कला

सेतु

लघुकथा

भड्किलो पहिरन, महँगा गरगहना, साँझबिहान रेस्टुरेन्टको खुवाइ हाँसीखुशी भेटिन्छ्न् विकाश र विना।

एकदिन म पढिरहेको देखेर ‘जागिर पास गर्न सक्ने होइन,आइमाईले धेरै पढेर के काम?’भनेका थिए।

सधैं हँसिलो र स्वास्थ्य देखिने विकास हिजोआज फेरि अस्वभाविक देखिन थालेको छ रे। प्रेसर बढेर काँचै तितेकरेला कोपर्दै हिंड्छ भन्छन्।

फेरि विना पनि मलेसिया गएर सम्पर्कविहीन भा’की छन् भन्ने सुनें।

मन मानेन। वास्तविकता बुझ्न गएँ। पतिपत्नी बीच कुराकानी नभएको वर्षौं भएछ। छोडपत्र गर्ने सोच रहेछ उसको।

मैले गाली गरें,‘छोडपत्र समाधान हो? विनालाई झिका।’

‘मेरो पाँच वर्षको पसीनाको कमाइ र जायजेथा डुबाएर हिंडेकी छ’ भन्यो।

धेरै प्रयासपछि विना सम्पर्कमा आइन्।

जीवनप्रतिको आशा मारिसकेर विक्षिप्त रहिछन् उनी। जति सम्झाउँदा पनि आउँदिन भनिन्।

मैले धेरै कर गरेपछि ‘श्रीमान् र साहुहरूले मार्छन्’ भनिन्।

क्षतिपूर्तिस्वरूप बदलामा जीवन दिन सकिंदैन भने जीवन लिने अधिकार पनि कसैलाई छैन। राज्यले त कसैको ज्यान लिन सक्दैन भें तिमीलाई मार्न सजिलो छ? सबै तारतम्य मिलाउँछु भनें।

उनी मलेसियाबाट सिधै मेरै घरमा आइन्। भोलिपल्टै उनीहरूको गुनासो सुनें र आफ्ना कुरा राखें।

यो पैसो भन्नु आफैंमा कागजको खोस्टाबाहेक केही होइन। विना सहित तपाईंहरूको विश्वासमा कसैले घात गयो। विना स्वयं पीडित छन्।

तपाईंहरूको कार्य गैरकानुनी भएकाले कतै उजुरी लाग्दैन। बरु विनालाई डर, त्रास र धम्की दिएर परदेशिन बाध्य पार्नुभएकाले कानुनले समाउँछ तपाईंहरूलाई।

मेरो विश्वास गर्नुहुन्छ भने सबै सदस्य खोजेर बराबर हिस्सा भाग लगाउनुस् र सबैको पैसा सबैले तिर्नुस्। कल्याण त्यसैमा छ।

मेरो कुरामा सबै विश्वस्त भए। विनालाई विकासको जिम्मा लगाएँ।

त्यो दिन उनीहरूको मुहारमा मलाई ‘जागिर पास गर्न नसकेपछि आइमाईले पढेर के काम?’ भनेको पश्चात्तापका चिन्ह सलबलाएका प्रष्ट देखिन्थे।

मलाई भने ढुकुटीले दुई किनार बनाएको उनीहरूको संसार जोड्ने सेतु बन्न सकेकोमा परम सुखानुभूति मिल्यो।

प्रकाशित: ४ श्रावण २०८१ ०९:२६ शुक्रबार

# Laghukatha #Flamboyant dress