कला

घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ!

मुक्तक

१) मुक्तक

आँधीले उत्तानो पारेको, रूखको जरा जस्तै लाग्छ

उड्दा उड्दै कुहिरोभित्र, फसेको चरा जस्तै लाग्छ

सम्हालेर नसक्नु छन्, जिन्दगीका व्यथाहरू

पहिरोले तानेको त्यो, खेतको गरा जस्तै लाग्छ।

२) मुक्तक

के सम्झिन्छस् तैंले मलाई, हेर्दै जा आगोमा पाइला चालेर देखाउँछु

मुटुभित्र बसेको तँ, धोकेबाजलाई फालेर देखाउँछु

मबिना त केही गर्न, सक्दिन त्यो ठान्दै होलास्,

याद गर एक्लै म,पानीमा आगो बालेर देखाउँछु।

३) मुक्तक

हुन दिन्न भन्दै थिएँ, दाल चामल नुनको कमी

तिम्ले देख्यौ मेरो घरमा, हीरामोती सुनको कमी

मेरो माया लत्याएर, धनी खोज्दै गएकी छ्यौ

धनी मान्छेसँग पनि, हुन सक्छ गुनको कमी।

४) मुक्तक

बिहेअघि पिउँदिन भन्थ्यो, अचेल ऊ पिएर आउँछ

दूध किन्न दिएको पैसा, भट्टी पसलमा दिएर आउँछ

साँच्चै गाह्रो भाछ मलाई,साँझ बिहान भान्छा धान्न

घरमा भुटुन छैन भन्छु, ऊ रक्सी लिएर आउँछ।

५) मुक्तक

घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ 

यहाँ कालोलाई सेतो, सेतोलाई फेरि कालो नबनाऊ 

सम्झ नेपालीको इज्जत, पूर्खाको त्यो सान

चन्द्रसूर्य अंकित झण्डालाई, मागी खाने टालो नबनाऊ।

प्रकाशित: १४ श्रावण २०८१ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App