कला

स्रष्टा समाजको योगमाया सम्मान अर्पण र स्रष्टा दर्पण लोकार्पण

नेपाल स्रस्टा समाजको आयोजनामा महामना योगमाया दिवस सम्मान अर्पण तथा स्रस्टा दर्पण परशु प्रधान स्मृति अङ्कको लोकार्पण गरी मनाइयो।

दिव्य शताब्दी पुरुष तथा मानव अधिकारबादी अगुवा डा. गौरी शंकरलाल दासको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा योगमायाको व्यक्तित्व परिचित गर्न अभियान सञ्चालन गर्ने अभियन्ता कविता चापागाईलाई ५०,१११। रूपैयाँ नगद सहित योगमाया अभियन्ता सम्मान २०८१ ले सम्मान गरियो।

यसैगरी समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने शान्ता चौधरीलाई २५,१११। रूपैयाँसहित योगमाया राष्ट्रिय नारी सम्मान २०८१ द्धारा सम्मानित गरियो। सम्मानित व्यक्तिहरूलाई प्रमुख अतिथि,स्रष्टा समाजका अध्यक्ष, न्यौपाने समाजका अध्यक्ष लगायतले सम्मान गरे।

यसैगरी सोही अवसरमा स्रष्टा दर्पण पूर्णाङ्क ३१, परशु प्रधान स्मृति अङ्कको लोकार्पण समेत सम्पन्न भयो। उक्त स्मृति अङ्कमा ४२ जना विभिन्न साहित्यकार,स्रष्टाहरूले विभिन्न समयमा वरिष्ठ आख्यानकार स्व.परशु प्रधानका बारेमा लेखेका संस्मरण, समीक्षा,अन्तर्वार्ता आदि संग्रहित छन्।

प्रमुख अतिथिले उतिबेलाको समाजमा परिवर्तनकारी, स्वनामधन्य योगमाया जो हुकुमी शासनको विरुद्ध लाग्नुभयो,उहाँ युगान्तकारी र अमर तपस्विनी हुनुहुन्छ,उतिबेला नारीस्वर मुखरित हुने कुरा चानचुने कुरा होइन्। योगमायाको त्यो योगदान उतिबेलाको विश्वलाई नै अदभुत रूपमा चकित पार्ने कार्य थियो भन्दै भोजपुर सिम्लेमा जन्मेकी तपस्विनी योगमायाको कर्मथलो जाने रहर जागेको बताए।

सम्मानित व्यक्तित्वहरूलाई बधाई दिदैं उतिबेलाको समाजको विकृतिविरुद्ध जलसमाधि लिने योगमाया श्रद्धाको पात्र भएको भन्दै यस्तो महान् व्यक्तित्वको स्मरणमा गरिएको पवित्र कार्यक्रममा उपस्थित हुने सौभाग्यको निम्ति आयोजकलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा सम्मानित चापागाईले योगमायाको योगदानको चर्चा गर्दै नेपालको पाठ्यक्रममा संलग्न उनको बारेको भ्रम उत्पन्न हुने खालको अपूरो विषय राखिएकाले त्यसको बारेमा सोच्न जरुरी भएको बताइन्। उनले योगमायाका विवाह, बालविधवा जस्ता विषयमा पनि भ्रम छरिएको हुँदा सबैले सत्य के हो बुझ्न जरुरी हुने बताइन्। योगमाया सन्त स्वामी राम जस्ती हुन् भन्दै आफू सम्मानित भएकोमा आयोजकप्रति धन्यवाद व्यक्त समेत गरिन्।

अर्का सम्मानित व्यक्ति चौधरीले जल समाधिका लागि आफू मात्र नभएर थुप्रै अनुयायीहरूलाई समेत उत्प्रेरित गर्न सक्ने क्षमताकी योगमायाको जन्म अहिले पनि आवश्यकता भएकोमा जोड दिइन्। साथै उनले आफूले सानै उमेरदेखि कम्लरीको रूपमा जमिन्दारको घरमा बेहोर्नुपरेको दुःख बताउँदै भावुक बनिन्। पुरस्कार कम्लरीबाट दुख पाएका महिलाहरुको निम्ति खर्चने घोषणा पनि उनले गरिन्।

यसअघि योगमायाको बारेमा धेरै खोज अनुसन्धान र अध्ययन गर्ने प्राडा गोविन्दमानसिह कार्कीले सम्मान छनोट समितिको तर्फबाट आफ्नो मन्तव्य राख्दै आफूहरूले चयन गरेर भर्खरै सम्मानित गरेका व्यक्तिहरूलाई चयन गर्दा खुशी लागेको भन्दै सम्मानित ब्यक्तिहरूको सामान्य परिचय र योगदानबारे चर्चा गरेका थिए।

यसैगरी उक्त कार्यक्रममा सह आयोजकको तर्फबाट न्यौपाने बन्धु समाज,नेपालका अध्यक्ष बलराम न्यौपाने, वरिष्ठ पत्रकार एवं स्व प्रधानका छोरा प्रतिक प्रधान,पुरस्कार संस्थापकमध्येबाट राजेश न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन स्रष्टा समाजका महासचिव देविका तिमल्सिना तथा उपाध्यक्ष चेतनाथ कणेल‘हरित’ले संस्थाको संक्षेपमा परिचय राख्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए।

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रेष्ठले समाजमा थुप्रै योगमाया जन्मनुपर्ने बताउँदै योगमायाका योगदानको चर्चा गरे। उनले समाजले स्थापना गरेका पुरस्कार र कार्यक्रमहरूको संक्षेपमा चर्चा गर्दै योगमाया र उनका अनुयायी ७६ जनाले समाधी लिएको दिन मौसमको समेत पर्वाह नगरी प्रमुख अतिथि लगायत साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम गर्न पाउँदा खुशी लागेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा डा. निलम कार्की निहारिकाले निर्माण गरेको योगमाया वृत्तचित्र प्रदर्शन गरिएको थियो। योगमायाको विवाह भएको घर, छरछिमेकी, उनले पानी भर्ने पधेरो, अग्निदाह गर्ने प्रयास गरेको स्थान,योगमायाको तपस्या र समाधीस्थल लगायत विभिन्न स्थानमा उनका अनुयायी ,नातेदारहरूका आफन्तहरूसँगको भेटघाटबाट प्राप्त जानकारी सहित समग्र योगमायाको जीवनसँग जोडिएका प्रसङ्गहरू जानकारीमूलक वृत्तचित्र प्रर्दशन गएिको सो कार्यक्रममा समाजका सल्लाहकार शैलेन्द्र साकार,चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, पुरस्कार स्थापना गर्ने परिवारको तर्फबाट विमला थापा कडेल लगायत थुप्रै मुर्धुन्य साहित्यकारहरू एवं स्रस्टा समाजका सदस्यहरूको उपस्थिति थियो। कार्यक्रममा संस्थाको आजिवन विशिष्ट सदस्य बन्ने नयाँ महानुभावहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो।  

प्रकाशित: २३ असार २०८१ ०९:२० आइतबार