कला

गीतकार अधिकारीका तीन गीति कृति सार्वजनिक

न त भावलाई बुझ्यौ

न त मायालाई बुझ्यौ

यो गीतकाे बाेल रहेकाे ज्योतिष पण्डित तथा गीतकार डा. रुद्रनाथ अधिकारीको ‘बुझ मायालु’ सार्वजनिक भएको छ। सँगैसँगै ‘यसपालिको तीजमा’ र ‘यस्तै रहेछ भाग्य’ गीति कृति पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा गीतहरूको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो।

ज्योषित विज्ञानमा विद्यावारिधि गरेका अधिकारीले पछिल्लो नेपाली समाज खासगरी युवा वर्गमा देखिएको विसंगत पक्षलाई ज्योतिषीय कोणबाट पनि समाधान गर्न सकिन्छ भन्ने सामाजिक सन्देश दिन खोजेका छन्।

गीतकार अधिकारीले गीति लेखन र नेपाली गीत–संगीतका बारेमा आफ्नो अनुभव बाँडेका थिए। संगीतका सूत्रधार भगवान् शिवबाट शिलान्यास भएको संगीत संसारभरका व्यक्तिका मनमनमा व्यापकता पाउँदै आजको युगमा अपरिहार्य विधाका रूपमा स्थापित हुन सकेको र आफू पनि यस विधासँग जोडिन पाएकोमा खुसी व्यक्त गरे।

नेपाली सांगीतिक क्षेत्रका व्यक्तित्वहरूका माझमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, गीतकार चुडामणि देवकोटा, गीतकार आन्नद अधिकारी, कवि गीतकार विश्व वल्लभ गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतले गीतकार अधिकारीका कृतिमाथि समीक्षा गरेका थिए।

प्रमोद खरेल, शान्तिश्री परियारलगायतका गायकगायिकाको स्वरमा तयार परिएको कृतिमाथि निर्देशक कृष्णदेव रूपाखेतीले निर्देशन गरेका थिए। लमजुङ जिल्लामा २०२५ सालमा जन्मिएका डा. अधिकारीका दुई दर्जनभन्दा बढी गीतहरूलाई गायक–गायिकाले स्वर प्रदान गरिसकेका छन्।

प्रकाशित: २९ असार २०८१ १२:४० शनिबार

#Astrologer and lyricist Dr. Rudranath Adhikari