कला

विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!

मुक्तक

१) मुक्तक

सरकारको शब्दकोशमा लाज हुन्छ कि हुँदैन,

वर्गविहीन सुनौलो समाज हुन्छ कि हुँदैन

साम दाम दण्ड भेद लादेर कुर्सी टिकाउनु

योबाहेक सत्ताको अर्को काम हुन्छ कि हुँदैन।

२) मुक्तक

राहदानी बनाउने कारखाना छन् सरकारसँग

रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग

विमानस्थल झरेको काठको बाकससँग पनि

कर असुल्ने तानाबाना छन् सरकारसँग।

३) मुक्तक

अप्ठ्यारो परिवेश यी दिन उस्तै छन्

साहुका तमसुक अनि रिन उस्तै छन्

उनकै इशारामा नचाइरहन हामीलाई

छिमेकीले बजाइरहने बिन उस्तै छन्।

) मुक्तक

हिजोआज खुकुरीको धारमा छ देश

भष्ट्राचार र माफियाको मारमा छ देश

लुछाचुँडी भागबण्डा दलालीकै विगविगी

जीवन अनि मरणको संघारमा छ देश।

५) मुक्तक

हामी रैती हौ कि नागरिक भन्देऊ न सरकार

कुन वादले गर्छ हाम्रो हित भन्देऊ न सरकार

कर र कानुनको पासोले हाम्लाई मात्र बेर्ने

कसले बसाल्यो यस्तो रित भन्देऊ न सरकार।

) मुक्तक

तिम्रो शहरमा डढेलो लगाउने मन छ

निदाएझैं गर्नेलाई जगाउने मन  छ

एकएक गनेर जुका र ब्वाँसालाई

चार पाटा मुडी नेटो कटाउने मन छ।

) मुक्तक

ऐंचोपैंचो अर्मपर्म छुट्यो गाउँतिरै

सरसयोग असल कर्म छुट्यो गाउँतरै

शहर त मन्दिरमा नि खल्ती छाम्छ  जोख्छ

परोपकार मानव धर्म  छुट्यो गाउँतिरै।

) मुक्तक

राहादानी बनाइदिन्छ र रेमिट्यान्स पचाउँछ मेरो सरकार

राष्ट्रियता मार्छ र सत्ता बचाउँछ मेरो सरकार

पावरफुल पनि कति हो कति हेर न  

पत्रकार,न्यायलय औंलामा नचाउँछ मेरो सरकार।

) मुक्तक

मुटुमा पीडाको पहाड लुकाउनु आइमाई हुनु हो

वेदना कहीं कतै नफुकाउनु आइमाई हुनु हो

हिउँको थुप्रो उधिनेर आगो ओकेल्नु अनि

नयनमा सागर सुकाउनु आइमाई हुनु हो।

१०) मुक्तक

सियोझैं पस्यौ र फाली बन्यौ म के गरूँ?

हाम्रो ईश्वरलाई पत्थरमा गन्यौ म के गरूँ?

सुन्छु पश्चातापको अग्निमा तड्पिंदै छौ रे,

उबेला  पैसो नै प्राण हो भन्यौ म के गरूँ?

प्रकाशित: २ भाद्र २०८१ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App