कला

कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले!

मुक्तक

१) मुक्तक

आधालाई आधै भनिन्छ भरी भनिंदैन

शत्रु नै किन नहोस् मनपरी भनिंदैन

फल थेग्नलाई पनि त झुक्छ हाँगो,

बुझौं गल्ती गरेर मात्र सरी भनिंदैन।

२) मुक्तक

कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले

आफू रोएर अरूलाई शीतलता दिन्छ बादलले

अरूलाई खुशी पार्न मूल्य चुकाउनुपर्छ हजुर,

आफू खिएरै भए पनि सुन्दरता भर्छ गाजलले।

३) मुक्तक

आफू गलत भएर अरू सही कहाँ लाग्ने छ

लाग्छ, जब आफ्नो कमजोरी थाहा लाग्ने छ

अरूसँग तुलना गर्न छोडौं त आफूलाई हजुर,

तब मात्र आफू आफैंलाई आहा लाग्ने छ।

४) मुक्तक

मकैसँगसँगै कैयौं घुनहरू पनि त भुटिन्छन् हजुर

सँगसँगै हिंडेका पनि बीच बाटामै छुट्टिन्छन् हजुर

घाम नहुँदा छायाले समेत साथ छोडिदिन्छ चट्टै,

हजार सहयोग गरेर लाखौं लाख लुटिन्छन् हजुर।

५) मुक्तक

जोस सेलाउन सक्छ तर बानी सेलाउँदैन

कसले भन्यो उम्लिएको पानी सेलाउँदैन

बन्दुकको गोली जस्तो होइन मायाप्रेम,

सजिलै त अतीतका कहानी सेलाउँदैन।

प्रकाशित: ७ श्रावण २०८१ ०९:२९ सोमबार

# Muktak #Laghukatha