कला

कथाकार डा. चित्रकुमार मावो लिम्बूको ‘डोलीभर्ना’ सार्वजनिक

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावो लिम्बूको ‘डोलीभर्ना’ कथासंग्रह सार्वजनिक भएको छ। प्रतिनिधिसभाका सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले ‘डोलीभर्ना’ कथासंग्रहकाे सार्वजनिक गरेका छन्।

सार्वजनिक गरिएकाे साे कृतिमाथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले टिप्पणी गरेका थिए। उक्त कथासंग्रह साङग्रिला बुक्सले बजारमा ल्याएको हो।

पूर्वी नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समाजको मुन्धुमी संस्कृति, सामाजिक अवस्था, सभ्यता, दर्शन र जीवन पद्धतिमा आधारित कथासंग्रह ‘डोलीभर्ना’ मा लिम्बू समुदायको संस्कृति, रहनसहन, मनोविज्ञान र आचरणले निम्त्याएको दुर्दशाप्रति सचेतनाका भावहरू पोखिएका छन्।

कथाकृतिले नेपालको सुदूरपूर्वको पहाडी परिवेशलाई चिनाउन खोजेको छ। कथाकार डा. मावो भन्छन्, ‘डोलीभर्ना नेपाली आख्यानमा नयाँ शैलीको प्रयोग र भरपर्दो सूचनाको आधार हो।’

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खे एकदुई घरबाहेक अधिकांश लिम्बू समुदाय बसोबास गर्ने क्षेत्र हो। मामाङ्खेको अर्को विशेषता भनेको त्यहाँ बसोबास गर्ने लिम्बू समुदायका सदस्यमध्ये ९५ प्रतिशत बढी मावो लिम्बू समुदायका मानिस बसोबास गर्छन्। त्यही मामाङ्खेमा जन्मिएका  कथाकार लिम्बूले नेपाली साहित्यमा विद्यावारिधि गरेका छन्।

डोलीभर्नामा १५ कथा सङ्गृहीत छन्। राजनीतिक,सामाजिक र सांस्कृतिक मनोविज्ञानका सुझबुझ भएका कथाकार मानवीय अनुभवलाई सामाजिक जीवनमा प्रयोग गर्न सक्ने व्यक्तिको रूपमा परिचित छन्।

कथासंग्रहभित्र समाजमा सांस्कृतिक जटिलताका कारणले पछि परेका मानिसहरूको जीवन र नियतिका कुरा उठाउँदै सुखद् भविष्यको खोजीको आधार केलाइएको छ। जातीय विभेदको विरोध, लैङ्गिक समानताको वकालत र वर्गीय दृष्टीकोणका आधारहरू कथामा पस्किएका छन्।

प्रकाशित: ६ श्रावण २०८१ १२:५८ आइतबार

# Dolivarna # Katha Sangraha