कला

गिर्दो मनोबलबीच शिक्षा प्रणाली

विसङ्गति

२१ औं शताब्दीको प्रारम्भदेखि सूचना प्रविधिको क्षेत्रमा भएका केही अभूतपूर्व आविष्कारहरूका कारण संसार चौथो औद्योगिक क्रान्तिमा प्रवेश गरेको छ। हामी एउटा यस्तो समयमा आइपुगेका छौं, जहाँ प्रविधिले हाम्रो संसारको भौतिक, डिजिटल र जैविक पक्षहरूलाई मिश्रण गर्दैछ। यो मिश्रण कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आइओटी), क्वान्टम कम्प्युटिङ र बायोटेक्नोलोजीका क्षेत्रमा भएको प्रगतिका कारण सम्भव भइरहेको छ। प्रविधिले ल्याएको यो विकासले हाम्रा औद्योगिक क्षेत्र, अर्थतन्त्र र मानिसको दैनिक जीवनसमेतलाई अभूतपूर्व गतिमा परिवर्तन गर्दैछ।

हाम्रो शिक्षा प्रणालीमा आजको युगका लागि अत्यावश्यक वैज्ञानिक प्रवृत्ति अनि तार्किक क्षमता दुवै स्खलित हुँदा नेपालको मौजुदा पाठ्यक्रमले २१ औं शताब्दीको एआईको युगमा आफ्नो सान्दर्भिकता गुमाउँदैछ।

देशको शैक्षिक प्रणालीले नै सबै तहको शिक्षाको गुणस्तर र राष्ट्रको समग्र मनोविज्ञानको निर्माण गर्छ। स्मरण र सैद्धान्तिक ज्ञानलाई मात्र बढी जोड दिने हाम्रो पाठ्यक्रम विद्यार्थीको आजको गतिशील परिवेश सुहाउँदो आलोचनात्मक सोच, समस्या समाधान र उपलब्ध सूचना र ज्ञानको उच्चतम प्रयोगमा केन्द्रित हुनुपर्ने हो।

हाम्रो पाठ्यक्रम भावनात्मक बुद्धिमत्ता, व्यावहारिक बुद्धिमत्ता, सामाजिक बुद्धिमत्ता र लचकतासहितको व्यापक, अनुकूलनीय र गतिशील हुन जरुरी छ, जसले हाम्रा विद्यार्थीहरूलाई भविष्यको प्राविधिक विकासका लागि मात्र नभई उनीहरूले सामना गर्ने सम्भावित सामाजिक, वातावरणीय र नैतिक चुनौतीहरूको सामना गर्नका लागि पनि तयार गर्न सकोस्।

यस्तो एक समग्र दृष्टिकोणसहितको पाठ्यक्रमको आवश्यकता छ, जसले भविष्यका सम्भावित सबै जटिलताहरूका लागि तयार भएका उत्कृष्ट, लचक र योग्य जनशक्तिहरू उत्पादन गरोस्। एआईको क्षेत्रमा भएको प्रगतिले आगामी दशकमा अधिकांश परम्परागत कामहरू हराउने आँकलन गरिँदैछ।

भनिन्छ, आजका हुर्कंदै गरेका बालबालिकाहरूका लागि आवश्यक करिब ६० प्रतिशत भविष्यका रोजगारका क्षेत्रहरू अझै विकसित भएका छैनन् र ४० प्रतिशत आजका प्रारम्भिक बालविकासका विद्यार्थीहरूलाई कुनै प्रकारको आम्दानीका लागि स्वरोजगार हुन आवश्यक छ किनकि श्रम बजारमा मानिसको आवश्यकता कम हुँदै जानेछ।

हाम्रो शिक्षा प्रणालीले आजका विद्यार्थीहरूलाई अहिलेसम्म पनि सिर्जना नभएका कामका लागि तयार गर्नुपर्नेछ र हरेक १०० मध्ये ४० जनालाई उद्यमी बन्न तयार गर्नुछ। विद्यार्थीलाई परीक्षाको दौडमा मात्र सामेल गराउनेभन्दा व्यावहारिक ज्ञान दिने प्रणालीको विकास गर्नुपर्नेछ। तसर्थ प्राथमिक शिक्षाबाट नै व्यावहारिक शिक्षण आवश्यक भएको छ। साथै डिजिटल र स्मार्ट कक्षाकोठाभित्र प्रभावकारी र २१ औं शताब्दी सुहाउँदो व्यावहारिक शिक्षणका लागि शिक्षकहरूलाई आवश्यक ज्ञान र सिपहरू प्रदान गर्न उनीहरूको प्रशिक्षण र पेसागत वृत्ति विकास अझ अत्यावश्यक भएको छ किनकि पहिला शिक्षकलाई दक्ष नबनाई विद्यार्थीलाई भविष्यको यो नवीन डिजिटल संसारका लागि तयार गर्न असम्भव छ तर शिक्षकको पेसागत विकासका लागि सरकारको लगानी कहालीलाग्दो छ, जबकि गुणस्तरीय, आधुनिक र समयानुकूल शिक्षाको लक्ष्य हासिल गर्न सबैभन्दा अहम् भूमिका शिक्षकहरूको हुन्छ भन्ने तथ्य जगजाहेर छ।

सरकारको नीतिनियम र पाठ्यक्रमको सफलताका लागि सबैभन्दा महŒवपूर्ण भूमिका हुन्छ शिक्षकको तर हाम्रो हालको मौजुदा प्रणालीभित्र शिक्षकहरूको क्षमता र योग्यताको विश्लेषण गर्दैगर्दा शिक्षकहरूप्रति नियमनकारी निकाय, समाज र आममानिसको दृष्टि र व्यवहार कस्तो छ, कति उत्प्रेरित छन् हाम्रा शिक्षकहरू ? राज्यबाट र आम नागरिकबाट कति सम्मानित छन् हाम्रा शिक्षकहरू ? यो कुराको गहन विश्लेषण र आत्मसमीक्षा नगरी के हाम्रो शिक्षा प्रणालीमा सुधार सम्भव छ ? विद्यार्थीको सिकाइ अनुभवलाई निश्चित आकार दिन शिक्षक निर्णायक हुन्छन्। त्यसैले समग्र शिक्षा प्रणालीमा शिक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ।

त्यति मात्र होइन, एउटा बाल मस्तिष्क र मनलाई निश्चित आकार दिन, आजको दिनमा अत्यावश्यक आलोचनात्मक सोचको विकास गर्न, बालबालिकालाई जिज्ञासा, समानुभूति र अनुशासनको मूल्य सिकाउन शिक्षकको भूमिका अहम् हुन्छ। त्यसैले नै परापूर्वकालदेखि नै हाम्रो समाजमा सबैभन्दा आदर गरिने पेसा शिक्षण थियो। सुसंस्कृत देशहरूमा सबैभन्दा बढी श्रद्धा गरिने पेसा हो शिक्षक।

केही दिनअघि दुर्गम मुगुका दुईवटा स्थानीय तहका केही शिक्षकहरूसँग बालमनोविज्ञान विषयमा कार्यशालाको सन्दर्भमा भेट्ने मौका जु¥यो। करिब ६० जना शिक्षकहरूसँग केही दिन अनेक विषयमा छलफल गर्दा अधिकांशभित्र डर, त्रास अनि लघुताभास अन्तर्निहित थियो।

हामी सबैलाई थाहा छ, हाम्रो शिक्षा प्रणालीको व्यापक व्यवसायीकरणले सार्वजनिक शिक्षा धराशायी भयो। व्यापक अध्ययन नगरी हाम्रो परिवेश सुहाउँदो पाठ्यक्रमभन्दा आयातित पाठ्यक्रम जबरजस्ती लागु गर्दाको परिणाम हाम्रो प्रणालीले पश्चिमा र खाडीका लागि श्रमिक उत्पादन गर्ने उद्योग बन्यो हाम्रो देश। नेपालमा पाठ्यक्रम समयानुकूल अद्यावधिक नहुँदा हाम्रा अधिकांश विद्यार्थीहरू कुनै प्रकारको औपचारिक डिग्री लिए पनि निकट भविष्यको श्रम बजारका लागि असान्दर्भिक हुने प्रायः निश्चित छ।

शिक्षा प्रणाली यति धराशायी बन्नुमा शिक्षकहरूको दोष कति थियो ? सुधारको बाटो सरकारले अवलम्बन गर्दैगर्दा शिक्षकहरूलाई नीतिनिर्माणमा कति सामेल गराइयो ? आधुनिकीकरणको नाममा २०२८ सालमा राजाले बनाएको नेपाल नेसनल एजुकेसन कमिसनले नेपालको पाठ्यक्रममा सदाचारिता, इतिहास, राजनीतिशास्त्र तथा अर्थशास्त्र, भूगोल, साहित्य, कानुनदेखि विज्ञान आदिको उपस्थिति न्यून गर्दै पाठ्यक्रम राजतन्त्र र पञ्चायतको स्तुतिगानले भर्ने काम गर्दा कति शिक्षक बुद्धिजीवीहरूलाई सामेल गराइयो होला ? २०४६ मा प्रजातन्त्रको पुन: स्थापनापछि आधुनिकीकरणको अर्को नाममा शिक्षा क्षेत्रलाई चरम व्यापारीकरण गरी मौलिकताबिनाको पश्चिमी आयातित पाठ्यक्रम जबर्जस्ती लागु गर्दा दूरदराजमा वर्षौं अध्यापन गरिरहेका हाम्रो माटो, मनोविज्ञान, आवश्यकता र सम्भाव्यता बुझेका कतिजना शिक्षकहरूलाई सोधियो होला ?

यिनै दुई प्रश्नबाट स्पष्ट हुन्छ हाम्रो राज्य र आम समाजको मानसिकतामा शिक्षकलाई राज्यका नीतिको मात्र एउटा कार्यान्वयनकर्ताका रूपमा हेर्ने मानसिकता अझै पनि हाबी छ। जापान र नर्डिक देशहरूको शिक्षा प्रणालीबारे हामी धेरै सुन्ने र पढ्ने गर्छौं कि विद्यार्थीलाई कसरी पढाइन्छ, के पढाइन्छ आदि। तर ती राष्ट्रहरूले शिक्षकहरूप्रति गर्ने व्यवहारबारे हामी कमै चर्चा गर्छौं। उनीहरू शैक्षिक प्रणालीको सफलता निर्धारण गर्न शिक्षकहरूको गुणस्तर सर्वोपरि ठान्छन्।

शैक्षिक नीतिहरू निर्माणमा शैक्षिक माफिया होइन, शिक्षकहरूको यथेष्ट सहभागिता हुन्छ अनि शिक्षकहरूको क्षमता विकास र पेसागत वृत्ति विकासमा राज्य संवेदनशील हुन्छ। जसले गर्दा त्यहाँका शिक्षकहरू दक्ष र उत्प्रेरित हुन्छन् अनि त्यसको प्रत्यक्ष प्रभाव त्यहाँका विद्यार्थीमा पर्छ। राज्यको त्यो लगानी समाजको चेतना–स्तरमार्फत प्रतिबिम्बित हुन्छ।

एउटा उत्प्रेरित मस्तिष्कले मात्र अरूलाई उत्प्रेरित गर्न सक्छ तर हाम्रा शिक्षकहरू कति उत्प्रेरित छन् ? कति गर्छ राज्यले शिक्षकहरूको क्षमता अनि पेसागत वृत्ति विकासमा लगानी ? आम समाजको बुझाइ छोडौं, राज्यका अन्य निकायका कर्मचारीहरू प्रशासनिक अधिकार र शक्तिका कारण शिक्षकहरूलाई आफ्नो अधीनस्थ ठान्छन् र शिक्षकको आत्मसम्मानको प्रवाह गर्दैनन्।

राज्यकै निकायहरूले शिक्षकहरूको गरिमा र सम्मान कायम राख्दैनन् भने आम नागरिकमा यसको प्रभाव के पर्ला ? शिक्षकहरूलाई सम्मानित पेसा मान्ने र तिनीहरूको महत्त्व बुझ्ने समाज मात्र आज सुसंस्कृत छन्, विकसित छन् र त्यहाँको शिक्षा प्रणाली गुणस्तरीय र समयानुकूल छ।

अधिकांश दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूमा निरन्तर अनुगमन, मूल्याङ्कनको त्रास, गिर्दो आत्मसम्मान, डर भरिएको मन, सीमित स्रोतसाधन र गुणस्तरहीन शैक्षिक पूर्वाधारबीच परिणाम ल्याउनुपर्ने दबाब छ। शून्य उत्प्रेरणाबीच सुधारिएला त हाम्रो शिक्षाको गुणस्तर ? तसर्थ, राज्य संरचनाबाटै उपेक्षा गरिने प्रवृत्तिले शिक्षकहरूको मनोबलमा गिरावट ल्याउँछ।

शिक्षकको गिर्दो मनोबल नै हाम्रो शिक्षा प्रणालीको गुणस्तर सुधारको प्रमुख बाधक हो। यस समस्यालाई समाधान नगरी नेपालको शिक्षा प्रणालीको वास्तविक सुधार असम्भव छ। शिक्षकहरू शैक्षिक प्रणालीका मूल स्तम्भ हुन्। उनीहरूको भूमिका केवल पाठ्यक्रम सम्प्रेषणमा सीमित छैन। बरु, विद्यार्थीको समग्र विकासमा शिक्षकको महŒवपूर्ण योगदान हुन्छ भन्ने तथ्यलाई हामी सबैले आत्मबोध गर्न जरुरी छ।

नियमनकारी निकायहरूको भूमिका पनि निर्देशनात्मकभन्दा समन्वयात्मक हुनु जरुरी छ। शिक्षकहरूको भूमिका उपेक्षा गर्ने कर्मचारीहरूले आफ्नो दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ किनकि नियमनकारी निकायको काम केवल अनुगमन र निर्देशन मात्र होइन, शिक्षकहरूको योगदानको कदर गर्ने, उनीहरूको पेसागत सम्मानको रक्षा गर्दै शिक्षकहरूका लागि थप सहयोगी र सशक्त वातावरण स्थापना गर्न आवश्यक पहल गर्ने पनि हो।

आधारभूत शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने प्रावधान भइसकेको परिवेशमा विशेष गरी स्थानीय तहले शैक्षिक गुणस्तर सुधारको कार्ययोजना तयार गर्दा फगत हाजिर र आवधिक परीक्षाहरूको परिणामको आधारमा कुनै शिक्षकलाई पुरस्कृत र दण्डित गर्ने आफ्नो परम्परागत भूमिकाभन्दा माथि उठेर शिक्षकको आत्मसम्मान, पेसागत वृत्तिविकासको पक्षलाई आफ्नो शैक्षिक नीतिमा समावेश गर्न अपरिहार्य छ।

नेपाल सरकारले पेसालाई आकर्षित बनाउन शिक्षा सेवा आयोगको पाठ्यक्रमलाई आधुनिक र समयानुकूल बनाउँदै पेसागत विकासका लागि नियमित तालिम, आकर्षक र प्रतिस्पर्धी तलब सुविधा, कार्य वातावरणको सुधारको पक्षलाई विशेष प्राथमिकताका साथ लागु गर्न जरुरी छ किनकि शिक्षकहरूको सम्मान नगर्ने राज्य व्यवस्थाले शैक्षिक गुणस्तरको सुधारको अपेक्षा गर्नु भनेको ओसिलो काठमा आगो सल्काउने प्रयासजस्तै हो। जबसम्म हामी शिक्षण पेसालाई सबैभन्दा सम्मानित र आकर्षक बनाउन सक्दैनौं, तबसम्म गुणस्तरीय, आधुनिक शिक्षा हाम्रो सपनामा मात्र सीमित हुनेछ, हाम्रा सार्वजनिक विद्यालयहरू २१ औं शताब्दीमा पनि अयोग्य र असान्दर्भिक जनशक्ति उत्पादन गर्ने उद्योग मात्र हुनेछन्।

–मल्ल प्लानिङ डेभलपर, ई–गभरनेन्स तथा आइसिटी अफिसरका रूपमा मुगुमा कार्यरत छन्।

प्रकाशित: १९ श्रावण २०८१ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App