नेपाल प्रज्ञाप्रतिष्ठानको ४१ औं प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए। उनले प्राज्ञिक सत्ताले राजनीतिलाई समेत निर्देशित गर्छ।प्राज्ञिक क्षेत्रले सम्पूर्ण संस्कृति निर्माण गर्ने सामर्थ्य राख्छ। प्रज्ञाप्रतिष्ठानले सामान्यभन्दा खोजअनुसन्धानमूलक अब्बल कृतिहरू मात्र प्रकाशन गर्ने हो। कुनै पनि चाकडीबाज लेखकले सत्ताको स्तुति गर्छ। खास लेखक साहित्यकारले विद्रोही चेतनासहित आलोचनात्मक दृष्टिकोण राख्न सक्नुपर्छ। साहित्य जहिल्यै राजनीतिबाट निरपेक्ष होइन, सापेक्ष नै रहने बताएका थिए।
प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले ४१ औं प्राज्ञसभाको उद्घाटन सत्रमा स्वागत मन्तव्य राखेका थिए। उनले हाम्रा अग्रज विद्वानहरूको पदचिन्हबाट नै साहित्यकार बनेका हौं। आज घनिभूत छलफल हुँदै गरेको प्राज्ञसभा पनि त्यसकै उपज हो भनेका थिए।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रज्ञाप्रतिष्ठान सैद्धान्तिक र व्यवहारिक पक्षका साथ अघि बढ्नुपर्ने बताउँदै एकल भाषिक स्वरूपबाट मुक्त हुँदै बहुभाषिक र विविधतामा पुग्दै छौं, यो हाम्रो मुटु हो। हामीले लहडबाजीमा नभई कसका लागि साहित्य सिर्जना गर्दै छौं, विद्वान्हरू स्पष्ट हुनु जरुरी भएकाे बताए। उनले प्राज्ञिक निकायलाई सरकारले पर्याप्त बजेट दिनुपर्नेमा जोड दिएका थिए।
उक्त समुद्घाटन समारोहमा सङ्गीत तथा नाटय प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव ध्रुवचन्द्र गौतम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सरस श्रेष्ठले ४१औं प्राज्ञसभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको उद्घोषण नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गरेका थिए।
प्रज्ञाप्रतिष्ठानका कुलपति राईको अध्यक्षतामा सुरु भएको ४१ औं प्राज्ञसभाको बैठकसामु सदस्य सचिव डा. सुवेदीले कार्यसूची प्रस्तुत गरेका थिए।
उक्त कार्यसूचीमाथि सम्पूर्ण प्राज्ञसभा सदस्यले आआफ्नो धारणा राखेका थिए। यसपटक वास्तवमै विशद् छलफल भएको थियो। नेपाल प्रज्ञाप्रतिष्ठानको चालु आव २०८०/०८१ को आयव्यय तथा कार्यक्रमहरूमा छलफल प्रज्ञासभामा गरिएको थियो। बैठकले आगामी आव २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रमहरू पारित गरिएको थियो। नेपाल सरकारबाट प्राप्त वार्षिक अनुदान र आन्तरिक स्रोत गरी २३ करोड ६४ लाख १० हजारको बजेट सभाले पारित गरेको थियो।
प्राज्ञ चेतनाथ धमलाका अनुसार प्राज्ञसभाले नेपाल प्रज्ञाप्रतिष्ठानका आगामी नीति तथा कार्यक्रमहरू पारित गरिएको थियो। जसअनुसार प्रज्ञा नेपाली बृहत् शब्दकोश परिमार्जन र विस्तार तथा प्रज्ञा नेपाली व्याकरणको लेखन, सङ्घीय गणतन्त्र नेपाललाई समग्रमा चिनाउने गरी नेपाल दिग्दर्शन ग्रन्थ प्रकाशन गर्ने, नेपालको मौखिक इतिहासको सङ्कलन तथा अभिलेखनको कामको थालनी र निरन्तरता गर्ने, नेपालमा बोलिने विभिन्न मातृभाषाको कोश तथा व्याकरण लेखनको कामलाई निरन्तरता दिने, प्रदेश तथा पालिकास्तरका प्रतिष्ठान तथा साहित्यिक संस्थाहरूसँगको सहकार्यमा भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धानका साथै गोष्ठी र अन्तरक्रिया सञ्चालन गर्ने रहेकाे थियाे।
त्यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानको वार्षिक उत्सव, अन्तर्राष्ट्रिय दर्शन दिवस, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, अन्तर्राष्ट्रिय अनुवाद दिवस, विश्व कविता दिवस, विभिन्न स्रष्टाको स्मृति दिवस आदिमा साहित्यिक गोष्ठी र अन्तरक्रिया आदि कार्यक्रम गर्ने, नेपाली भाषाबाट विभिन्न मातृभाषा तथा विदेशी भाषामा, मातृभाषाबाट नेपाली तथा विदेशी भाषामा र विदेशी भाषाबाट नेपाली तथा मातृभाषाहरूमा विभिन्न कृतिको अनुवाद तथा प्रकाशन गर्ने, नेपाली जनताको सङ्घर्ष, बलिदान र वीरताको गाथा एवम् सौन्दर्यात्मक मूल्यको खोजी र स्थापनाका लागि कार्य गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठानले यसअघि प्रकाशित गर्दै आएका विभिन्न जर्नल-पत्रिकाहरू प्रकाशन गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठानबाट स्थापित पुरस्कारहरूमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप विस्तार गरी प्रभावकारी बनाउने, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रकाशनहरू देशका विभिन्न स्थानमा पुरयाउन पहल गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठान पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रूपमा विकास गर्ने,नेपाल प्रज्ञाप्रतिष्ठानबाट यसअघि हुँदै आएका र गरिंदै आएका योजना तथा कार्यक्रमलाई थप प्रभावकारितासहित व्यवस्थित बनाउने, साहित्यका कविता, आख्यान, निबन्ध, गजल र नाटक आदि विधामा राष्ट्रिय एवम् क्षेत्रीय महोत्सवहरू, भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रका विषयमा कार्यशाला र गोष्ठीहरू सञ्चालन गर्ने लक्ष्यसहित आव२०८१/०८२को लागि उक्त नीति तथा कार्यक्रम प्रज्ञासभाबाट पारित भएको थियो।
प्रकाशित: २४ असार २०८१ ०८:२८ सोमबार