कला

अक्षरको एम्बुसमा: दुर्घटित पात्र

कविता

मेरो छातीमा टेकी

तिमी उमार्छौ -गुलाफको विरुवा

सुगन्धको पराग छरी

युद्धमा लोग्ने मरेको

युवतीको उजाड सिउँदो जस्तै कागजमा

कैद गर्छौं मेरो सौन्दर्यलाई

शब्द शिविरमा उतार्छौ

मेरो मादकता

भावहरूको स्पर्शले

पिउछौ-मेरो योवनलाई।

के तिमीलाई थाहा छ!

तिम्रै कलमको प्रहारले

म शुष्क बनेकी हुँ

पढ्दै नपढी मेरो हृदयलाई

तिम्रो कवित्वले

मैले तिर्नै नसक्ने प्रेमको मूल्य माग्यो

बस,

त्यही दिनदेखि

म तिम्रो कविताको गहिराइभित्र हराए

रहरको राजमार्ग भत्कियो

आफ्नै वर्तमान शरणार्थी भयो

एक्लै हाँस्न बिर्सिए।

आफ्नो सतह मिलाउन  

नदरूले धेरै पल्ट

किनारा भत्काएझैं

तिम्रो कविताले पलपल भत्काई लेख्छ

सिङ्गो अध्याय

जीवनको मध्य पृष्ठमा

मनको एक कुनामा उभिएको सालिक

मेरो यात्रालाई रोक्छ।

तिमी मनको बाँझोलाई उर्वर देख्छौ

जूनको उज्यालो खसाउँछौ

हरियो प्रेम पोखेर पानामा 

बिम्ब र प्रतिकले सिगार्छौ

आखिर किन!

जीवनका उर्वर खेतहरूमा

छर्न, रोप्न र उमार्न चाहन्नौ भने

कलमको जुवामा नारेर  

मन चिराचिरा बनाई

मुटुको टारबारीमा

किन जोत्छौ मलाई

आत्मा टुक्राटुक्रा बनाई

किन छर्छौ!

एक फोगटो कागजी खेतमा।

प्रिय कवि,

तिम्रो अक्षरको एम्बुसमा  

पलपल दुर्घटित छ मेरो जीवन।

तिम्रो कविताले तिर्न सक्छ!

मेरो खण्डहर जीवनको मुल्य

कि दिन्छौं  

मृत्युपर्यन्त ताजमहल

म नागबेली पर्दै बगेको आँसुसँगै 

सिङ्गमरमर अगालो हाली  

युगौ बाचौला।

प्रकाशित: ११ श्रावण २०८१ ११:१९ शुक्रबार

# Poem