कला

पहिलो नजरमा लघुकथाकार कुमार काफ्ले र उनको ‘सपना कतिपय’

पुस्तक

कुमार काफ्ले लिखु गाउँपालिका ५, यसम, ओखलढुङ्गामा विसं २०४१ चैत २३ मा जन्मिएका स्रष्टा हुन्। पिता रुद्रबहादुर र माता गोमादेवीका चार सन्तानमध्ये जेठा छोरा कुमारले मानविकी र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। अर्थात् उनी २ सङ्कायमा स्नातकोत्तर उपाधिप्राप्त व्यक्ति हुन्। उनको खास पेसा शिक्षण हो। उनी आफूले अपनाएको पेसालाई ‘साँच्चिकै रमाइलो र गर्व गर्न लायक’ ठान्छन्। यसैले उनमा पेसाप्रतिको इमान्दारिता पनि पर्याप्त छ। उनी श्री अमर कल्याण नमुना माविमा पढाउँछन्। यो विद्यालय इलामस्थित नयाँबजारमा अवस्थित छ। उनको आबद्धता ओखलढुङ्गाकै सिद्धिचरण पुस्तकालयसँग पनि रहेको छ।

कुमार काफ्लेसँग सम्पादक र साहित्यिक व्यक्तित्व छ। उनले ‘शिशिर वसन्त साहित्यिक मासिक’, ‘हातेमालो साहित्य सङ्गम’ लगायतका पत्रिकाहरूको सम्पादन गरेका छन्। साहित्यिक व्यक्तित्वभित्र उनका कवि तथा आख्यानकार व्यक्तित्व पनि छ। त्यसो त उनको साहित्य लेखनको सुरुवात नै कविताबाट भएको हो। उनले लेखेको पहिलो कविताको शीर्षक ‘कलम’ हो। जुन सर्वप्रथम मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो।

आख्यानमा काफ्लेले ३ वटै प्रविधामा कलम चलाएका छन्। उनको पहिलो प्रकाशित कृति नै उपन्यास हो जुन २०७२ सालमा ‘हजार सपना’ शीर्षकमा प्रकाशित छ। २०७३ मा प्रकाशित मोलुङ लघुकथा सङ्ग्रहमा पनि उनका केही लघुकथा प्रकाशित भएका भेटिन्छन्।

२०८१ वैशाखमा काफ्लेले ‘सपना कतिपय’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका छन्। आख्यानको दोस्रो तथा मझौलो प्रविधा कथामा भने उनका आजसम्म सङ्ग्रह प्रकाशित भएका छैनन् तर पनि उनका कथाहरू पत्रिकाहरूमा फुटकर रूपमा बाक्लै प्रकाशित भइरहेका छन्। आशा गरौँ – उनी छिट्टै नै कथासङ्ग्रह पनि लिई आउनेछन्।

कुमार काफ्लेलाई सरसर्ती पढेपछि लाग्यो – कुमार सम्भावना भएका लघुकथा लेखक हुन्। हुनत उनका एकदुई कथा पनि पढेको छु मैले। कथालेखनमा पनि उनी माझिएका छन्। कथाको प्रस्तुतिमा पाठकलाई ध्यानाकृष्ट गरिरहने कला छ उनीसँग।

कुमारका लघुकथामा समसामयिकता छ। उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ। विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले। यसो त उनले आफ्ना कुरामा भनेका पनि छन् – “लघुकथा लेखनको मेलोमा मैले भेट्टाएका, देखेका र भोगेका अनुभूतिहरूलाई, समाजमा वर्षौँदेखि रहेका पीडा र उत्पीडनलाई सहेर संघर्ष गरिरहेका जुधारु मान्छे र मानवताका कथाव्यथालाई, समस्त प्राणी र वातावरण संरक्षणका सवाललाई उधिन्ने कोसिस गरेको छु।”

सपना कतिपय भित्र उनले भनेझैँ नै छन् विषय र प्रस्तुतीकरण पनि।

‘सपना कतिपय’ सङ्ग्रहका लघुकथाहरूमा वर्णनमा मनग्गे सरलता छ। छोटा वाक्यहरूको प्रयोग गरिएका छन्। लघुकथाहरू रैखिक ढाँचाका नै छन्। आदर्शभन्दा यथार्थता नै बलिया छन् लघुकथाहरूमा। सम्वादमा मनोहारिता छ। लघुकथाहरू व्यङ्ग्यात्मक छन्। सङ्ग्रहका केही लघुकथालाई छाड्ने हो भने लघुकथाकारले अन्त्य व्यवस्थापनको प्रभावकारितामा ध्यान दिएका छन् भन्न सकिने ठाउँ छ।

प्रकाशित: ६ भाद्र २०८१ ११:१३ बिहीबार

# Laghukatha Sangraha