कला

राजधानीमा साहित्य चौतारीले सम्झियाे राष्ट्रकवि घिमिरे

साहित्य चौतारी झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्झेकाे छ। चाैतारीले घिमिरेको सम्मानमा लैनचौरस्थित कविकुन्जमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उनलाई सम्झेका हुन्। कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्जली अर्पिंदै उनकी जीवनसंगिनी श्रीमती महाकाली घिमिरेलाई चाैतारीले साेही अवसरमा सम्मान पनि गरेकाे छ।

सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति कलाकार नारदमणि हार्तम्छाली, विशिष्ट अतिथिहरू साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, दार्जिलिङका सर्जक जीवन अधिकारी, साहित्य चौतारीका अध्यक्ष/ संरक्षक देवीभक्त श्रेष्ठले प्रदान गरेका थिए।

साथै माता गौरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पिएको सो कार्यक्रममा आमा महाकालीको सम्मानमा राष्ट्रकविका छोराहरू एवं परिवारजनको साथसहयोग रहेको थियो। सर्जकहरूले राष्ट्रकविको सङ्ग्रहालयको अवलोकन पनि गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि राधेश्याम लेकालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेबारे प्रकाश पार्दै संस्मरणहरू सुनाएका थिए। साथै उनले राष्ट्रकवि घिमिरे स्काउट रहेको चर्चा गर्दै देशको विषम परिस्थितिको बेला राष्ट्रियता जगाउने सिर्जना गरेकाे उल्लेख गरे।

कार्यक्रममा राष्ट्रकविले सिर्जना गरेका कालजयी गीतहरू नेपाली हामी रहुँला कहाँ नेपालै नरहेू, फूलको थुँगा बहेर गयो गंगाको पानीमा, गाउँछ गीत नेपाली, आज र राती के देखें सपना गीतहरू  जीवन अधिकारी, लोचन भट्टराई, लाक्पा शेर्पा, प्रदीप देवान, समीर खरेल धना राई लगायतले  गाएका थिए।

संचारिका समूहकी अध्यक्ष कवि विमला तुम्खेवाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै अध्यक्ष/ संरक्षक देवीभक्त श्रेष्ठले संस्थाको उद्घाटन राष्ट्रकवि घिमिरेले २०५६ सालमा गरेकाे बताए।

साथै उनले कवि कुन्ज संग्रहालयको थप व्यवस्थापनमा साहित्य चौतारीको चासो व्यक्त गरेका थिए। उनले संग्रहालयको उचित व्यवस्थापन गर्न प्रतिष्ठान र नेपाल  सरकारको ध्यानाकर्षण पनि गराएका थिए। राष्ट्रकविको घरलाई कवि कुञ्ज र बाटालाई कवि मार्ग नामाकरण गर्न पनि आग्रह गरिएको थियो।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि कुलपति हार्तम्छालीले साहित्य चौतारीको योगदानको चर्चा गर्दै नेपाली कला, साहित्य र संस्कृतिको उन्नयन र विकासको लागि प्रज्ञा प्रतिष्ठानहरूले पुर्‍याएको योगदानबारे उल्लेख गरे। साथै नेपाली साहित्यमा राष्ट्रकवि घिमिरेको योगदानको पनि उनले चर्चा गरेका थिए।

साहित्य चौतारीका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले चलाएको सो कार्यक्रममा लोचन भट्टराई, सम्मानित महाकाली घिमिरे लगायतले पनि मन्तव्य राखेका थिए।

कार्यक्रममा साहित्यकारहरू पूर्व महासेनानी पूर्ण ओली, सरस्वती गौतम, दिलबहादुर थापा, माया पोखरेल, कृपा दाहाल, संस्थाका सचिव/संरक्षक गर्व श्रेष्ठ लगायत शोभाकान्त शर्मा, राजिव घिमिरे, इन्दिवर घिमिरे, डा. किरण रेग्मी, विजेता घिमिरे, शान्ति अधिकारी लगायतको उपस्थिति थियो।

प्रकाशित: २ भाद्र २०८१ ०७:४७ आइतबार

# Poem # Sahitya Chautari #National Poet Madhav Prasad Ghimire #Creator of Kalajayi Geet