कला

कर्मचारीद्वारा पुस्तकालयलाई पुस्तक हस्तान्तरण

डा. पुरण राईका विभिन्न विद्याका पुस्तकहरू साब्लाबुङ पुस्तकालय अभियानलाई नेपाल एयरलाइन्सका कर्मचारीहरूद्वारा हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका ६० पुस्तकहरू जीवनी र समालोचना डायस्पोरा: लाहुरे स्रष्टा र कविता, सिद्धान्त र समालोचना आप्रवासी नेपाली कवितामा अलङ्कारविधान, वसन्त रितु उपन्यास, अस्तु कथासंग्रह, डरका विम्बहरू कोभिड डायरी र लासमाथिको मानवता नाटकसंग्रह रहेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्सको यात्रुसेवा विभाग अन्तर्गत कार्गो युनिटका कर्मचारीहरूले साब्लाबुङ पुस्तकालय अभियन्ता राजकुमार राईलाई पुस्तकहरू हस्तान्तरण गरेका थिए।

युनिटका कर्मचारीहरू कमल ज्ञवाली र देवीलाल दाहाल, उमेश केसी, लोकेन्द्र अर्याल, रवीशङ्कर शाह, कल्याण जी झा, कल्पना घिमिरे, लेखक डा. पुरण राई लगायतका उपस्थिति थिए भने पुस्तकहरूको हस्तान्तरण कमल ज्ञवाली र देवीलाल दाहालले गरेका थिए।

साब्लाबुङ पुस्तकालय अभियानका अभियन्ता राजकुमार राईले आठ वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएका छन्। हालसम्म उनले ८ जिल्लाको २१ पुस्ताकालयलाई ८० लाख रूपैयाँ बढीका विभिन्न विद्याका पुस्तकहरू वितरण गरिसकेका छन्। जसमा ३४ लाख बराबरका पुस्तकहरू विभिन्न लेखकबाट सहयोग भएका छन् भने बाँकी ४६ लाख रूपैयाँका पुस्तकहरू आफ्नै लगानीमा वितरण गरेका छन्।

साब्लाबुङ पुस्तकालय अभियन्ता राजकुमार राई लेखक तथा समाजसेवी पनि हुन्। उनका हालै किवाहाङ उपन्यास प्रकाशन भएको छ। उनी हङकङको आप्रवासमा रहेर देशका लागि यस्तो सुकर्म गर्दै आएका छन्।

प्रकाशित: ८ श्रावण २०८१ १२:१८ मंगलबार

#Employee #Handover of books to Pustakalaya #Sablabung Library