कला

‘शत्रु गते’लाई ५ करोड

काठमाडौं – गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले एक सातामा ५ करोड ६२ लाखको ग्रस कलेक्सन गरेको छ। फिल्मको उपत्यका वितरक बिके फिल्मस् र मोफसल वितरक एफडी कम्पनीले राजधानीमा बिहीबार पत्रकार माझ कलेक्सन सार्वजनिक गरेका हुन्।

बिके फिल्म्सका गोपालकाजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनीका विक्रम पराजुलीका अनुसार शुक्रबारदेखि बुधबारसम्म फिल्मले राजधानीमा ३ करोड २५ लाख र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको छ। गोपालकाजीले फिल्मको सुरुवाती व्यापार सुस्त भए पनि विस्तारै त्यसले गति लिएको स्वीकारे। ‘राजधानीका हलमा निकै राम्रो व्यापार गरेको छ। ‘माउथ पब्लिसिटी’को कारण दर्शक बढिरहेका छन् ,’कायस्थले भने, ‘बिदा बाहेकका दिनमा पनि दर्शकको चाप एकदमै राम्रो छ। मल्टिप्लेक्समा बिहानी र दिवा सो पछिका सम्पूर्ण सो लगभग हाउसफुल छन्।,’एफडीका विक्रमले फिल्मले मोफसलमा राम्रो कलेक्सन गरेको दाबी गरे। ‘फिल्मको कलेक्सन र दर्शक प्रतिक्रिया थाहा पाउँदा यसले आगामी दिनमा अझै राम्रो व्यापार गर्ने संकेत देखाएको छ,’ उनले भने।

फिल्मका अभिनेता हरिवंश आचार्यले हल–हलमा दर्शकमाझ पुगेर प्रतिक्रिया बुझिरहेको बताए। ‘सामाजिक सञ्जालमार्फत पाएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ। फिल्मले देशसँगै विदेशमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ ’ हरिवंशले भने।

कार्यक्रममा प्रस्तुतकर्ता किरण केसी, आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए । मह सञ्चारको व्यानरमा निर्माण भएको फिल्ममा हरिवंशकै कथा छ। फिल्ममा हरिवंश, किरण र आँचलसँगै दीपकराज गिरी, पल शाह, दीपाश्री निरौला, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, रमेशरञ्जन झा, राजाराम पौडेललगायतले अभिनय गरेका छन्।

फिल्ममा निर्देशक भट्टराई र दीपकराजको पटकथा, निर्देशक भट्टराई र कथाकार हरिवंशको संवाद, दीर्घ गुरुङको छायांकन, मित्र गुरुङको सम्पादन छ। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्यको लगानी छ्।

प्रकाशित: १६ चैत्र २०७४ ०३:४९ शुक्रबार

शत्रु गतेलाई करोड