कला

अमेरिकामा भाषिक हुटहुटी

नियात्रा

मेरो आफ्नै देशमा नेपाली भाषाको मार्गचित्र कताकता मासिँदै, विद्रूप हुँदै गइरहेको त छैन भन्ने पिरलो त छँदै छ। विवेचना, समालोचना त हुनुपर्छ तर कुनै कुराको मौलिक धरातल नै धसाइदिने काम गर्नुमा पर्ख र हेरसम्मको धैर्य नराखे पुस्तान्तरणमा विभ्रान्तता आउने मात्र नभएर वर्तमान र भविष्य पनि दुष्प्रभावित हुनसक्छ। आज पनि कतिपय कथ्य–भाषा, लेख्यतिर उन्मुख हुन सङ्घर्षरत छन्। सभ्य र विज्ञ हौं भन्ने हामीहरूबाटै भित्री किचलो र उपेक्षा हुन गए, नेपालका अन्य राष्ट्रभाषाहरू पनि निश्चितै प्रभावित हुन जान्छन्।

नेपालमा लुप्त प्रायः अवस्थाका मातृभाषालाई जोगाउन, बेलैमा तत्तत् भाषी, नियामक निकाय र भाषाविद्हरूको सतर्कता नितान्तै वाञ्छनीय छ। कुनै समाजको भाषा र संस्कृति मासिए के नै बाँकी रहन्छ र! यी सबैको मियो नेपाली भाषाको वर्णविन्यासको केही समय कहाली लाग्दो विगत रहेको छ। 

२०८१ असार ९ मा आएको सर्वोच्च अदालतको आदेशले त्यो विगतको ऊहापोहलाई संविधान सम्मत बाटोतिर डोर्‍याएको छ। कैयन् नेपाली भाषाभक्त विद्वान् र विदुषीहरूको निरन्तर सङ्घर्ष र समर्पणको परिणाम हो यो। अब हामीले भाषिक विगत नदोहोरियोस् र मौलिकताको ख्याल राखेर कालक्रमसँगै अगाडि बढ्न सकियोस् भन्नेतर्फ पनि सतर्कता अपनाउनुपर्ने अवस्था छ।

सामाजिक सञ्जालले विश्व वस्तुस्थितिलाई छर्लंङ पार्दै गइरहेको अवस्थामा पनि अमेरिका सर्वसाधारणको सपना छ भने त्योभन्दा २२ वर्ष पहिले अमेरिका जाने सपना र कल्पना झनै तिलस्मी थियो। छोराहरू उतै भएकाले, भेटघाट गर्न जीवनसाथी राजलक्ष्मी र यो पङ्क्तिकार, २८ चैत्र २०५८ बुधबार सिंगापुर इन्टरनेसनल एयरलाइन्सको उडानबाट सिंगापुर विमानस्थल उत्र्यौं।

ली कुआन यु सिंगापुरका इमानदार, दूरदर्शी, त्यागी, तपस्वी राजनेता तथा प्रथम प्रधानमन्त्री एवं आधुनिक सिंगापुरका जन्मदाता हुन्, जसको चामत्कारिक योगदानबाट सिंगापुर एउटै पुस्तामा तेस्रो विश्वबाट पहिलो विश्वमा आफूलाई परिवर्तन गर्न सफल भएको छ। सिंगापुर एयरपोर्टमा पूरै रात प्रतीक्षा गर्नुपर्ने थियो।

एयरलाइन्सले नै त्यहाँ विश्रामका लागि दुई डलरमा होटल बुक गरिदिएको थियो। एयरपोर्टमा होटलको नाम लेखिएको तख्ती लिएर मान्छे उभिएका पनि थिए तर हामीलाई लाग्यो, सुत्नु त जिन्दगीभरि छँदैछ, मायानगरीमा पुगेपछि पहुँचसम्म टहलौं, यहाँको तिलस्मिता हेरौं, बुझौं भन्ने भाव हामी दम्पत्तिमा प्राथमिकतामा रह्यो। किन्तु मेरो मन मलाई आफ्नै देशको उकाली ओरालीमा खोज्दै रह्यो।

उषा झलमल उदायो। जलीय परिवेशमा रहेका टापुहरू सुनको जलपमा डुबेझैं चमचमाए। हाम्रो वायुयानले धर्ती छोड्यो। अहा! आकाशबाट सिंगापुरको प्राकृतिक सौन्दर्य आफैंमा अनुपमेय देख्दा हामी तरङ्गित हुनपुग्यौं। आफ्नै देशलाई सम्झ्यौं।

दक्षिण कोरियाको राजधानी सबैभन्दा ठुलो सहर ‘सोल’मा पनि केही क्षण हाम्रो प्लेन रोकियो। सागरीय प्रकृतिको शोभाले यसलाई पनि जादुई बनाइदिएको रहेछ। अवनी–अम्बरतलका दृश्य–परिदृश्यमा रम्दै सान्फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर पाताल अर्थात् अमेरिकी धर्ती टेक्न पुग्यौं। त्यहाँ पुगेपछि त्यहाँको धरातलीय यथार्थ बुझ्ने जिज्ञासा उम्रियो।

अमेरिकामा रहेका नेपाली परिवारले नेपालबाट आएका अतिथिहरूलाई निजी घरमा वा जुनसुकै कार्यक्रममा बोलाहट गरिने एउटा राम्रो परम्परा अर्थात् नेपाली समाजको सामान्य सौहार्द र प्रचलन नै रहेछ। आफ्नो मातृभूमिबाट टाढा पुगेपछि मातृभूमिप्रतिको सम्झना झनै संवेदित भएर उदाउँछ र हरपल नोस्टाल्जिक बनाउँछ। त्यही क्रममा यहाँ जुन परिवारमा जान्थ्यौं, जुन कार्यक्रममा पुग्थ्यौं, धेरै समयदेखि बिछोडिएका परिवारका सदस्य भेटिएजस्तै अपनत्व, स्नेह र सद्भाव पाउँथ्यौं। हामी भावविभोर हुन पुग्थ्यौं।

यहाँ पुगेकै दिनदेखि नित्य बिहान घुम्ने कार्यक्रम रह्यो हामी दम्पतीको। काठमाडौंका झैं मौसमले हामीलाई स्वदेशवरपरै छौं कि भन्ने भान हुन्थ्यो। तर नेपालमा झैं यहाँ प्रत्येक घरमा फुलिरहेका थरीथरीका फूलहरू वासन्तिक छटाको संस्मरण गराइरहेका देखिन्थे। सडकका किनारमा बनेका ससाना सुन्दर घर, नेपालमा झैं पर्खालले बन्दी बनाइएका देखिएनन्, खुला थिए।

सडक प्रायः निर्जन नै देखिन्थे तर त्यो सडकमा कति कुरा देखेर म छक्किन्थें। एउटी वृद्धालाई डो¥याएर उनको गन्तव्यतिर लगिरहेको कुकुर रातो बत्ती बलेपछि टक्क रोकिन्थ्यो, हरियो बत्ती बाल्यो कि हिँड्थ्यो। वृद्धाको छोरा, बुहारी, मित्र जे भने पनि त्यही कुकुर थियो, कुनै प्राणी मान्छेको भाषा बोल्न नसकोस् तर दिएको स्नेह, माया, ममतालाई बुझ्न चाहिँ राम्ररी बुझ्छ, आज्ञा पालन गर्छ। योभन्दा उत्तम उदाहरण अर्को के हुनसक्छ?

सडकसँगै जोडिएका सुन्दर घरका ती खुला प्राङ्गणबाट फलफूल टिप्ने वा हाँगा भाँच्ने दुस्साहस कसैले गर्नसक्दा रहेनछन्। यो सभ्यता र अनुशासनको परिचय हो तर ‘नाना छउन्जेल लागेको बानी’ भन्छन्, साँझमा शुक्रबारको पूजा थियो हामीकहाँ। फूलहरू त चाहियो–चाहियो भन्ने कुरा उठ्यो। हाम्रै समूहबाट एक जनाले सुटुक्क फूल चोरेर ल्याइहाले। यसरी एकातिर आराधना, अर्कातर्फ फूल चोर्ने अपराध। यो घटनाले निकै दिन मन पिरोलिरह्यो।

प्रत्येक बिहानी घुम्ने क्रममा बाटोनजिकैको घरमा एक वृद्ध आफ्नो दैलोमा बसिरहेका देखिन्थे। उनी मुस्कुराउँथे, हात हल्लाउँथे। हामी पनि त्यही रूपमा रेस्पोन्स गथ्र्यौं। मेरो मनले मानेन। एक दिन भेट्नै गयौं। उनको बगलमा प्यारो बिरालो बसिराखेको थियो। एकछिन उनले आफ्ना दुइटै ताता हातभित्र मेरो हात समातिरहे। अनि सँगैको भित्री कोठामा लगे। मैले हाम्रो परिचय दिएँ, छोरा दुइटै यतै भएकाले भेट्न आएका हौं नेपालबाट। भित्री कोठा भव्य नै थियो।

मेरो जिज्ञासा बुझेर होला, उनले आफ्नो परिचय दिए, उनकै शब्दमा। उनको उमेर ८० वर्ष कटिसकेको रहेछ। उनी आफू र श्रीमती प्रोफेसर रहेछन् र बेलामै सेवा–निवृत्त भएका रहेछन्। श्रीमतीको निधन भएको चार वर्ष भयो, दुई छोरा पढ्नेक्रममै एउटा बेलायतमा र अर्को जर्मनीमा घरगृहस्थी गरेर बसिसकेका रहेछन्। जन्मदिनजस्ता अवसरमा फोनबाट शुभकामना आउने गर्छन्।

उनको र बिरालाको भोजन दैनिक बाहिरबाट आउँदो रहेछ। खानेबेला बिरालो माउँ–माउँ गर्दै पटकपटक मतिर हेर्छ, खाऊँखाऊँ भन्छु र एकछिनको निस्तब्धता भंग हुन्छ। सामुन्ने लगाएका तस्बिरतिर इङ्गित गर्दै भन्न थाल्छन्– जब म खान थाल्छु, सामुन्ने श्रीमतीलाई देख्छु, छोराहरूलाई हेर्छु, म एक्लो छैन सम्झन्छु।

यति भन्दाभन्दै भावुक हुन पुग्छन् र मेरो हात अँठ्याएर समात्दै अवाक् हुन पुग्छन्। पत्तै भएन, म पनि भावुक भएछु। म झल्यास्स भएँ– मायाको नगरी, सुखभोगको धर्ती भनेर सुन्ने गरेको थिएँ, अमेरिकालाई। हुन त ढिलोचाँडो नेपालको नियति पनि त्यतैतिर ढल्किँदै छ भन्दा अत्युक्ति नहोला।

नेपालबाट अमेरिका पुगेको प्रायः सबै परिवारमा पहिलो पुस्ताको सान्निध्य र ममत्व यथावत् रूपमा पायौं हामीले। दोस्रो पुस्ताका सन्तति भने हामीतर्फ उत्सुकताको नजरसम्म दौडाउँथे, मुस्कुराउँथे, बस। उनी नेपाली बुझ्दैनथे, हामी अङ्ग्रेजी जान्दैनथ्यौं।

आफन्तैसँग संवादविहीनताको अवस्था देखेर हामी निकै चिन्तित भयौं, परस्पर गुनगुनायौं। दिनानुदिन हाम्रो युवापिँढी अवसरको खोजीमा स्वदेश छाड्दैछन्। त्यसपछिको सन्तति विदेशकै वातावरणमा हुर्किन्छन्, शिक्षित दीक्षित हुन्छन्।

आफ्नो भाषा, संस्कार, संस्कृति, इतिहास आदिबाट सदाका लागि टाढिन्छन्। त्यसपछिको पुस्ता स्वतः पथभ्रान्त हुनपुग्छ र परिचयविहीन अवस्थामा जीवनभरि अभिशप्त रहन्छ। यो अवस्था राष्ट्र, समाज, व्यक्तिका निम्ति अपूरणीय क्षति हो।

छोरा र नातीहरूलाई हाम्रो संस्कार र संस्कृतितर्फ केही न केही रुचि र झुकाउ होस् भनेर अमेरिका बसेको अवधिमा ‘चाणक्यनीति, शुक्रनीति, विदुरनीति’ आदि नीतिहरूको निचोड ‘प्रभास नीति संहिता’ सरल नेपाली पद्यमा रचना गरें। नेपाल फर्केपछि यो कृतिलाई पाठ्यक्रम विकास केन्द्र सानोठिमीले दुई वर्षका लागि तत्कालीन ९ र १० कक्षामा नैतिक शिक्षाअन्तर्गत ऐच्छिक विषयको पाठ्यक्रममा राख्यो।

स्वदेशबाट बाहिर निस्केका सर्वत्र सबै परिवारमा नेपाली भाषा क्षयीकरणको अवस्था उस्तै छ होला। तर हामीले अमेरिकामा प्रत्यक्ष भोग्ने स्थिति आयो, जहाँ दोस्रो पुस्तासँगको संवाद शून्यताबाट आजित भएर यत्किञ्चित भए पनि समाधानको बाटो खोज्यौं। सरल शब्दमा सम्झन सकिने योजना बनायौं।

हामी जुन परिवारको न्यौतामा पुग्थ्यौं, भोजनभन्दा पहिले परिवारका मुलीबाट नेपाली भाषा जोगाउन ‘वचन’ माग्न थाल्यौं। वचन थिए– प्रत्येक नेपाली परिवारले घरमा अनिवार्य रूपमा नेपालीमा संवाद गर्ने, घरमा कुनै नेपाली रेडियो, टिभी सुन्ने, हेर्ने गरेको वा नेपाली पत्रपत्रिका पढ्ने गरेको छ भने घरका केटाकेटीको पढाइको अवस्था हेरी रेडियो, टिभी हेर्न, सुन्न वा नेपाली पत्रपत्रिका पढ्नतिर केटाकेटीको रुचि बढाउनुपर्छ।

यसैगरी कुनै नेपाली वा भारतीय मन्दिरमा घुम्न गए देवीदेवताका आधारभूत कुराहरू केटाकेटीहरूलाई बुझाउने, चाडपर्वमा हाम्रो सांस्कृतिक पृष्ठभूमि अवगत गराउने र सहभागी हुन प्रेरित गर्ने, नेपाली मन्दिरमा रहेका नेपाली पुजारी वा इच्छुक कुनै नेपालीलाई केही पारिश्रमिक दिई आसपासका नेपाली परिवार मिली शनि-आइतबार एकदिने नेपाली पाठशाला चलाई अनिवार्य रूपमा १० वर्षमुनिका बालबालिकालाई नेपाली पढाउने, नेपाली गीत गाउन लगाउने, गुरुलाई नमस्ते वा नमस्कार गर्न सिकाउने आदिको अटुट व्यवस्था मिलाउने (अमेरिका नेपाल कल्चरल सेन्टर, सिकागो)मा सक्रियता आएपछि यसमा निकै तदरुकता देखिएको छ।

कार्यक्रमहरूमा बजाइने गीतहरूमा नेपाली गीत पनि बजाउने अभियान चलेको छ। २/३ वटा कार्यक्रममा त हामीले अंग्रेजी, हिन्दी गीतसँगै नेपाली गीत बजाउन लगायौं। सम्पर्क हुनसकेका कतिपय परिवारले हाम्रो संवादको संवेदनालाई हृदयबाटै हृदयङ्गम गर्नुभयो। भावनात्मक र क्रियात्मक बीजरोपण गर्नमा हामी लागि पर्‍यौं। अभिभावकहरूको धारणा उर्वर पायौं। शनैः शनैः साप्ताहिक नेपाली प्राथमिक पाठशाला खुल्न थाले, बालबालिकाको नेपाली पढ्ने रुचि बढ्न थाल्यो। यदाकदा त्यहाँका संस्थापक वा व्यवस्थापकसँग इमेल माध्यमबाट सम्पर्कमा रहने यत्न रहन्छ मेरो अहिले पनि।

नेपाली भाषा सिकाइको अभियानबाट तत्काल प्रभावित भएको घटना ललितपुरनिवासी नेवारीभाषी सतीश जोशीले क्यालिफोर्नियामा कार्यरत रहँदा भारतीय परिवारकी अमेरिकामै जन्मेकी कन्या ‘बहार’सँग बिहे गरे। उनकी श्रीमती ‘बहार’ न नेपाली, न नेवारी। केही नबुझ्ने, लोग्नेसँग मात्र अंग्र्रेजीमा कुरा हुने। परिवारमा संवादविहीनताको अवस्था रहेछ र बहारले नेपाली पढ्ने इच्छा जाहेर गरिछन्।

सतीश र मेरो छोरा सूर्य साथी हुँदा उनैमार्फत खबर आयो, ‘मेरी श्रीमती बहारलाई बुबाले नेपाली पढाइदिए घण्टाको १८-२० डलर फी दिन्थें। बुबासँग बुझिदिनुहोस्।’ उत्तरमा ‘फी म लिन्नँ, पढाउन चाहिँं खुसीसित पढाउँछु’ भनें।

एक-डेढ महिना पढाएँ हुँला बहारलाई। प्रत्युत्पन्न मतिकी थिइन्, केही हिन्दी भाषाको संस्कार थियो होला, नेपाली निकै छिटो पढ्न, लेख्न र काम चलाउ बोल्न थालिन्, खुसी लाग्यो।

म काठमाडौं फर्कने बेला, दाम राखेको खाम लिएर आइन् बहार, मैले स्विकारिनँ। पछि उनी आफू काठमाडौं आउँदा महँगो घडी उपहारका रूपमा दिइन्, जो मेरो प्रयोगमा छ आज पनि। हाल उनी नेपाल फर्केर ललितपुरमा परिवारसँगै बस्छिन्।

नासा (अमेरिकन अन्तरिक्ष स्टेसन) हेर्ने ठुलो इच्छा पनि भएको, साथै डालस (ट्याक्सस)मा भाइकी छोरी साधना र मेरी छोरी पूजाकी जेठी छोरी सृजा रहेकाले भेट्न म र राजलक्ष्मी त्यहाँ पुग्यौं। छोरी साधनाका छोरालाई नेपाली बोल्न र पढ्न प्रेरित गर्यौं, उनी नेपाली राम्रो बोल्छन् अब।

डालस एरियामा घुम्न निस्कँदा दिउसो दुई बजेतिर ‘हिमालयन रेस्टुरेन्ट’मा नजर पर्‍यो। चिया-नास्ता गर्न हामी त्यो रेस्टुरेन्टभित्र पस्यौं। एउटा ठूलो टेबुलमा बस्यौं। सफा सिसाभित्र ‘सगरमाथाको चित्र, बुद्ध आदिका चित्र राखिएका र रेस्टुरेन्टका सबै कर्मचारी नेपाली भाषी देखेर मन प्रफुल्लित भयो।  

‘मेनु’ लिएर एउटी बहिनी आइन्। सामान्य परिचय सोधियो। नेपालीमा शालीन उत्तर पाइयो। टेबुलमा सजाएर राखिएको बुद्ध र सगरमाथाको चित्रतिर इंगित गरेर सोधें, चित्रको परिचय। जवाफ थियो, ‘थाहा छैन।’ अरू स्टाफसँग सोध्दा सबैको एउटै जवाफ थियो, ‘थाहा छैन।’ छानाबाट खसे झैं भएँ।

रेस्टुरेन्टका मालिकलाई बोलाएँ। आफ्नो चित्त दुखेको कुरा सुनाएँ, ‘बुद्ध र सगरमाथाको नामबाट विश्वले नेपाललाई चिन्छ। तपाईंका नेपाली भाषी स्टाफले बुद्ध, सगरमाथाजस्ता आफ्नै गौरवलाई चिन्दैनौं भन्दिए। म मर्माहत भएको छु। अवश्य तपाईंले आगन्तुकहरूलाई आकर्षित गर्न ती चित्र राख्नुभयो होला।’

संस्थाका प्रमुख शालीन र भद्र देखिन्थे। पछुतो भाव थियो, उनको शब्दमा। वाचासहित मैले एउटा आग्रह गर्ने अनुरोध गरेँ। उहाँबाट सकारात्मक जवाफ पाएँ। उहाँको कम्प्युटरमा टिपाएँ- 

१. टेबुलमा राखिएका बुद्ध र सगरमाथाको चित्रभन्दा तल नेपालीमा र अंग्रेजीको बोल्ड अक्षरमा तुरून्तै नाम लेख्ने,

२. हरेक महिनाको १५ गते र ३० गते दुई दिन कर्मचारीसँग बैठक गर्ने,  

३. त्यसमा यो संस्थाका स्टाफलाई हाम्रा राष्ट्रिय विभूति, इतिहास, भाषा, संस्कृति आदि विषयमा जानकारी गराउने। आफूले बुझेजति आफूले वा सुरु बैठकमा कुनै नेपाली शिक्षक वा जानिफकार नेपालीको सहयोग लिने।

४. दुई महिनाको भेटघाटमा पालैपालो गरी बुद्ध, सगरमाथाजस्ता हाम्रा गौरवगाथाको विषयमा स्टाफलाई बोल्न लगाउने, सामान्य भए पनि केही पुरस्कार दिएर उत्साहित गर्ने।

‘यो परम्परा बसाल्न सक्नुभयो भने तपाईंको इतिहास बन्ने छ अमेरिकामा’ भनेँ। कुरा गर्दाको मनोविज्ञानअनुसार केही न केही सुधार हुनेछ भन्ने आशा भयो। त्यसै रेस्टुरेन्टमा त्यतैको एक कलेजका प्राध्यापक प्रेम अधिकारी र रेडियोका नेपाली कार्यक्रम सञ्चालक चन्द्रप्रसाद प्रसाईंज्यूसँग भेट भयो, खुसी लाग्यो। उहाँहरू महत्वपूर्ण ठाउँमा हुनुभएकाले मेरो चिन्ता जाहेर गरेँ तथा नेपाली भाषा, संस्कृति, इतिहासप्रति अमेरिकामा रहेका दोस्रो पुस्ताका सन्ततिमा अभिरुचि जगाउने काम यहाँ जस्तो महत्वपूर्ण ठाउँमा रहेका प्रबुद्ध व्यक्तित्वबाट हुने आशा गर्छौं भनी अनुनय गरें। गर्दैछौं, गर्छौं भन्ने आश्वासन पाएँ।

त्यसै क्रममा ‘नासा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन’ हेर्ने अवसर जुट्यो। प्रयोगमा आएका अन्तरिक्षयानहरूलाई रुचिसाथ हेर्न पायौं। १५-२० मिनेटजतिको नासाको परिचयात्मक डकुमेन्ट्री देखाइयो, तरङ्गित भयौं। हेर्नुपर्ने क्षेत्र विस्तृत रहेछ। नासा व्यवस्थापनबाटै पूरै परिसर घुमाइयो, धेरै कुरा बुझाउँदै। नेपालले पनि एक दिन अन्तरिक्षमा आफ्नो रकेट पठाउला, सपना देखें।

सिकागोको लिमोन्टमा ‘हिन्दु टेम्पल या ग्रेट सिकागो र सान्फ्रान्सिस्को, लिभरमोरलगायत धेरै ठाउँका हिन्दु मन्दिरमा दर्शन गर्न पुग्यौं। भारतले अमेरिकामा पनि आफ्नो भाषा, संस्कार, संस्कृतिको जग बसाल्न अब्बल काम गरेको छ। यत्रतत्र नेपाली मित्रबन्धुमा मेरो प्रतिक्रिया रहन्थ्यो, ‘नेपाल र भारतको संस्कार, संस्कृतिमा साम्य अवश्य छ तर भारतले संस्कार र संस्कृतिमा गरेको प्रगतिको दृश्य हाम्रो अनुहार होइन, आफ्नै अनुहार हेर्न हामीले नेपाली ऐना बनाउनुपर्छ।’ सकारात्मक सम्मति पाउँदै रहेँ।

छोरा डा. चन्द्र कार्यरत अस्पतालको वनभोज कार्यक्रममा राजलक्ष्मी, म र डा. चन्द्र सपरिवार पुग्यौँ। अमेरिकन,भारतीय र पाकिस्तानी डाक्टरहरू सबै सपरिवार थिए। वनभोजमा खानपान, नाचगान हुन थाल्यो। कार्यक्रममा अंग्रेजी र हिन्दीका गीत बज्न थाले। केही छिनको पर्खाइपछि नेपाली गीत पनि बजाइए। हामी प्रफुल्ल भयौं।

‘स्प्रिङ फिल्ड’ हेर्ने साह्रै उत्सुकता थियो। छोरा चन्द्र बस्ने अपार्टमेन्टमा यहाँ बानेश्वरकै विजय खड्का श्रीमती सोफी र छोरासँगै बस्थे। दुवै आध्यात्मिक प्रवृत्तिका थिए, शाकाहारी थिए। उनको सात वर्षीय छोरा बिकी अमेरिकामै जन्मेको, अंग्रेजी मात्र बुझ्थ्यो। मेरो नाति अङ्कितसँगै दुई महिनाजति बिकीलाई नेपाली पढाएँ। खुसीको कुरा, शिशुले बाह्रखरी सिक्यो, सामान्य नेपाली बुझ्ने, बोल्ने र लेख्ने भयो। ‘बिकी’ नामको सट्टा ‘विवेक’ राख्न सुझाउ दिएँ, बिकीका आमाबुबालाई। मैले पढाउँदासम्म ‘विवेक’ नामले सम्बोधन गरेँ बिकीलाई।

तिनै विजय खड्कासँगै स्प्रिङ फिल्ड पुग्यौं। एउटा ऐतिहासिक नगरी सिकागो–इलिनोइजको ‘द लिंकन होम इन १८६०’ को अवलोकन गर्ने अवसर पाइयो, जहाँ लिंकन पढ्थे, बस्थे, भोजन गर्थे, अतिथिहरूलाई भेट्थे, सुत्थे। सबै कक्ष हेर्नलायक थिए। त्यहाँ ओखलनुमा कमौट थियो, सुविधापूर्ण स्नानघर, अहिलेको ग्यासचुल्होलाई मात गर्ने चारमुखे चुल्हो आदिको शताब्दियौं पूर्वको सोच र संयोजन आजभन्दा पनि प्रगतिमा रहेछ भन्दा अत्युक्ति नहोला।

चिरप्रतिक्षित ‘युएन ब्युल्डिङ’ हेर्न पुग्यौँ। भित्र प्रवेश शुल्कदर नौ डलर रहेछ। सुरक्षा जाँचपछि एक जना महिला गाइडले भित्र लगिन्। ‘युएन भिजिटर’ लेखिएको रातो बिल्ला हाम्रो छातिमा टाँसियो। धैर्यसाथ सबैतिरको जानकारी दिइन्। बाहिर संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूका राष्ट्रिय झन्डाहरू वर्णानुक्रमअनुसारले लहरै झुन्ड्याइएका थिए।

त्यतिबेला हामीलाई बताइए अनुसार १८९ राष्ट्रका झन्डा त्यहाँ थिए। हाल १९३ राष्ट्र पुगिसकेका छन्। दृष्टि नेपालको राष्ट्रिय झन्डासामु गएर रोकियो। आहा! हाम्रो नयनसुख झन्डा, कस्तो मनोहर, चन्द्र र सूर्यको तिलस्मी ज्योतिद्वारा तरङ्गित भइरहेकोझैं देखिन्थ्यो। निकैबेर धर्तीबाट आकाशतिर झन्डाको दर्शन गर्दा पनि अघाइनँ, पटक पटक ढोगें। त्यसैमुनि सामूहिक फोटो लियौं।

पछि लसएन्जलस पुग्यौं। इन्जिनियर दुर्गेशचन्द्र रेग्मीसँग भेट भयो। उहाँको आग्रहमा त्यहाँ लन्च लियौं। मैले हाम्रो भाषिक आन्दोलनको प्रसंग राखेँ। उहाँ खुसी हुनुभयो। ‘जरुरी काम सुरुवात गर्नुभएछ। त्यो अभियान हामी हाम्रै घरबाट सुरु गर्छौं’ भन्नुभयो। लसएन्जलस जाँदा बाटामा पर्ने ठुलो क्षेत्रमा निकै दिनदेखि भीषण आगलागी भएको बुझियो। अमेरिकाजस्तो देशमा पनि बेलैमा आगो निभाउन नसकिँदो रहेछ, हाम्रोजस्तो देशमा सतर्कताबाहेक अरू के नै उत्तम उपाय हुन सक्छ होला जस्तो लाग्यो।

एक शनिबार हामी सिकागोको सुनौलो साँझमा मित्र डा. विष्णुप्रसाद फुयाँलकहाँ पुग्यौं। त्यहाँ त्यसै भेगका ऊर्जावान् १०-१५ जना नेपाली युवाहरूको उपस्थिति देखेर खुसी लाग्यो। परिचयपश्चात् मैले सधैंको रटन दोहोर्‍याएँ। प्रवासमा रहेका नेपालीहरूको दोस्रो पुस्ता आफ्नो भाषा, संस्कृति, इतिहाससँग दिनानुदिन अनभिज्ञ हुँदै गइरहेको छ, जुन घटना हामी सबैको परिवार, समाज र राष्ट्रका लागि अपूरणीय क्षति हो।

त्यसबाट जोगिन स्थायी संरचना खडा गर्नुपर्छ। त्यो कुराको अनुभूति त प्रवासमा रहेका पहिलो पुस्तामा अवश्य रहेको होला, अनुकूल अवस्था र वातावरणको अभावमा चिन्तन पनि प्रच्छन्न भइदिँदो रहेछ। त्यस्तो चिन्तनलाई जनमुखी बनाउँदै गयौं भने नेपाली भाषा प्रचारप्रसारमा अहम् भूमिका रहनेछ भन्ने प्रस्ताव गरेँ।

विष्णुजीले त ‘मेरो मनको कुरा आयो भन्दै ताली पड्काउन लगाउनुभयो।सबैको सहमतिमा ‘नेपाल कल्चर सेन्टर, सिकागो (एनसिसिसी)’ नामक संस्था खोल्ने प्रस्ताव भयो। मैले प्रस्तावित संस्थालाई विधिवत् अघि बढाउन यसको विधान एक साताभित्र तयार गरिनुपर्छ भन्ने आग्रह गरेँ।

मलाई केही निर्देशन भए यसका लागि म तत्पर छु भनें। विष्णुजीको अध्यक्षतामा त्यहाँ उपस्थित रहेका युवासहितको मस्यौदा लेखन समिति सर्वसम्मत गठन भयो। यसैबीच अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्मा सिकागो आएको बेला भेट्न गयौं।

उहाँलाई बिदेसिएका हामी नेपालीले हाम्रो भाषा, संस्कृति, इतिहास आदिको निरन्तरता, जीवन्तता र प्रवर्धन गर्ने अभियानमा सक्रियता ल्याउने उद्देश्यले ‘नेपाल कल्चरल सेन्टर’ नामक संस्थाको गठन गर्ने क्रममा सोको विधान अगाडि बढाएका छौं भन्ने जानकारी गराउँदा उहाँले अमेरिका शब्द जोडेर ‘नेपाल–अमेरिका कल्चरल सेन्टर’ लेख्न सुझाउनुभयो। विष्णु फुयाँलको सक्रियतामा १० वर्षसम्मका बलबालिकालाई नेपाली पढाउने साप्ताहिक पाठशाला चलेका छन् सिकागोमा।

यात्राकै क्रममा सुप्रसिद्ध ‘ग्रान्ड क्यानन’ हेर्ने अवसर पनि पाइयो। कोलोराडो नदीले पच्छ्याइरहेको ४४६ किमि लामो, १८२९ किमि चौडा र १८५७ मिटर गहिरो ग्रान्ड क्याननको आश्चर्यजनक स्थल हेर्न विश्वका सैकडौं पर्यटकहरूको भिड लाग्दो रहेछ।

 सम्झें, म्याग्दी जिल्ला दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको ६९६७ मिको अन्धगल्छी, संसारको सबैअन्दा गहिरो गल्छी हो भनिन्छ। त्यो प्रचारप्रसारमा आए, जानआउन पर्यटक मैत्री व्यवस्था भए देशको नाम र दाम दुइटै अवश्य बढ्थ्यो।

अमेरिकाको जुन राज्यमा पुग्थ्यौं, हाम्रै चिरपरिचित परिवार वा छोराहरूका साथी सँगातीका परिवार भेटिन्थे, आफन्तै हुन् वा टाढाका हुन् छुट्याउनै नसकिने। आफू अन्यत्र बसेर पनि आफ्नो सुत्ने कोठा छोडिदिन्थे हाम्रा लागि। कस्तो अचम्मको अपनत्व र त्याग, आफ्नो माटोप्रतिको ममता झझल्किएजस्तो, आदर छर्लंग छरिएजस्तो भेटघाटमा। किन्तु हाम्रो मन मस्तिष्क अन्य कुराकै समाधानतिर छटपटिइरहेको हुन्थ्यो।

त्यहाँ रहेका दोस्रो पुस्ताका सन्ततिहरू आँखा छलेर हामीलाई बिरानो नजरले हेरिरहेको देख्दा मन कटक्क काटिरहेको हुन्थ्यो। हाम्रो दोस्रो पुस्ताबाट नेपाली भाषा, संस्कृति अस्ताउने चिन्ता प्रस्ट्याउँदै हाम्रो आतिथ्यलाई माथिका वाचा आत्मसात् गर्न अनुनय गथ्र्यौं र वाचा पाउँथ्यौं। अमेरिकामा बसुन्जेल यो यत्न वा अभियान अटुट रह्यो।

परन्तु स्वदेश फर्किसकेपछि पनि बिदेसिएको नौलो पिँढीमा रहेको नेपाली भाषा र संस्कृतिप्रतिको उपेक्षा भाव सम्झेर काहिलेकाहीं रातिको निद्रा पनि भङ्ग हुन पुग्छ तर अहिले ‘नेपाल अमेरिका कल्चरल सेन्टर, सिकागो’ सक्रिय छ र ‘विदेशमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको प्रवर्धनमा ‘डायस्पोरा’जस्ता संस्थाको सक्रियताले पनि ऐतिहासिक कार्य हुँदै आएकाले आश्वस्त भइन्छ।

जीवनको त्यसै हुटहुटीबाट प्रेरित भएर दुई वर्षको अविश्राम श्रमबाट ‘डोट्याली बृहत् शब्दकोश’ को सिर्जना भाषिक जगत्सामु समर्पण गर्न सकिएको थियो। कतिपय डोट्याली भाषाविद्, कर्णालीदेखि महाकालीसम्मका तथा कुमाउ, गढवालसम्मका भाषिक, साहित्यिक, सांस्कृतिक र ऐतिहासिक कृति एवं विविध पत्रपत्रिकाको अतुलनीय योगदान पाएको छु, यो ६० हजारसम्म शब्द भण्डार भएको बृहत् कृति जनसमक्ष उभ्याउन।

२०८१ सालमा यो कृतिको भुक्तमान समय २३ वर्ष भयो। हालसम्म नेपालीबाहेक राष्ट्रिय भाषामा यति बृहत् शब्दकोश प्रकाशित भएको मलाई थाहा छैन। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सहसंयोजनमा अन्तराष्ट्रिय भाषिक निकायले सुदूरपश्चिमाञ्चल क्षेत्रको भाषिक सर्वेक्षणमा डोट्याली भाषालाई आइएसओ दिएर अन्तर्राष्ट्रिय भाषाको सूचीमा सूचीकृत गरिएको छ ।

rdchataut@gmail.com

प्रकाशित: २६ श्रावण २०८१ ०८:५१ शनिबार

#Linguistic Huthooti in America #Nepali Language Guide