कला

सुनाउन बाँकी कथाहरू

हाम्रो मुलुकमा कैयन् यस्ता कथा छन्, जसलाई सुनाउन बाँकी छ। यथार्थमै भाषा, संस्कृति र जातजातिको साझा फूलबारी नेपालमा प्रत्येकका आफ्नै कथा छन्, जसले संसारलाई आश्चर्यमा पार्छन्।

धन्य, मुलुकमा सम्पन्न २०६२-६३ को जनआन्दोलन, जसले यी पक्षलाई उजागर हुने अवसर दिएको छ। प्रत्येक जातीय सांस्कृतिक परम्परालाई बुझ्न पाइएको छ। एकात्मक समाजमा अरूलाई हेरेर सिक्ने र बुझ्ने अवसर कमै हुन्छन्। बहुआयामिक समाजको सुन्दरता बेग्लै हुन्छ।

मध्यपश्चिमको पहाड रुकुमको कथा ‘घरज्वाइँ’ले यतिबेला सिनेमाघरमा धेरैलाई बोलाइरहेको छ। तकसेरा र आसपासको गाउँको यो कथा बुझ्न २०५२ फागुन १ देखि सुरु भएको तत्कालीन नेकपा (माओवादी) को ‘दीर्घकालीन जनयुद्ध’ को प्रसङ्ग पनि बुझ्नु उचित हुन्छ।

मगर संस्कृतिभित्रका आरोह-अवरोहलाई मिहिन पाराले बुनेर पस्किने उपक्रम सिनेमामा देख्न पाइन्छ। ‘जनयुद्ध’ २०६३ सालमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि समाजमा आएको परिवर्तन र परम्परा तथा संस्कृतिमा देखिन थालेका हस्तक्षेपलाई पनि यसले बुझाउने कोसिस गरेको छ।

सिनेमामा ‘घरज्वाइँ’ दर्शन गरेर फर्केपछि प्रत्येकका मनमा मगर संस्कृति, संस्कार र परम्पराको माया लागेर आउँछ। र, यसले अन्य धेरै जातजातिका कथालाई यसरी नै ल्याउनुपर्छ भन्ने भावनालाई पनि झनै बलियो बनाउँछ।

अन्य सिनेमामा झैं यसमा पनि अहिलेका चर्चित नायक दयाहाङ राई जमेका छन्। अझ यो कथाका पात्रमा उनी गहिरो गरी भिजेका छन् ‘सोरो’का रूपमा। अर्की पात्र हुन् मिरुना मगर, जो ‘बिन्जुरी’का नामले सिनेमामा छाएकी छन्। यिनका पिता बनेका छन् शिशिर वाङ्देल। उनी आफ्नी एक मात्र छोरी त्यसैलाई दिन चाहन्छन्, जो घरज्वाइँ बस्न तयार हुन्छ।

विशेष गरी क्षेत्री–बाहुन समाजमा ज्वाइँको निकै ठुलो प्रभाव हुन्छ। ज्वाइँलाई जसरी पनि खुसी पार्नुपर्ने हुन्छ। मगर समाजमा त्योभन्दा भिन्न ज्वाइँले आफूलाई पुष्टि गर्नुपर्ने सांस्कृतिक र परम्परागत चलन छ। यस्तो अद्वितीय परम्परा पश्चिम नेपालको रुकुममा छ, जुन परम्परा देशका अन्य भागका मगर समाजमा पनि देख्न बिरलै पाइन्छ। त्यसलाई सिनेमाले विभिन्न संकेत र बिम्बमार्फत देखाउन खोजेको छ। सिनेमामा प्रयुक्त रंग, परम्परागत सामग्री र प्रकाशका माध्यमबाट कथा भन्न सिपालु छन् यसका निर्देशक अनिल बुढा मगर।

यो सिनेमा नेपाली समाजमा ‘माओवादी जनयुद्ध’ पछि परेको प्रभावको अध्ययन सामग्री पनि हो। ‘जनयुद्ध’ अघि समाज आफ्नै प्रवाहमा थियो। ‘जनयुद्ध’ सँगै समाजमा पार्टीको सशक्त उपस्थिति रह्यो। त्यहाँ कुनै न कुनै रूपमा पार्टीलाई सुन्नुपर्ने अवस्था नआएको होइन। पछि पार्टीका तिनै पात्रले समाजलाई पनि सुन्नुपर्ने अवस्था महसुस गर्छन्।

विशेषगरी जनजाति बहुल समाजमा पार्टीले जाँडरक्सी रोक्नेदेखि परम्परादेखि चलिआएका केही चालचलनमा हस्तक्षेप गरेको थियो। देउपितृलाई समेत नभइनहुने मदिराजन्य पदार्थको प्रयोगमा रोक लागेको पनि हो। रोदीघरजस्ता व्यवस्थामाथि कुनै न कुनै रूपमा हस्तक्षेप भयो।

‘जनयुद्ध’ का बेला एकथरी मानिस गाउँमै बसे। तिनले माओवादी र तिनका नेता तथा कार्यकर्ताले लागु गर्न खोजेका विषयवस्तुलाई स्वीकार गरे। आफूलाई तिनै अनुकूल ढाल्दै पनि गए। केही भने त्यो बेला गाउँमा बस्न नसकी सहरतिर गए।

शान्ति प्रक्रियासँगै ती गाउँमा फर्किए। त्यहाँ बसेर तिनले आफूलाई सक्रिय गराउन थाले। गाउँ छाडेर हिँडेकाहरूमा सहरको छाप हुने नै भयो। त्यसले पनि गाउँमा रहिरहेकाहरूसँग द्वन्द्वको अवस्था आयो। यो सिनेमामा यो प्रसङ्गले पनि राम्रै ठाउँ पाएको छ।

सिनेमामा देखिएका लाहुरे, झाँक्री आदिजस्ता अनेकन् पात्र छन्। ती समाजका यथार्थ हुन्। गाउँघरमा देखिएका विवाद सल्टाउने पनि आफ्नै तरिका छन्। कसले कहाँनेर आफूलाई झुकाउनुपर्ने र कसरी उपस्थित हुनुपर्ने भन्ने छ। बिहावारीका परम्परागत मूल्य तथा मान्यताभन्दा अगाडि गएर आफ्नो जोडी खोज्न अभिशप्त वर्तमान पुस्ताका आफ्नै संघर्ष–कथा छन्।

समाजमा आइरहेको त्यो परिवर्तनको उच्छवासलाई सिनेकथामार्फत प्रस्तुत गर्नु निकै रोचक कार्य हो। स्थानीय लवज र अभ्यासमा हुने कतिपय अभिव्यक्ति सिनेमामा यथावत् नै प्रस्तुत हुँदा बढी सहज लाग्छ तर यो सिनेमामा चाहिनेभन्दा बढी नै सेन्सर बोर्डको कैंची चलेको छ। भविष्यमा यस्ता सिनेमामा बोलिने संवाद यथार्थपरक नै हुनुपर्छ भन्ने सोच आउनु जरुरी छ।

हाम्रो परम्परागत समाजमा प्रेमको प्रदर्शन अत्यन्तै भव्यतापूर्वक हुन्छ। त्यहाँ बोल्दै नबोली र शरीरलाई छुँदै नछोई प्रेम प्रकट हुन्छ। विगतमा कैयन् नेपाली सिनेमाले द्वन्द्वलाई दर्शक तान्ने औजारका रूपमा लिने गरेको देखिन्थ्यो। यो सिनेमामा पनि केही द्वन्द्व देखिन्छ तर हिंसालाई धेरै ठाउँ दिइएको छैन। कोरियाली सिनेमामा जस्तो कतिपय बिम्बमार्फत प्रेम प्रदर्शन गर्नु आफैंमा लोभलाग्दो अवस्था हो।

गाउँघरका मेलापर्व आफैंमा समाजलाई गतिशील तुल्याउने माध्यम हुन्। भलिबल खेलमा रुचि राख्ने महिलाहरूको उपस्थिति छ। विवाहदेखि मृत्यु संस्कारसम्मको प्रस्तुतिले सिनेमा ती परम्परागत अभ्यासको अभिलेखीकरणजस्तो पनि हुन पुगेको छ।

यस्ता विषयमा सिनेमा बनाउनु भनेको नेपालका विभिन्न जनजातिका परम्परा र संस्कृतिप्रति गौरव गर्ने अवसर पनि हो। यस्ता कैयन् कथा छन्, जसले अझै सिनेमाको पर्दामा पुग्ने अवसर पाएका छैनन्। ‘घरज्वाइँ’ले त्यसका निम्ति बाटो खोलेको छ।

त्यति मात्र होइन, हिजोजस्तो चकलेटी अनुहार भएका नायकलाई प्रस्तुत गरेर काल्पनिक कथाका निम्ति दर्शक तान्नुपर्ने पीडादायी अवस्थाबाट नेपाली सिनेमा अगाडि बढ्न थालेको संकेत मिलेको छ। यथार्थपरक विषयमा गाउँघरमा जस्तो अनुहारका मानिस छन्।

त्यस्तै नायकको उपस्थिति भएका सिनेमा बन्न थालेका छन्। यस्ता यथार्थवादी कथालाई दर्शकले पनि तान्न थालेका छन्। ‘घरज्वाइँ’जस्ता सिनेमाले नेपाली दर्शकलाई सिनेमाघरसम्म लैजान सहज बनाउनेछ।

सर्त एउटै छ- अब समय आएको छ, सुनाउन बाँकी कथाको। चर्चित निर्देशक नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ हेरिरहेका दर्शकले लगत्तै ‘घरज्वाइँ’लाई भेट्न पाउनु यही उपक्रमको गतिलो प्रयास हो। नेपाली सिनेमाको सही बाटो फेला पर्न थालेको यो शुभ संकेत पनि हो।

@gunaraj

प्रकाशित: १२ श्रावण २०८१ ०७:१४ शनिबार

#Story #language #culture #caste