सानेले घर छोड्दा
धुम्मिएर दिउँसो घुर्मैलो देखिन्थ्यो।
निभेका जस्तो उज्यालोले
खडेरीबाट फर्केका तुवाँलोका ताँतीहरू
जवानी बतासका झोक्कासँग दौडिरहेका थियो।
तलतल ढुलमुल देखिने
ती उजाड बस्तीहरूमा
मान्छेहरूलाई मेलापात निस्कन धेरै हतार थियो
यो मुहूर्तमा
जीवनको गह्रुङ्गो पन्तरो बोकेर सँघार नागेर गएको साने
फर्केको छैन घर।
सप्तमी तिथिमा
चन्द्रग्रहणको शीतले
शिर निहुराई पाउ निथ्रुक्कै भिजेर
निदाउरो अनुहार थियो
वेदनाको ओठमा धारिलो तरवार चम्किएर
इन्द्रेनी बोकेका आँखामा
तिर्खाएका बलिन्द्रधारा रातो आँसु र
चट्याङ पर्नुअघि मौन सौदामिनीको चालजस्तै
क्रोध दौडिरहेको थियो सानेको अनुहारमा।
बादलपारि लुकेको नीलगगनमुनि
जहाँ सेपिलो खोल्सीहरूलाई
उज्यालोले छोएको हुँदैन
एकतमास रोइरहेको हुन्छ सिम
खालि सम्झीसम्झी खोलामा
पानी टिप्न ओर्लेका खडेरी हुन्छ
सायद तिर्खाएर साने
त्यसरी नै सडकहरूमा हिंडिरहेका होलान्
समयको चपरी काटेर
बिहानको सात बजेपछि
युगको घेरोबारो उखेली
आदिम खेतको कान्लामुनिको बाटो
समयको बाङ्गो आली कुल्चिंदै
कार्तिक महिनाको शनिवार
आमाको जन्मोत्सव मनाउन आउँछु भनेउ
र तिमीलाई मैले हत्तारमा कुरिरहें
धेरै ढिलाले प्रेमका उच्छवासको डोरीमा
पीडाहरू अनिष्ट कस्सिएपछि
मेरो तातो मुटुमा रातो आगो बलेको छ साने।
हे हेन्खामा माङ,
तिम्रो आगमनबिना मेरो कुनै यात्राले
यो हुस्सुले छोपेको दु: खको भुरु नाघ्दैन।
कुनामा घैंटोभरी रोएर
निद्राले तर्तरी आँसुको रक्सी झार्छ,
कटले अनिंदोका कचेडा पुछिदिन्छन्
पीडाहरूले क्रान्तिका गीत सुनाएपछि,
फिन्फिनी दु:खहरूआकाशमा नाच्न थाल्छन्
र धरधरी रुन्छन् खुशीहरू।
तिमी आउँदा
उहिलेउहिलेको,
मरेका चौबाटोहरू बिउँझेर
दोबाटोहरूमा बुख्याचा भएर तर्साउन सक्छन्
तर विपनाको सुन्दर गोरेटो उचालेर
वर्तमानलाई छोप्न नभुल्नु
आमाले कुल्चेका पाइलाका डोबहरू
कुनै वैरीहरूले कुल्चिएर मेटिन सक्छ
रातो याक्साभित्र बस्ने सेतो मान्छेहरूलाई सोध्नु
त्यहाँ आगोका ज्वालामा खेलिरहेका हुनेछन्
ससाना नानीहरू
चिसो इतिहासको झरिलो कोइला तापेर
उडेर जानेछन बुढाे मान्छे भएर
धुवाँ र चिसो ठिहीहरू
र लोप भैसकेका बाटो देखाउनेछन् तिनै नानीहरूले
फर्केर आउने बाटो त्यही हो साने तिम्रो।
प्रकाशित: २५ श्रावण २०८१ १०:१२ शुक्रबार