कला

‘कसले हेर्ला हाम्रो फाटेको भोटो?’

ललितपुरको जावलाखेलमा आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै। तस्बिर: दिपेश दर्शनधारी/नागरिक

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइएको छ। गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा आइतबार भोटो देखाएका हुन्। जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत जावलाखेल गएका थिए।

‘अभाव र गरिबीले दशकौंदेखि हाम्रो भोटो पनि फाटेको छ,’ जावलाखेलमा जात्रा हेर्न आएका सिद्धिपुरका पूर्ण महर्जनले भने, ‘हाम्रो भोटोचाहिँ कसले हेर्ने ?’ खेती गरेरै गुजारा चलाउँदै आएका महर्जनले समयमा मल र बिउ नपाउँदा खेती सप्रन नसकेको गुनासो गरे।

उनको जस्तै गुनासो छ, च्यासलका नवीन अवालेको पनि। बाबुबाजेले खेती गरेर गुजारा गर्दै आए पनि अहिले नयाँ पिँढीले रोजगारी नपाउँदा समस्या पाएको उनी सुनाउँछन्। ‘आम्दानी नहुँदा खेत बेचेर घर बनाउन बाध्य भयौं,’ उनी भन्छन्, ‘अहिले धान खेत पनि छैन, आम्दानी पनि छैन।’

रोजगारीका लागि खाडी मुलुक जान तयार रहेका महर्जनले यस्तै भए भोटो हेर्ने मान्छे पनि नहुने सुनाए। ‘भोटो मात्र होइन, किसानको मन पनि फाटेको छ,’ उनले भने, ‘जनतालाई समृद्ध बनाए पो भोटो हेरेको पनि सार्थकता हुने थियो।’

नैकापबाट आएका वसन्त पनेरू पनि सत्तामा बसेकाहरूले जनताको फाटेको भोटो हेर्न छाडेर सुनको भोटो हेर्न थालेको सुनाए। ‘सुनका भोटो एकाध होलान्,’ उनले भने, ‘फाटेका करोडौं भोटो हेर्न अझै बाँकी छ। सांस्कृतिक हिसाबले जात्रा आफैंमा राम्रो भए पनि मुलुकका प्रमुखहरू कर्मकाण्डी हिसाबले बर्सेनि जात्रा हेर्दै आएको उनले सुनाए। ‘संस्कृति जोगाउने मात्र हैन, जनतालाई समृद्ध बनाउने काममा पनि मुलुकका प्रमुखहरू सक्रिय भएर लाग्नुपर्छ,’ पनेरू भन्छन्, ‘तब मात्र संस्कृति जीवन्त हुन्छ।’

वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको जात्रा एक हजार तीन सय वर्षअघि सुरु भएको मानिन्छ। तर भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो भन्ने लुभुका नेत्र भुजेललाई थाहा छैन। उनी राजधानी आएर पसिना बगाउन थालेको तीन दशकभन्दा बढी भइसक्यो।

तर अझै पनि अभावको भोटो सिलाउन सकेका छैनन्। ‘सुनको भोटो हेर्ने रहरले एक छिन काम छाडेर यहाँ आइयो,’ उनले भने, ‘आफ्नो भोटाको कथा कसैलाई थाहा छैन।’ पढेको छोराले काम नपाएपछि खाडी मुलुक गएको उनले सुनाए। छोराले उता सोचेजस्तो काम नपाएका कारण आफू अझै राजधानीमा मजदुरी गर्ने गरेको उनी सुनाउँछन्।

रानीको आँखा दुख्ने रोग निको बनाएकोमा नागराजले पुरस्कारस्वरूप बहुमूल्य मणिजडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काएको कथा छ। तर राजधानीमा वर्षौंदेखि पसिना बगाएबापत आफूहरू दण्डित हुनुपरेको उनको बुझाइ छ।

‘महँगीका कारण मजदुरी गरेर पनि पेट पाल्न गाह्रो भएको छ,’ उनले भने, ‘यस्तै भए पनि भोटोको जात्रा हेरेर रमाइलो मानेका छौं।’ त्यस्तै गुनासो छ, उनीसँगै आएका अर्का मजदुर दिनेश तामाङको पनि। दोलखाबाट राजधानी आएका उनले जति कमाए पनि यतै खर्च हुने गरेको सुनाउँछन्। ‘महँगी यति धेरै छ कि कमाइले नभ्याउने भयो,’ उनले भने, ‘यस्तै हो भने दसैंमा नानीहरूलाई नयाँ भोटो किन्न सक्ने अवस्था पनि रहँदैन।’

दसैंमा नानीहरू अझै पनि नयाँ नानाको आशामा बस्ने गरेको उनले सुनाए। ‘यस्तै भयो भने गाउँमा गएर नानीहरूलाई यसपटक भोटो जात्रा नभएको कथा सुनाउनेछु,’ प्रधानमन्त्री र राष्ट्रपति सरिक कार्यक्रमलाई परैबाट नियालेका उनले भने, ‘सुनको भोटो फेरि हराएको कथा सुनाउनेछु।’

भोटो जात्राको किंवदन्ती

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत–प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।

भोटो जात्रा सुरु भएको यकिन तिथि–मिति अहिलेसम्म पत्ता नलागेको उनले बताए। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो।

 किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे। डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए।

औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कारस्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले।

मनुष्य रूपी भूत आएर भोटो लग्यो। किसानले खोजे तर पाएनन्। मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो।

अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ।

प्रकाशित: २१ श्रावण २०८१ ०६:१९ सोमबार

#Rato Machhindranath #"Who will look at our torn voto?"