कला

डा. दामोदर पुडासैनीका झरीसम्बन्धी पाँच कविता

१) झरी

अस्तितिर खडेरी चल्यो

रूखपात खङ्ग्रङ्ग सुके

उठनै नसक्ने गरी सुके बालीनाली र पानीका मुहानहरू

“हरहर महादेउ पानी देऊदेऊ” को भाकामा

पानी मागे गाउँलेहरूले

विवाह गराइदिए भ्यागुत्ता र भ्यागुत्तीको

असार लागेपछि

पानी आफैं बर्सिन थाल्यो

झरी चल्न थाल्यो लगातार

ढल्न थाले मन्दिर, मस्जिद र गीर्जाघर

बाढीले बगाइरहेको मनको संकट छेक्न नसकेर

भगवान् आफैं भागिरहेछ ब्ल्याकहोलभित्र

झरी आइरहेछ समयभन्दा अझ हतारमा

दुखको झरी छेक्न भने

न भरोसा आयो कतैबाट, न उभियो कतै भगवान।

२) झरी

घर अघिल्तिर धूपीको बोटमा

रातभर रूझिरहेको चरी

रूझिरहेछ अहिले पनि

उता झरीले नै बगाइरहेछ

घर, खेत, वस्तुभाउ र अन्नअनाजहरू

बगाउँदा बगाउँदै केही छैन बगाउन बाँकी अब

बाँचुन्जेल छोडनेरहेनछ एउटा मनले

मन पनि अहिले झरी बनिरहेछ।

३) झरी

मान्छेको मन धमिलिएरै हो

हावा धमिलिएको

पानी धमिलिएको

जून धमिलिएको

घाम धमिलिएको

बिरूवा धमिलिएको

र, मान्छे स्वयं धमिलिएको

झरी

आकाशबाट होइन

झर्नुपर्ने नै हो मनबाट

पखाल्नु छ सँसारको सबै धूलोमैलो

र, उभ्याउनु छ निक्खर

जन्मजात संसार।

४) झरी

तुलसी पातमाथि

झरी बर्षेपछि

आमाले लिप्न थाल्नुभयो

मान्छेका ओठहरूमाथि उज्यालोको रंग

र, बाबाले बालिदिनुभयो

आकाशदीप

झरी रोकिएपछि

तुलसीको मठमाथि ठड्याइएको छ

खियाले खाइरहेको एउटा दुर्गन्धी डस्टविन।

५) झरी

म झरी बनेर झरेँ

झर्दा झर्दै जगाएँ तिमीलाई

तिमी त शुष्क थियौ

एक्लो थियौ

र, उदास थियौ

म झर्न थालेपछि मात्र

तिमीमा उम्रन थालेको हो जरा

फक्रन थालेको हो उत्साहको इन्द्रेनी

र, तिम्रै टाउको माथिल्तिर उभिन थालेको हो

आमाको निधारको टिकाभन्दा चहकिलो

एउटा लक्काजवान घाम

म झरेँ

र,सिध्दिएँ

अरूका लागि सिध्दिनेहरूको

खै कसले राखेको छ र हिसाबकिताब?

प्रकाशित: २८ असार २०८१ ११:५३ शुक्रबार

#jhari sambandhi kabita # Khaderi