साहित्यिक पत्रकार सङ्घबाट विशिष्ट ७ साधकलाई ‘सापस विशिष्ट सर्जक सम्मान’ द्वारा अभिनन्दन गरिने भएको छ।
अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू- तेजेश्वरबाबु ग्वंग, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा.दुवसु क्षेत्री रहेका छन्। यसैगरी सर्जक देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जकर अभियन्ता सम्मान, साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ लाई सापस विशेष सिर्जना सम्मान तथा सर्जक बाबुराम श्रेष्ठलाई सापस प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ।
उक्त निर्णय साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो। सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू - नरेन्द्रबहादुर श्रेष्ठ संयोजक, पद्यमावती सिंह र प्राज्ञ उन्नती बोहरा ‘शीला’ सदस्य रहेको सिफारिस समिति बनेको थियो। उल्लिखित सबैलाई आगामी साउन २९ गते अभिनन्दन र सम्मान गरिनेछ।
विसं २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले यसअघि वरिष्ठ साधकहरू- धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गम, डा. जगमान गुरुङ, गीताकेशरी, मदनदास श्रेष्ठ, मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, केके कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा.सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एसपी कोइराला र डीआर उपाध्याय लगायत रहेका छन्।
प्रकाशित: २४ श्रावण २०८१ ११:१० बिहीबार