कला

हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ!

मुक्तक

१) मुक्तक

निष्पट्ट अन्धकार छ, जुनेली रात छैन

हितैषीको साथ छैन मन बुझ्ने बात छैन

विश्वासको भित्तो चर्क्यो, पत्थर बन्यो मुटु,

जसको भरोसामा बसें उसैले भन्यो औंकात छैन।

२) मुक्तक

भाँडोको आकारअनुरूप पानीले आकार बदल्छ

बहावअनुसार नै नदी पनि आफ्नो धार बदल्छ

सबैले आफ्नै आवश्यकतालाई ध्यानमा राख्छन् नै,

त्यही आवश्यकता पूरा भएपछि मान्छेले मुहार बदल्छ।

३) मुक्तक

समय र परिस्थितिहरू प्राय: बदलिन्छन् फेरिन्छन्

कहिले सबैतिर भरिभराउ त कहिले सबै रित्तिन्छन्

आफ्नाले दिएका चोटका दाग मेटिन नपाउँदै,

अपरिचित आई साथ दिन्छन् आँसु पुछिदिन्छन्।

४) मुक्तक

त्रास भइरहन्छ सधैं तिम्रो नाम बर्बराउँछ कि भनी

कोही नजिक पर्दा रिस उठ्छ मन पराउँछ कि भनी

सोच्दछ यो पगल मनले तिमी मेरो हौ मात्र मेरो,

आँखा खोल्न पनि डर लाग्छ तिम्रो तस्वीर हराउँछ कि भनी।

५) मुक्तक

शाब्दिक उर्जाले पनि नवीन कार्य थाल्न सकिन्छ नि

सानै गुण लाए पनि मनमा बसाल्न सकिन्छ नि

हाँस्नु जत्तिकै फाइदाजनक छ रे रुवाइ पनि,

त्यही बगेको पानीले मनको मैलो पखाल्न सकिन्छ नि।

६) मुक्तक

देखावटी पर सार्नु आत्मगतितिर लाग्नु

उल्झनहरू पार गर्दै स्वप्रगतितिर लाग्नु

कर्म, कृति विशेष छन् नाम अजम्बरी राख्न,

निरन्तर गर्दै सुकर्महरू समुन्नतितिर लाग्नु।

७) मुक्तक

दोस्रोको खुसीमाथि जालझेल मात्र गर्नुहुन्छ किन

आफू सहभागी हुने तालमेल मात्र गर्नुहुन्छ किन

सबैको भलो चाहे त चिरस्थायी हुन्थ्यो होला,

अमृतमा पनि विष खोज्ने खेल मात्र गर्नुहुन्छ किन?

) मुक्तक

गुम्सिएका भाव हुन्छन् अबाेध अनुहारभित्र पनि

एकाग्रता अधिक हुन्छ रे अन्धकारभित्र पनि

भिन्न आचरण लुकेको हुन्छ प्रत्येक आवरणमा,

केही गुण त अवश्य छन् तरवारको धारभित्र पनि।

९) मुक्तक

हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ

धेरै कला जानेकाले कुरा बटार्न पनि सक्छ

अन्धभक्त भई विश्वासमा नपर्नुस् कसैको,

विश्वासको नाम दिई अन्धकारमा लघार्न पनि सक्छ।

१०) मुक्तक

सोच्दछ मनले समाधान के हो, उल्झन के हो,

सधैं असन्तुष्ट भई भौंतारिइरहने यो मन के हो

प्राप्तिको उत्तर खोज्नेहरू नै उदासउदास देख्छु,

दैनिकीका नाटकमा खोज्छु, जीवन जिउने साधन के हो!

प्रकाशित: २५ श्रावण २०८१ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App