कला

न्यूयोर्कमा फिल्म ‘रीत’ काे प्रदर्शन

फाल्गुनन्द लिङ्देन फिल्मस प्रालिले निर्माण गरेको लिम्बू भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक दिनेश लिङ्देनकाे अनुसार बेलायतपछि अमेरिकामा फिल्म प्रदर्शन हुन लागेको हो।

यही अगष्ट १८ मा न्यूयोर्कस्थित अल्मस्ट क्वीनको एक हलमा हुने विशेष प्रदर्शनका लागि निर्देशक लिङ्देन न्यूयोर्क पुगिसकेका छन्। ‘फिल्म प्रदर्शनबाट संकलन भएको रकमको केही प्रतिशत गरिब र असहाय बालबालिकालाई दिइनेछ’, उनले भने।

उक्त प्रदर्शनमा नृत्य निर्देशक गोविन्द राई, न्यूयोर्कका युवा व्यावसायी तथा कलाकार केशवराम राई, मोडल तथा पत्रकार सुमन थाम्सुहाङ, पर्वतारोही पासाङ निमा शेर्पाको विशेष उपस्थिति रहने अमेरिकाका लागि ‘रीत’का प्रस्तोता सूर्य लिङ्देन र किरात याक्थुङ चुलुङका अध्यक्ष दिपक थेबेले जानकारी दिए।

होमकुमार लावती, आशा नेम्वाङ र बिस्नु ईङ्नाम निर्माता रहेको फिल्ममा लक्ष्मी योङ्हाङ, विमला खजुम, सागर केरुङ, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, तान्छो हाङ इङ्नाम, पूर्ण सेलिङ, भीम थेबेको मुख्य भूमिका रहेको छ।

प्रकाशित: ३१ श्रावण २०८१ ०८:०० बिहीबार

#Falgunanda Lyngden Films Pvt #Screening of the film 'Reet' in New York