश्वको कुनै पनि ठाउँमा नपाइने शीला त्यस क्षेत्रमा शालीग्रामको रूपमा पाइएको हो भन्ने भनाइ छ।

अगाडिको डाँडामा एउटा गाउँ देखियो, शिरानमा एउटा रातो रंगको ठूलो घ्याङ देखियो। त्यो झारकोट थियो।

समय घर्किसकेको हुँदा काजीले भन्दै थिए, “त्यहीं नजिकै बास बस्न पाए ठीक हुने थियो।”

घाम पनि डाँडापारि ओर्लिए। वास खोज्दै मानेवालको छेउछेउ भौतारिदै थियौ हामी। बास बस्ने हैन भन्दै एकजना मान्छे जोमसोम गेष्टहाउसबाट बाहिर निस्केर हामीतिर आए। रूम हेर्नुस भने।

काजीले पनि भने, “यतै बसुम न त जेएन अब कति भौतारिनु। यो पनि रिसाउली।”

मैले हन्छ भनेपछि उनै साहुको पछिपछि होटलतिर लाग्यौं।

थाकेको जिउ जता बस्यो त्यतै प्यात्त प्यात्त पर्दथ्यो। डिनरपछि काजीले भेरोनिकालाई भोलिको योजना र बाटो वा आइटिनेरीकोबारे केही बताउँदै थिए। म पनि बाठो भएर जुन बाटो आयो त्यही बाटो नजाने भनिदिएँ।

मानचित्रको अल्पज्ञानमा भरपर्दा बाटोमा दुःख पाइयो। काजीले भने, ‘तिमीलाई बाटो थाहा छ भने त्यहीं बाटो जाने, बाटो नचिनेर हराइएला नि फेरि।’ मैले चिनेको छु भनिदिएँ।

मैले पनि पुरानो लिथो म्याप हेरेको आधारमा भनिदिएको थिएँ। तर म कुन जुनीमा जानु पहिला म्याप पनि त त्यति राम्रोसँग हेर्न जानेको भए पो।

भोलिपल्ट बिहानै ब्रेकफाष्ट खाएर झारकोटबाट मुक्तिनाथतिर लाग्यौं। बाटोमा जादै गर्दा लामा वस्त्र लगाएका लामाहरू देखिए तर नजिक पुग्दा त तिनी लमिनी (झुमाहरू) थिए। म अचम्ममा परें। महिलाहरू पनि लामा हुँदा रहेछन् । झुमा भनेको महिला लामा हुन भनेर मलाई थाहा थिएन।

भेरोनिका झुमाहरूसँगै लहसिन थाली, उनीहरूसँगै गीत गाउन र नाच्न थाली। हिमाली नाच हेर्न पाइयो। अनौठो छ हाम्रो देशको सांस्कृतिक विविधता, रंगीविरंगी फूलहरूको विशाल बगैंचासरी।

भेरोनिका र झुमाहरू पनि एक आपसमा अँगालिदै टिबेटन गीतमा झुमेपछि उनीहरू एक आपसमा बिदाइ भए।

काजी र भेरोनिका केके भनेर हास्दै तेर्सो बाटो भएर अघि लागे। तेर्सो हिंडिसकेर पाँचसात मिनेटको  सानो उकालो हिंड्दा मुक्तिनाथ मन्दिर परिसर पुगियो।

मुक्तिनाथ ३८०० मी को उचाइँमा रहेको अति मनोरम र आकर्षक तीर्थस्थलका रूपमा विराजमान छ। एक सुन्दर पैगोडा शैलीको मन्दिरसँगै बौद्ध गुम्बाहरू, यस वरिपरि १०८ जलधाराहरू अटुट रूपले  कलकलाइरहेका हुन्छन्। यी धाराप्रवाहले नकारात्मक ऊर्जालाई पखाली पवित्रता र शान्तिको आवाज बुलन्द गरी बहिरहेझैं लाग्दछन्।

सेताम्मे भई  वरिपरि चुलिएका चुलिहरूले चुपचाप देवदुत जस्तै उभिएर सत्कार गरेझैं लाग्नें, अप्सराले रूमाल हल्लाईहल्लाई संगीतमय नृत्य प्रस्तुत गरेझैं अनुभूत गर्न सकिन्थ्यो। त्यसैले होला त्यो स्थल पाँच महान तीर्थस्थलमध्येमा पनि  प्रमुख तथा श्रेष्ठ मानिदै आएको।

म मनोवादमा लहडिदै गर्दा काजीले त्यहाँको धार्मिक र पर्यटकीय महत्त्व र सुन्दरताबारे भेरोनिकालाई केही बताउँदै थिए। र भन्दै थिए, “यू क्यान इम्याजिन दि हार्मोनी एण्ड टोलेरेन्स इन रिलिजन ...एण्ड  दि साइटस आर इन्क्रेडिबल्ली मेस्मराईजिङ।”

“ह्वाट अ ब्यूटिफूल प्लेस, डिड यू लाईक इट?”

भेरोनिकाले पनि मुन्टो हल्लाउँदै “ओ  येस अफकोर्ष ∕ इटस ब्यूटिफूल,आइ लाइक इट भेरी मच, एण्ड यू नो, आइ केम ह्ययर फर दिस।” भन्दै मुसुक्क हाँस्दै काजीको कुराप्रति स्वीकारोक्ति जनाउँदै थिई।

हामी मुक्तिनाथलाई छोडेर मेरो ट्रेकिङ म्यापको अल्पज्ञानकै भरमा भए पनि झोङतिरकै गोरेटो पछ्याउन थाल्यौं। अल्पज्ञानकै भरमा रूट छनोटमा मेसो नमिलेको भए पनि शुरूमा त रमाइलो हुँदै थियो तर बाटोमा धेरै हाँगा फाट्दै जाँदा हामी अलमलिदै गयौं। थकाइ र भोकले हामीलाई  गलाउँदै लग्यो। गाउको पुछारमा भएको एउटा रेष्टुराँमा लञ्च खान रोकियौं।

“ओके, आइ वान्ट भेजी नुडल सुप।”

भेरोनिकाले भेजी नुडल्स सुप खाने भई। हामीले पनि सुप नै खाएजस्तो लाग्छ। लञ्च खाएपछि हामी ओरालो झर्दै जाँदा शुरूमा त रमाइलो लाग्दै थियो। पछि फेरि बाटो खिइँदै जाँदा कताकता आफैं अलमलिएजस्तो,  गोरेटोपछि घोडेटो त्यसपछि त बाटो नै अलपत्रमा पर्‍यो। पखेरोको सबैतिर प्याक्खरै मात्र।

सुन्दर हिमालहरूर हरिया बुट्यानहरूले ढकमक्क फूल फुलेको बगैंचाजस्तै लाग्ने परिदृश्य। हाम्रो विरासत जे भए पनि त्यहाँको  भव्यता लायक थियो।

अन्धाधुन्धमा परेर मन कताकता बिनादिशामा मडारिएको  जस्तो लाग्दै थियो बाटाको अलमलले गर्दा। मैले भन्न पनि सकेको थिइनँ।

ओरालो नझरी बाटोसिधा कागबेनी आउला भनेको त कागे खोला पो आइपुग्यो। सिधै कागबेनी जाने बाटो भेटिएन, धेरै दुख पाउनुभन्दा अघिल्लो दिन मुक्तिनाथ गएको बाटोतिर लाग्नु नै बढी बुद्धिमानी हुने मैले ठाने।

काजीले पनि मैले बाटो नचिनेको पत्तो पाएछन क्यारे,“जे एन यही तालले त कागबनी पुगिदैन, बाटो बिर्सिए जस्तो छ? अलि सजिलो बाटो छैन?” काजीले थकित मुद्रामा भने।

खोला तरेर हामी दक्षिणपट्टिको उकालो लाग्यौं।

काजी भन्दै थिए कि “अब त बाटो त अलमललिदैन नि?”

 मैले भने, “त्यस्तो हुँदैन।”

मलाई भने थकाइले लखतरान पारिसकेको थियो। अघि लञ्चमा खाएको चाउचाउको झोल बाटोको अलमलमै सकिएको थियो। त्यो उचाइमा अक्सिजन पनि कम भएर हो कि के हो उकालोमा धकारो लाग्दै थियो मलाई। त्यो अक्सिजन कम भए थकाइ लाग्ने वा लेक लाग्छ भन्ने ज्ञान थिएन।

“काजी सर किन होला उकालो लाग्दा स्याँस्याँ पार्‍याे मलाई त, हाई लाग्न त नपर्ने हो, मुक्तिनाथमा नलागेको हाई यहाँ कसरी लाग्नु,” सुस्केरा हाल्दै नजिकैको एउटा ढुंगा ढुंगामा भारी बिसाएँ।

थोरै उकालो भए पनि उचाइँमा भएकाले हामीलाई त्यो कटाउन प्रलय नै आए जस्तो भयो। अघिल्लो दिन मुक्तिनाथ जाँदा हिंडेको मुलबाटो भेटियो। मनढुक्क भयो, बिघ्नबाट बचियो भनेर। केहीबेर आराम गरेर ओरालोतिर लाग्यौ। दशपन्ध्र मिनेट ओरालो हिंडेपछि दायाँतिर लागेको अर्को बाटो भेटियो।

हामी दोबाटोबाट दायाँतिरै लाग्यौं। साँघुरो र भिरालो घोडेटाबाटो, साँघुरो र भिरालो पर्दै गएको थियो त्यसमाथि गरगर्ती चल्ने गेग्रानहरू। पाइताला बिस्तारै सार्नुपर्ने। नभए गर्ल्यामगुर्लुम खोलाछेउको फापरबारीमुन्तिर पुगिने। ओरालो हिंड्दा त त्यस्तो प्रलय, उकालोमा कस्तो हुने होला?

तिर्थालुहरू कागबेनीबाट त्यहीे उकालो हिंड्दै मुक्तिनाथ जाने गर्छन् उनीहरूलाई कस्तो हुँदो हो? त्यो उकालो धर्मात्माले मात्र त्यो पार गर्न सक्छन् मुक्तिनाथ पुग्छन्। तर पापी वा अधर्मी भए त्यो उकालो कटेर माथि जान सक्दैनन् भन्ने भनाइ रहेको छ। त्यसैले त्यो उकालोलाई “धर्मको उकाली” पनि भनेर चिन्ने गर्दा रहेछन् तिर्थालुहरूले।

त्यो अप्ठेरो बाटो कटेर केही तल पुगेपछि खोलाको किनारमा एउटा रमाइलो बस्ती देखियो। कागबेनी पनि पुगियो। गाउँको सिरानमै भएको होटल निलगिरिमा वास बस्ने भइयो। होटलको नाम पनि निलगिरि हिमाल पनि निलगिरि नाम मिलाएर राखेको। होटेल जोमसोम जाने बाटामै रहेको थियो।

कोठामा सामान राखियो र भेरोनिकालाई लिएर त्यो सुन्दर प्राचीन र ऐतिहासक बस्ती कागबेनीको अन्वेषण अवलोकनमा गइयो।

कागबेनी एक प्राचीन एवं ऐतिहासिक वस्ती हो। यो गाउँ समुन्द्रसतह देखि २८०० मी को उचाइमा  कालीगण्डकी र कागे खोलाको दोभान र यस वरिपरि फैलिएको छ। तर आधुनिकता र पर्यटनको प्रभाव निकै पर्न थालेको  देखिन्थ्यो।

कुनै पुराना घर र भग्नावशेष मात्र बाँकी रहेका देखिन्थे। कुनै ठाउँमा माटाका कलात्मक आकृति त कतैकतै कठपुतली जस्ले त्यस ठाउँको रीतिरिवाज र कला संस्कृतिको प्रतिनिधित्व परिचयाक धरोहर भएर प्रस्तुत हुँदै त्यहाँकोबारे पाहुनाहरूया यात्रीहरूलाई मनोरञ्जनात्मक पाठ सिकाइरहेका जस्ता थिए। तर अहिले आधुनिक विकासको प्रभावले ती पुरातात्त्विक महत्त्वका स्मारक वा भवनहरू जोखिममा छन्।

होटल फर्किदा साँझ परिसकेको थियो। काजीले भेरोनिकाका लागि डिनर ८ बजेका लागि अडर गरेका थिए।

खाना खाइसकेपछि काजीले भेरोनिकालाई भोलिपल्टको गन्तब्यकाबारे बताएपछि  सुत्ने तरखरमा लागियो। काजीलाई सुत्नका लागि कुन ठाउँ दिइयो त्यो याद भएन। घर या गोठको जहाँ अन्नपात, खरखजना तथा सरसामान राख्ने एउटा कोठा थियो, त्यसैको एउटा कुनामा एउटा खाट देखाएर मलाई त्यही सुत्न भनियो।

ओढ्नका लागि एउटा सानो ऊनीको पाखी ल्याइदिए। त्यही ओढेर यसो सुत्न के लागेको थिए मेरो नजर कोठाको बिचैमा मदुसमाथि झुण्ड्याइएको मासुको ठूलो सपेटो र ठूलो टाउकामा पर्यो। एकछिन त मलाई डर लाग्यो।

भरखरभरखर थोरै लगानीमा साना र थोरै कोठा भएका लजमा पाहुनालाई मात्र पनि अपुग हुने अवश्थामा म भरियाले के पाउनु।  भनु भने लगभग सिजन अफ भैसकेको र पाहुनाको नाममा हाम्रो भेरोनिका मात्र थिई।

मलाई सुत्ने ठाउँ र ओढो गतिलो नदिएकोमा मनमा आएका अनेक सोच अनि रातभर त्यो चाैंरीको आलो सपेटो र अजंगको टाउको ममाथि हान्न आएझैं लाग्दा म राति तर्सेर घरीघरी ब्यूझिन्थे। त्यो रात काट्न मुस्किल भयो। सायद मैले त्यो जिन्दगीभर बिर्सिन्न होला।

कागबेनीबाट हामी त्यो दिन मार्फा  जानु थियो। सबेरै खाजा खाएर हामी एक्लेभट्टी हुँदै जोमसोमतिर लाग्यौं। कतै बलौटे र गेग्र्यान त कतै धुलाम्मे कतै बगर त्यसमाथि मरूभूमिमा चल्ने जस्तै हावा त्यो हावा कुनै बेला निकै झोक्किएर हामीलाई नै लडाउलाझैं गर्थ्याे। काजी र म त्योबेला सबैको जिब्रोमा झुण्डिएको जोमसोमे बजारमा बाह्र बजे हावा सरर भन्ने गीत गाउँदै हिंड्न थाल्यौं। त्यही गीतको सहारामा हावाको सिरेटो चिर्दै जोमसोम पुगेको पत्तै भएन।

जोमसोम हिमाल क्षेत्रको एक सुन्दर बस्ती हो र यो मुस्ताङ जिल्लाको सदरमुकाम पनि। त्यहाँको कुनै लजमा लञ्च खाएर हामी मार्फातिर लाग्यौं। कागबेनीबाट जोमसोमको बाटोभन्दा जोमसोमबाट मार्फा जाने बाटो अलि सजिलो थियो। भए पनि बाटो कालीको बगरबगर कनिारकिनार नै थियो।

मार्फा पहाडको कुनामा अवस्थित हराभरा  स्याउका बगैंचाहरूको बिचको अति सुन्दर थकाली गाउँ थियो त्यो। र टुकुचेपछिको दोस्रो व्यापारिक केन्द्र। हामी मानेले भरिएको स्लेटले छापिएको गल्लीसँगै सुन्दर स्वागतद्धार त्यहीबाट मार्फा प्रवेश गरियो।

मार्फाबाट हामी गण्डकीको तिरैतिर जाँदा दायाँपट्टिको पहराका कापाबाट निस्किएका धुपीका कोणधारी रूखहरूले हामीलाई नमस्कार गर्दै स्वागत गरेझैं लाग्दथ्यो। तेस्रो रात मार्फाकै एउटा होटेलमा बास भयो।

मार्फाचाहिं जोमसोम, मुक्तिनाथ र कागबेनीभन्दा फरक थियो खेतबारी स्याउ अनि लहलह उवा  र फापरले भरिएको सफा चिटिक्क परेको गाउँ ढुंगाका छपनी ओछ्याइएका आँगन र बाटो। निकै सुन्दर हिमाली बस्ती।

बिहान सबेरै ब्रेकफाष्ट खाएर पछि एक डेढ घण्टाको हिडाइमा हामी टुकुचे पुग्यौं। थाकखोलाको मुख्य व्याापारिक केन्द टुकुचे। मुस्ताङको पुरानो बस्ती  शिक्षा र साहित्यको क्षेत्रमा पनि निकै अगाडि बढेको त्यो ठाउँ।  त्यसका ज्वलन्त प्रमाण  साहित्यिक पुञ्ज तथा मूर्धन्य श्रष्टा भूपि शेरचन थिए। जसको  जन्मथलो र कर्मथलो त्यही त्यही टुकुचे  थियो। उनीप्रतिकोे सम्मनमा मेरो शिर नतमस्तक भई झुक्यो।

काजीले सोधे, “जेएन तिमीले भन्या हैन भूपिको जन्म यही भएको भनेर? घुम्ने मेचमाथिको अन्धो मान्छे भन्ने कविता थाहा छ?”

“थाहा छ मैले केही पढेको छु निकै गहिरो र राल्फा मार्गी नै लाग्छ उहाँ मलाई ” मैले जवाफ दिएँ।

भूपि शेरचनका अन्य थुप्रै रचना पनि छन् तर घुम्ने मेचमाथिको अन्धो मान्छले नै साहित्यिक फाँटमा भूपिलाई साहित्यिक धरोहरको रूपमा उभ्याएको हो।

सोच्दै गएँ, “म पनि कता कता जिन्दगीमा घुम्ने मेच माथिको अन्धै मान्छे त हुँदै छैन” भन्ने अनुभूति हुँदै थियो। कुरा गर्दा गर्दै भरोनिकाले टुक्चेमा चिया खाने मन गरी। टुकुचे थकाली होटेलको पेटीमा भारी बिसाएर भित्र गइयो।

भेरोनिकाले चिया अडर गरी, चिया पनि छिनमै आयो। सायद त्यो बिहानै बनाएर थर्मसमा राखिएको थियो।

त्यो खाइसकेपछि हामी लञ्चका लागि भने कोवाङ पुग्ने निधो गर्यौं।

मौसम अलि घुर्मैलो बादल लाग्ला जस्तो थियो क्यारे त्यसले नाङ्गाे मरूभूमि धरातलमा हिंड्न कठिन नै हुने थियो।

हिंड्दा शीतल नै भयो बादल लागिदिनाले। कोवाङ पुगेपछि त्यहाँको एउटा थकालीको कोवाङ गेष्टहाउसको रूफटपमा बसेर लञ्च खायौं। जहाँबाट धवलागिरी हिमालको सेरोफेरो र त्यहाँबाट बग्ने हिमनदी राम्रैसँग देख्न सकिन्थ्यो।

“ यो ठाउँ पनि र गाउँ पनि रमाइला है जे एन ” काजीले भने।  मैले थपें  हो त एकदम रमाइलो। त्यो ठाउँ साँच्चीकै रमाइलो थियो जहाँबाट उजाड मरूभूमि र हरियाली दुई विपरीत धरातलीय स्वरूपको संगम देख्न सकिनथ्यो।

कालापानीमा पुग्दा झिसमिस साँझ परिसकेको थियो। झपक्क साँझ भएकाले मेसो नपाएर  होला, हामी लजहरू भएको ठाउँ कटेर तल पुगिएछ। कालोपानीको पुछारमा एउटा एभरेष्ट नाम गरेको लज भेटियो। त्यसै लजमा  हामी बास बस्यौं।

बिहानै उठेर बाटो लाग्यौं। लेतेको झोलु पछि बनबनै र घासापछि कालीगण्डकी जताजता लाग्छ त्यतै, थाप्लो, कोप्चेपानी, रूप्से छहरा हुँदै निकै लामो यात्रापछि तातोपानी पुगेका थियौं।

तातो पानी गाउँ भनू या बजार यो कालीगण्डकीको तिरमै थियो । एक सुन्दर पर्यटकीयस्थल, खासगरी यहाँ जमिनमुनि (प्राकृतिक स्रोत) बाट आएको तातोपानी कुण्ड रहेको छ। यात्रीहरू यात्राबाट थकित भएको बेला कुण्डको तातोपानीमा स्नान औधी मनपराउने भउकाले उनीहरू त्यस ठाउँमा बस्ने गर्दा रहेछन्।

सो हाइ क्यान गो ओभर इट।

जब हामी तातोपानी छाडेर घोरेपानी जान बाटो लाग्छौं अनि मेरो स्वास्थ्यमा गडबडी शुरू हुन थाल्छ। काली तरेर उकालो लाग्दा झन् तारन्तार पार्न थाल्यो। शिखाको उकालोमा त झन् हरेक दश मिनेटमा पखालाले पचहत्तर पार्दा भारी फालेर पाखा बस्नुपर्ने भयो। यो कुरा काजीले नियालिरहेका रहेछन्। हामी शिखाको उकालो उक्लिदै थियौं।

त्यैबेला काजीले सोधे, “जेएन के भयो?”

मैले जवाफ “दिएँ खै के भयो के भयो पेटले तारन्तार पाह्र्यो। दशदश मिनेटमा पाखा जाँदाजाँदा हैरान भएँ।”

काजीले भने,“अनि लगेज पनि गह्रौं छ, बोक्न नसके भन्नु म बोकिदिन्छु।” 

मलाई काजीको त्यही वचन लाख भयो। “म कोसिस गर्छु। सकिन भने म भनिहाल्छु नि ” मैले भने।

जिउ लत्रक्कै भयो गोडा अघि बढ्लान् भन्दा झन् पछि लत्रिन थाले।

तर काजीलाई मेरो जिम्मामा परेको भारी बोक्न दिन पटक्कै मन थिएन।

शरीर गलेर लखतरान भएपछि काजीको आग्रहले स्वीकार्न बाध्य भएँ। “मलाई सहयोग नगरी नछोड्ने भए एक बिसाउनु मात्रै है त तपाईले बोक्ने। त्यसपछि त मलाई ठीक भैहाल्छ त्यसपछि म बोक्छु।”

काजीले मैले बोकेको भारी बोक्नुभो

“ओ जे एन यो देख्दा त हल्कै जस्तो लाग्दथ्यो तर अहिले बाेक्दा त निकै गह्रौं पो रहेछ। ”

कुनै पनि गाइडले भरियाको भारी बोकिदिएर सहयोग गर्दैनन् भन्ने सुनेको थिएँ। तर, काजीले मेरो भारी बोकिदिएर मलाई ठूलो गुन लगाइदिनुभयो। म त्यसका लागि काजीप्रति आभारी छु।

मेरो स्वास्थ्यमा गडबड हुनुमा मुख्य कारण लेक लागेको हुन सक्ने प्रबल सम्भावना थियो। तर लञ्चमा सुप खाएपछि भने बिस्तारै निको भयो।

बाटो उकालै भएकाले हामी साँझ मात्र घोरेपानी पुगका थियौं। रामदेवीको होटेलमा बास बसेको याद छ। घोरेपानीमा त्यतिबेला होटेलहरूत्यति थिएनन्। भोलिपल्ट बिहानै सनराइज हेर्न पुनहिल जाने प्रचलन पनि नबसिसकेकाले हामी ब्रेकफाष्ट खाएर सिधै टाढापानीतिर जाने भइयो।

काजीले हिड्ने “बेला भने सबै भन्दा रमाइलो बसाइ भयो है यहाँ” मैले हजुर मात्र भनेर अघि लागें।

मलाई बाटोको रिभ्यू भैरहेको थियो कि तिनै उकालीआराली र गल्छेडाहरूसँगै गुराँसका आकर्षक वन, मनोरम हिमाली दृश्यहरूको किनकि घोरेपानीदेखि एबिसी लान्द्रुक धम्पुसका बाटो पहिला पनि गइसकेको थिएँ।  पदयात्राका क्रममा पनि  थकाइलाई सहजै बिर्सेर हिंड्न र रमाउन सकिन्थ्यो।

अन्नपूर्ण स्यान्क्चुरी सम्मको भेरोनिकासँगको पदयात्रा हाम्रा लागि सदा जस्तै उल्लेख्य रह्यो।

भरोनिका स्यान्चुरी मा निकै रमाइलो थियो, फोटो खिची,सम्झनाका लागि हिमाललाई साक्षी राखेर आप्mनो समेत फोटो खिची।

“इटस अन विलिउभल, इटस् हेवेन” भन्दै उ कराउन थाली।

त्यहाँको चारैतिरका हिमालहरूमा नजर डुलाई र भनी, “क्यान यू टेल मी दि नेम अफ दोज माउन्टेनस” मेरो गल्ती हुने नहुकुराको वास्तै नगरी काजीलाई उछिनेर भरोनिकाको उत्तर दिन थालेँ, “फर्म दि लेफ्ट द्याट ओन हिमचुली, अन्नपूर्ण साउथ, बराह शिखर, अन्नपूर्ण वोन हाइएष्ट इन अन्नपूर्णा रेञ्ज, सिंहचुली थर्पूचुली, अन्नपूर्ण थ्री, गन्धर्वचुली एण्ड दि यूनिक वोन याट र्दि ण्ड टु दि राईट इज माछापुच्छ्रे।”

“काजी सर मैले त भनिदिएँ” के कस्तो भयो भनी काजीको प्रतिक्रिया खोज्दा “तिमीले ठीक गँर्यौ। गाइडले भन्दा नि राम्रो ब्रिफिङ दियौ आजबाट तिमी गाइड” भनेर काँधमा धाप मारे। म लाजले भुतुक्कै भएँ।

काजीले फेरि थपे, “ मैले झुट बोलेको हैन।”

वास्तविकतामा त्यहाको स्वर्गीय आकर्षणले हामी सबैलाई मन्त्रमुग्ध पारेको थियो। त्यहाँबाट हाम्रो बाटो यात्रा पोखरा पुग्नतिर लाग्यो।

काजीले पनि आजकल भेट भएको बेला पनि त्यो यात्राको निकै चर्चा गर्छन्। विशेष गरी भेरोनिकाले यात्राको बेला गुनगनाएको गीतहरू।

तीमध्ये सबभन्दा बढी मनपरेको गीतको अंश अहिले पनि काजी संझिन्छन्।

सो हाइ क्यान गो ओभर इट।

सो लड्ड क्यान गो एराउण्ड इट।।

मलाई पनि याद छ भेरोनिका जब खुशी हुन्थी त्यो बेला उसलाई मनपर्ने गीत गाउँथी। काजी र मैले पनि  राम्रो लागेको गीत  भेरोनिकाको पछिपछि गाउने गर्दथ्यौं। भेरोनिकाको भारी बोक्दै गर्दा थकाइका सुस्केराहरूसँगै यस्तैयस्तै  गीतका भाखाहरूगुनगुनाएकोथेँ मैले पनि सानामा सुनेका र भारी बोक्दै मैले गुनगुनाएका केही अंश,

लाउरेको रेलीमाई फेसनै राम्रो

रातो रूमाल रेलीमाई खुकुरी भिरेको

अर्काको भारी बोकेर हामी उकाली ओराली

कहिल त खोला कहिले त भञ्ज्याङ डाँडाको चौतारी

यस्तै भाखासँगै हाम्रो यात्रा पोखरा जोमसोम मुक्तिनाथ, मार्फा कालोपानी, तातोपानी घोरेपानी, छोमरोङ, अन्नपूर्ण बेसक्याम्प, लान्द्रुक पोथना, धम्पुस, पोखरा जस्ता मनमोहक ठाउँहरू हुँदै काठमाडौमा गएर टुड्डियो। यात्रा त टुड्डियो तर यात्राका सम्झना र संस्मरणहरू सधैंका लागि कालजयी भएर मनमष्तिष्कमा बसिरहे। तिनै स्मरणहरू आज आएर पर्यटन क्षेत्रलाई बुझ्ने एक महत्त्वपूर्ण आयाम भएका छन्।

प्रकाशित: ९ भाद्र २०८१ ०८:०४ आइतबार

# Poem # Niyata