कला

प्रमका प्रिय राई, जो कुहिनामाथिको भागले टाइप गर्छन्!

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा गणेश राईका बारेमा एउटा ‘स्टेटस’ लेखे। दुवै हातको कुहिनामाथिको भागले कम्प्युटर टाइप गर्ने, प्रिन्ट गर्ने, इमेल र इन्टरनेट राम्रोसँग चलाउन सक्ने राई आफूसँगै काम गरिरहेको जानकारी उनले स्टेटसमार्फत दिएका थिए। राई बारम्बार ओलीको नजरमा पर्दै आएका थिए। यसपटक पनि प्रधामन्त्री भएर सिंहदरबार पुगेपछि ओलीले उनको खोजी गरेका थिए।

प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा यसअघि पनि करारमा काम गरिसकेका गणेशलाई चौथोपटक प्रधानमन्त्री भएर आउँदा कार्यरत नदेखेपछि ओलीले खोजी गरेर आफ्नो सचिवालयमा कम्प्युटर अपरेटरका रूपमा करारमा नियुक्त गरेका थिए।

‘सिंहदरबारमा मसँगै काम गर्ने गणेश ! खोटाङ काउलेका गणेश राईलाई मैले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ। दुवै हातको कुहिनाभन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो। त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर सुरु भयो।

दोस्रोपटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे। यसपटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि मैले उनलाई खोजें। अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ। अब गणेश मसँगै काम गर्ने भएका छन्। उनलाई मेरो तर्फबाट शुभकामना !’ ओलीले सामाजिक सञ्जालमा लेखेका थिए।

सुरुमै राईलाई ओलीसम्म पुर्‍याउने काम खोटाङकै पूर्वसांसद तथा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले गरेका थिए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको पुनरागमन भएसँगै आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमता भएका गणेश राईले सचिवालयमा पुनः अवसर पाएका छन्,’ उनले भने।

भट्टराईका अनुसार पहिलोपटक प्रधानमन्त्री हुँदै ओलीले राईको क्षमता देखेपछि सचिवालयमा राख्न निर्देशन दिएका थिए।

‘२०७२ सालमा पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो पटक भेटघाटका लागि लिएर गएका थियौं, त्यतिबेला उहाँको क्षमता देखेर कम्प्युटर अपरेटरका रूपमा करारमा जागिर दिनुभएको थियो,’ भट्टराईले भने। तर ओली प्रधानमन्त्रीबाट बहिर्गमन भएसँगै गणेशलाई पनि प्रतिशोधपूर्ण ढंगले हटाइएको उनको भनाइ छ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि ओलीले पुनः गणेशलाई अवसर दिएका थिए। हाल ओली प्रधानमन्त्रीको कुर्सीमा आएपछि गणेशको खोजी गरेको एमाले नेता भट्टराईले बताए। ‘प्रधानमन्त्रीज्यूले स्वकीय सचिवालयमा रहनुभएको सहसचिव विनोद कुँवरलाई राई खोइ भनेर सोध्नुभएछ। उहाँले खोज्न लगाउनुभएछ। त्यसपछि सम्पर्क गरेर उहाँलाई पुनः कम्प्युटर अपरेटरमै करारमा नियुक्त गरिएको छ,’ भट्टराईले भने।

खोटाङको जन्तरेढुंगा गाउँपालिकास्थित काहुलेका गणेश जन्मजात अपांगता भएका व्यक्ति हुन्। उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन। दिक्तेल क्याम्पस पढ्दै गर्दा अध्ययनका लागि उनलाई भट्टराईकै सचिवालयमा कार्यरत मिलन राईले काठमाडौं ल्याएर भैरव राईको होटलमा काम लगाइदिएका थिए।

‘भैरव राईले गणेशलाई काठमाडौंमा टिकाउन ठुलो भूमिका खेल्नुभएको थियो,’ भट्टराईले भने। त्यतिबेला काठमाडौंमा भैरव राईले गणेश राईलाई काम दिएर निकै ठुलो सहयोग गरेको पनि उनले बताए। ओलीपछि बनेका कांग्रेस नेतृत्व र माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा राईले कम्प्युटर अपरेटरमा काम गर्ने अवसर नपाएको उनको भनाइ छ।

भट्टराईका अनुसार राई फरक क्षमता भएका व्यक्ति भए पनि कुहिनाभन्दा माथिको भागले कम्प्युटर टाइप गर्ने, प्रिन्ट गर्ने, इमेल र इन्टरनेटसँग सम्बन्धित सबै काम गर्न सक्ने खुबी उनमा देखेपछि ओली पहिलादेखि नै प्रभावित भएको भट्टराईले बताए।

राईले स्थानीय लक्ष्मी माविमा अध्ययन गरेका थिए। त्यसपछि उनले दिक्तेल क्याम्पस पढेका थिए। काममा साह्रै मेहनत गर्ने राईलाई प्रधानमन्त्री कार्यालयका अन्य कर्मचारीले पनि प्रशंसा गर्ने गरेका छन्। ‘ओली प्रधानमन्त्रीबाट हटाइनुभएपछि गणेशलाई पनि हटाइयो। दुःखले जीविका गर्दै हुनुहुन्थ्यो,’ भट्टराईले भने, ‘फेरि केपी ओली नै प्रधानमन्त्री भएर सिंहदरबार फर्केपछि मात्र गणेशको जागिर सुरक्षित भयो।’

प्रकाशित: १५ श्रावण २०८१ ०६:५६ मंगलबार

#Prime Minister Kp Sharma Oli #Prime Minister for the fourth time #Former MP and UML politburo member Vishal Bhattarai