कला

प्रधानमन्त्रीले गरे लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनप्रति दुःख व्यक्त

लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्दै प्रम ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गरेका हुन्।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय सङ्गीतकार र गायक रहेको उल्लेख गरे। “हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाइ, सबै हुनुहुन्थ्यो”, उनले ‘फेसबुक पेज’मा लेखेका छन्।

स्थानीय शोक बिदा

त्यसैगरी, जोशी (एलपी)को निधनमा आज दमक नगरपालिकाले आधा दिन स्थानीय शोक बिदा दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना प्रकाशित गर्दै स्व. जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजेपछि दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरू, शैक्षिक संस्थाहरूमा (दमक अस्पतालबाहेक) शोक बिदा दिइएको बताए।

शोक विज्ञप्तिमा स्व. जोशीले गीतसङ्गीत, साहित्य, खेलकुद तथा कलाकर्मीका रूपमा दमक मात्र नभएर सिङ्गो देशका लागि पुर्‍याएको योगदान स्मरणीय रहने उल्लेख छ।

दमक–१ निवासी स्व. जोशीको ८८ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो। आज दिउँसो कन्काई नदी किनारमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

उनले गाएको ‘रिटिङ रिटिङ नबजाऊ विनायो’, ‘वल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हौ रानाज्यू’ लगायतका दर्जनौं गीत चर्चित छन्। उनी विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित भएका थिए।

स्व. जोशीका श्रीमती बिन्दा, छोरा पूजनको निधन भइसकेको छ। हाल छोरा मिलनसहित बुहारी, नाति नातिनीसँग बस्दै आएका थिए। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन आज बिहानदेखि दमक नगरपालिका परिसरमा राखिएको छ। 

प्रकाशित: १३ श्रावण २०८१ १२:५० आइतबार

#Prime Minister Kp Sharma Oli #Folk Singer Lakshmi Prasad Joshi (LP) #Local mourning leave