कला

पोखरामा तायाःमचा नाच प्रतियोगिता हुने

तायाःमचा नृत्य प्रतियोगिताबारे जानकारी गराउँदै नयाँबजार तायाःमचा सांस्कृतिक समिति।

पोखरामा भदौ ८ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शिव–गणेश मार्गमा हुने आयोजकले बताएको छ।  

नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यसवर्ष नयाँबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः, नेवा मिसा पुचः र नेवाः कल्याणकारी गुठीसँगको सहकार्यमा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एकवर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ। गाईजात्रामा तायाःमचा नृत्य समेत समावेश गर्ने प्रचलन छ। गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ।

‘संस्कृति परम्पराको प्रवद्र्धनः पहिचानको संरक्षण भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको तयारी शुरु भएको आयोजक नयाँबजार सांस्कृतिक समितिले जनाएको छ। प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले प्रतियोगिताका लागि प्रायोजक खोज्नेदेखि कचाः खलहरुलाई पत्राचार गर्ने लगायतका कार्यहरु भइरहेको बताए। ‘यसवर्ष तयारी चाँडै शुरु गरेका छौं। कार्यक्रमलाई भव्य बनाउन सबै एकजुट भएर लागेका छौं,’उनले भने। प्रतियोगितामा पोखरा महानगरपालिका–९ ले पनि सघाएको छ। प्रतियोगितामा यसवर्ष ३६ टिम सहभागी हुने मूल संयोजक शम्भुलाल श्रेष्ठले बताए।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी कला र संस्कृति जगेर्ना उद्देश्यले हरेक वर्ष तायाःमचा प्रतियोगिता गर्ने गरेको बताए। ‘प्रतियोगिता केवल प्रतियोगिताका लागि र पुरस्कारका लागि मात्र आयोजना गरिएको होईन। संस्कार, संस्कृति र कला जगेर्नाका लागि गरिएको हो। यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो’–उनले भने।

पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले कला, संस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने जिम्मेवारी स्थानिय सरकारको भएकाले वडाले प्रतियोगिताका लागि सहयोग गरेको बताए। उनले भने, ‘यस्ता कार्यक्रममा सहयोग गर्ने जिम्मेवारी स्थानिय सरकारको हो। हामीले जिम्मेवार भएर सहयोग गरेका हौ । बरु यस्ता कार्यक्रमलाई मन जोड्ने कार्यक्रमका रुपमा विकास गर्नपनि पहल गर्नुपर्छ।’

प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार १ रुपैयाँ प्रदान गरिने मूल संयोजक श्रेष्ठले जानकारी दिए। त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए। पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको छ।

प्रकाशित: २२ असार २०८१ १७:०३ शनिबार

पोखरा तायाःमचा नाच प्रतियोगिता