कला

‘आनन्द संहिता’ को विमोचन

लेखक तथा पत्रकार घनश्याम खड्काको उत्प्रेरणादायी पुस्तक ‘आनन्द संहिता’को बुद्धको जन्मस्थल लुम्बिनीमा विमोचन भएको छ ।बौद्ध धर्माचार्य श्याल्पा तेन्जिङ रिम्पोछेले विमोचनपछि पुस्तकका बारेमा टिप्पणी गर्दै लेखक खड्काको कृतिले मानिसको जीवनमा आनन्द ल्याउने काम गरेकामा सहाराना गरे।

‘जीवनमा स्पष्टता नभएकाले अनेक किसिमको उल्झनमा मानिसहरू छन्, यस्तोमा जसले प्रस्ट मार्गदर्शन गर्न सक्छ उही सच्चा मित्र हो’ रिन्पोछे श्याल्पाले भने, ‘घनश्यामजीले सजिलो तरिकाले बुद्धको दर्शनलाई लेख्ने काम गरेर मानिसहरूको मनमा स्पष्टता ल्याउने भूमिका निर्वाह गर्नु भएको छ, यस अर्थमा उहाँ हामी सबको एक असल मित्र भएर आउनु भएको छ जो निकै खुसीको कुरा हो ।’

पुस्तकले उठाएका सामग्री र प्रस्तुतिले लेखकको विषयवस्तु प्रतिको गम्भीरता र समर्पणलाई पुष्टि गर्ने रिन्पोछेले बताए। आनन्द प्राप्तिका लागि मानिसले आफ्नो सामुन्ने आउने सबै चुनौतीहरूलाई समाधान गर्न सक्नु पर्ने र त्यसो गर्न सक्ने बाटोहरू पुस्तकले प्रदान गरेको रिन्पोछेको विश्लेषण छ ।

‘आज संसारमा विकास धेरै छ तर मानिसहरू कम खुसी छन्, जबकि धेरै सुविधा हुँदा मानिसहरू खुसी हुनु पर्ने हो’ उनले भने, ‘भौतिक उन्नतिले मात्रै खुसी र आनन्द प्राप्त हुँदैन भन्ने यसैबाट सिद्ध हुन्छ, यसका लागि आफ्नै मनको उल्झनलाई सुल्झाउन पर्छ र त्यो सुल्झाउने बाटाहरू यी हुन् भनेर पुस्तकमा बडा राम्रोसँग लेखिएको छ, त्यसैले पनि पुस्तकको महत्व ज्यादै बढी छ ।’

विमोचनमा संलग्न अर्का वक्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आनन्द संहिताले खुसी कसरी हुने भन्ने दर्शनलाई नेपाली साहित्यमा स्थापित गर्ने काम गरेको टिप्पणी गरे ।

यो पुस्तकमा जीवनका दुःख र यसका कारणहरूको गहिरो विश्लेषण मात्रै छैन’ उनले भने, ‘त्यसबाट पार पाउने उपायको बारेमा पनि लेखिएको छ, त्यसैले यो महत्त्वपूर्ण बन्न पुगेको छ ।’

लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्य, सहप्राध्यापक डा. शारदा पौडेल र युवा अध्येता तथा बुटवलस्थित क्यानन माविका प्राचार्य शङ्कर भण्डारीले पनि पुस्तकले गहन विषयलाई आम मानिसले बुझ्ने गरी प्रस्तुत गरेकामा लेखकको तारिफ गरे ।

लेखक खड्काले जगत् कल्याणका लागि बुद्धले देखाएको बाटो संसारले ग्रहण गरिसक्दा नेपालमै चाहिँ त्यसबारे थाहा पत्तो नभएको देख्दा अपशोस लागेको भन्दै थोरै भए पनि यसबारे आम जानकारी होस् भनेर पुस्तक लेख्ने प्रेरणा मिलेको बताए । आनन्द कसरी मिल्छ भनेर संसारलाई ज्ञान दिने शाक्यमुनि बुद्धको भूमिमा आएर पुस्तक विमोचन गर्ने इच्छा लागेकाले आफू लुम्बिनी आएको उनको कथन थियो ।

मानिसहरू जीवनमा कसै न कसैको प्रेममा परेकै हुन्छन्, किन किन म बुद्धको प्रेममा परेको छु’ उनले भने, ‘त्यही प्रेमले गर्दा आफू लुम्बिनीमा पुस्तक विमोचनको उत्सव मनाउन आएको छु ।’

संसारमा सबभन्दा बढी आनन्दकै भएको र सबभन्दा कम प्राप्ति पनि आनन्दकै रहेको भन्दै खड्काले आनन्द पाउने सरल र सोझो मार्ग के हुन सक्ला भन्ने खोज्दै जाँदा अनुभूतिजन्य बोधको धरातलमा पुस्तकको जन्म भएको बताए ।

पुस्तक प्रकाशन संस्था अल्केमी पब्लिकेशन्स्का अध्यक्ष विमल खड्काले लुम्बिनीमा ‘आनन्द संहिता’को विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।नेपाली साहित्यमा बौद्ध दर्शनको पुस्तकको सर्वथा अभाव थियो, आनन्द संहिताले त्यसको थोरै भए पनि पूर्ति गर्न पुगेको छ’ उनले भने, ‘यस्तो पुस्तक बुद्ध जन्मेको माटोमा उभिएर विमोचन गरौं भनेर हामी लुम्बिनी आएका हौं, आज सपना साकार हुँदा अपार आनन्द आइरहेको छ ।’

प्रकाशित: ३२ श्रावण २०८१ २०:३८ शुक्रबार

#Lumbini #Buddha's Birthplace Lumbini #Ananda Samhita' #Writer and Journalist Ghanshyam Khadka