कला

‘स्व’ अर्थात् आफू र आफ्नै अस्तित्वको खोजी

पुस्तक

भनिन्छ, आफ्नो विपक्षी सेनामा आफ्नै भाइ भारदार र गुरुहरू देखेर युद्ध गर्नबाट विमुख हुन खोज्दा दुवै पक्षका सेनालाई महामायामा अचेतजस्तो पारेर अर्कै संसार निर्माण गरी अर्जुनलाई कुरूक्षेत्रमा गीताको पाठ पढाएका थिए भगवान् श्रीकृष्णले। अर्जुनलाई स्पष्ट पार्न र युद्धमा होम्न उनले आफ्नो विराट स्वरूपको दर्शन दिँदै भने, ‘सारा द्विविधा त्याग र मेरै शरणमा आऊ।’

कृष्णले ईश्वरीय स्वरूपको दर्शन त दिए तर अर्जुनले त्यो देखे कि देखेनन्? ईश्वरलाई देख्नु भनेको ईश्वरमा समाहित हुनु हो। मोक्ष प्राप्त गर्नु हो। मोक्ष त युधिष्ठिर र उनको कुकुरले मात्र प्राप्त गरेको देखिन्छ। ओशोले ‘भगवद् गीताको मनोविज्ञान’ नामक व्याख्यानमा अर्जुनको द्वैध मनस्थितिलाई हटाएर कृष्णले उनलाई युद्धमा होमे भनेका छन्। ओशोले त अर्जुनको मात्र होइन, संसारका सारा मानिसको मन घडीको पेन्डुलमझैं द्वैधतामा चलिरहेको छ भनेका छन्।

विज्ञान भन्छ–ऊर्जालाई न त निर्माण गर्न सकिन्छ, न नष्ट गर्न। यसलाई त एउटा अवस्थाबाट अर्कोमा रूपान्तरण मात्र गर्न सकिन्छ। कृत्रिम जीवन सम्भव छैन। निर्जीव चिजबाट जीवनको उत्पत्ति पनि सम्भव छैन। गीता भन्छ– आत्मा नष्ट गर्न सकिन्न। चेतना अथवा आत्मा पनि ऊर्जा हो। मर्ने बेलामा मानिसको शरीरबाट आत्मा बाहिर निस्कन्छ। फ्रायड भन्छन्, ‘जो आफ्नो अवचेतन मनलाई नियन्त्रणमा राखी घृणा, क्रोध, निराशा, कुण्ठा र मानसिक अशान्तिबाट मुक्त रहन्छ, ऊ स्वस्थ मानिस हो। शरीर नष्ट हुन्छ तर आत्मा अर्थात् चेतना जीवित रहन्छ।’

खगोल विज्ञान भन्छ–करोडौं प्रकाश वर्ष टाढाका ताराहरूको प्रकाश हामीसम्म आइपुग्न हजारौं वर्ष लाग्छ र हामी ती ताराहरू देख्छौं। भनेपछि हामीले देखिरहेका ताराहरू सुदूर अतीतका दृश्य हुन्, वर्तमानमा ती ताराहरू त्यहाँ छन् कि छैनन्, भन्न कठिन छ तर हामी हररात त्यही हेरेर रमाइरहेका छौं, यो विभ्रम आफैंमा एउटा मायाजालजस्तै छ। महान् वैज्ञानिक स्टेफन हकिन्सले भनेका छन्, ‘यो बह्माण्ड एउटा मायाजाल हो। जहाँ कुनै पनि वस्तु या प्रकाश एउटा ब्रह्माण्डको ब्ल्याक होलमा प्रवेश गरेपछि अर्को ब्रह्माण्डमा अर्कै स्वरूपमा पुग्छ।’

वैज्ञानिकहरूले अहिले ‘मल्टी युनिभर्स’, ‘प्यारलल युनिभर्स’ को कुरा गरेझैं गीतामा अनन्त कोटी ब्रह्माण्डको चर्चा उहिल्यै छ।

संसार परिवर्तनशील छ। अहिलेको हाम्रो शरीर, एक सेकेन्डअघि र एक सेकेन्डपछिको हाम्रो शरीरभन्दा भिन्न छ। क्वान्टम फिजिक्स भन्छ–हरेक वस्तुका दुई रूप छन्। भौतिक रूप र तरङ्ग रूप। जसलाई आँखाले प्रत्यक्ष देखिन्छ त्यो भौतिक रूप हो। जुन प्रत्यक्ष देखिँदैन, त्यो तरङ्ग रूप हो। यी दुवै रूप साथसाथै हुन पनि सक्छन्, एकअर्काबाट निकै पर हुन पनि सक्छन्। दुनियाँमा कुनै पनि कुरा निश्चित हुँदैन। हामी सब विभ्रममा बाँचिरहेछौं। जसरी ब्रह्माण्डका अनेक रूप–प्रतिरूप छन्, ठिक त्यसै गरी मानिस एक दृश्य ब्रह्माण्डमा मरे पनि अर्को अदृश्य ब्रह्माण्डमा उसको तरङ्ग रूप जीवित रहन्छ। यसलाई हामी आत्मा भन्न सक्छौं। त्यसो भए, हाम्रा दिवङ्गत पुर्खा यो ब्रह्माण्डको दृश्यवान् संसारमा छैनन् तर अर्को कुनै अदृश्य ब्रह्माण्डमा जीवितै छन्, तरङ्ग स्वरूपमा वा अन्य कुनै रूपमा। सायद त्यसैमा टेकेर तान्त्रिकहरू आत्मा बोलाउने कुरा गर्छन्। एकाध पटक आत्मा बोलाउने ठाउँमा म पनि पुगेकी छु। यस्तै विभ्रम, चेतन र अचेतनको द्वन्द्व, तन्द्रा, स्वैरकल्पनामा तथागतको सन्निकटको जीवन दर्शनले भरिएको उपन्यास हो ‘स्व’।

आख्यानको प्रवेशसँगै दौडिनुलाई दैनिकीको एक हिस्सा बनाएको सप्तम बेतोडले दौडिँदै आइपुग्छ फेवाताल किनारमा। आमा उसलाई नै पच्छ्याइरहेकी हुन्छिन्। आमाको निर्मोहीपनलाई सम्झेर ऊ झन् बेतोडले हुइँकिन्छ र अचानक ढुंगामा ठोकिन्छ। पाठक सुरुमै अलमलिन्छ। यो त सपना पो रहेछ। उक्त कुरा झन्डै चौथो पेजको बिचतिर पुगेपछि थाहा हुन्छ। अनि, सप्तमसँगै उसकी प्रेमिका काव्या देखापर्छे। समग्रमा कृति सप्तमको सेरोफेरोमा घुमिरहन्छ।

सप्तम, पार्टटाइम प्राध्यापक, सञ्चारकर्मी, अधिवक्ता, मोटिभेसनल स्पिकर, घरजग्गा व्यवसायी, पार्टटाइम लेखक र काव्याको फुलटाइम प्रेमी अर्थात् सप्तम नै देखिन्छ। उनीहरू कतिखेर मिल्छन् र कतिखेर ठुस्स पर्छन् पत्तै पाइन्न। एकैदिनमा थुप्रै पटक रिसाएर त्यति नै पटक खुसाएका हुन्छन्। ‘माया, तिमीलाई सुम्पेपछि रिसाउन अरू को खोज्ने?’

यस्तैयस्तै छ, ‘स्व’को प्रेमकहानी। भनिन्छ–‘यदि तिमीसँग घरमा सानो बगैंचा र पुस्तकालय छ भने सम्झ जीवनमा चाहिने सबै चिज छ।’ यसरी हेर्दा सप्तमसित पनि सबै चिज छ। चिटिक्कको घर छ। सुन्दर बगैंचा छ। फुर्सदमा ऊ फूलसित घन्टौं कुरा गरिबस्छ। काव्या भन्छे, ‘मलाई त तिम्रो घरका यी बोटबिरुवा पनि मेरा सौताहरू हुन् जस्तै लाग्छ।’ यति हुँदाहुँदै पनि सप्तम सब भएर पनि केही नभए जस्तो छ।

बाबा चौबिसै घण्टा नसामा झुमिरहने एउटा अबोध शिशुको आमा झन् संवेदनाहीन भयो भने उसले मानवीय मूल्य र जीवनप्रतिको दृष्टिकोण कहाँ र कसरी प्राप्त गर्छ? कसरी, के लेख्नु आमाबारे निबन्ध कक्षामा? त्यो बालक जसले आफूलाई बिरालाको छाउरो जति पनि भाग्यमानी मान्दैन, जसले बा र आमालाई कहिल्यै एकसाथ देखेन, अझै बा बितेका बेला समेत आमालाई काजक्रियामा देखेन, उसको मस्तिष्कमा आमाको बिम्ब कस्तो होला? यसले चितवनको एउटा स्कुले नानीले बाआमाको द्वन्द्वबीच होस्टलमै आत्महत्या गरेको दृश्य सम्झाउँछ। सँगै, आमामाथि लेखिएका थुप्रै पाठहरू पढाउँदै गर्दा आफूले भोगेको असजिलो र तत् तत् समयका आफ्ना पुराना विद्यार्थीहरूको निर्दोष अनुहार पनि सम्झिरहेछु। यस्ता प्रशस्त उपकथाहरू छन् ‘स्व’मा।

सप्तमलाई बारम्बार हरियो मसीले लेखेको चिठी आइरहन्छ शुभचिन्तकका नाममा। न कुनै ठेगाना, न हुलाक, न पोस्टबक्स। अक्सर उस्तै हस्तलिखितमा उसैका अन्तरङ्ग कुराहरूसहित। कतिपय कुरा काव्यासित मात्रै सेयर गरेको हुन्छ, त्यो पनि चिठीमा आइपुग्छ। त्यसो त आख्यानमा सप्तम र काव्या मात्रै छन् भन्दा हुन्छ। सप्तमलाई कुनै पूर्वानुमान नै हुन्न कि यो सब कसले लेखिरहेछ। उसैले नचिनेको उसको स्वमा को खेलिरहेछ? बिलखबन्दमा देखाइन्छ सप्तमलाई। सबै थाहा पाउन घरमा सिसी क्यामेरा जडान गर्छन् र पनि त्यो क्रम रोकिन्न। मध्यान्तरअघिका चारवटा यस्ता चिठीमा लेखकले जीवन दर्शन बोल्न भ्याएकी छन्। डब्लुएच प्रश्नहरू खण्डमा तिमी को हौ? कहाँ छौ? के हौ? कसका लागि हौ? आदि प्रश्नमार्फत बोध यात्राको खोजी गरिएको छ। लाग्छ, जीवनभन्दा जीवनसम्बन्धी प्रश्न बढी महत्त्वका छन् जीवनमा। बढी नै छ त्यसको वजन र घनत्व पनि।

ठाउँठाउँमा विज्ञान, मन र अध्यात्मबिचको अन्तरद्वन्द्व छ। विज्ञानका कुरा गर्दा पदार्थ, वस्तु, ऊर्जा र खासगरी क्वान्टम फिजिक्सको कुरा छ। विज्ञानका नूतन आविष्कारदेखि पछिल्लो समय थाहा पाइएका आकाशगङ्गाहरू छन्।

आधुनिक विज्ञानबाट अलिक पर रहेको मजस्तो सामान्य पाठकका लागि त्यस्ता खण्ड पढ्दा कतिखेर सकिएला जस्तो त लाग्छ तर झिजो लाग्दैन। कतिपय कुराहरू घरमा सोधेर त कतिपय गुगल गरेर बुझ्न त खोजें तर खासै सकिनँ। उता, विज्ञान पढेको पाठकले ठान्न सक्छ, यो कुरा यसरी नभनी त्यसरी भनेको भए हुन्थ्यो। पाठकका आआफ्नै रुचि, क्षमता, आग्रह र सीमा हुन्छन्। अहिलेको पाठक लेखकभन्दा बढ्ता चिन्तनशील छ। यो लेखकका लागि प्रीतिकर चुनौती हो। यो चुनौती ‘नथिया’देखि ‘स्व’सम्म मजाले झेलेकी छन् सरस्वतीले।

मध्यान्तरअघि नै झन्डै महाप्रस्थान यात्रामा निस्किसकेको सप्तम निरन्तरको देशनापछि काव्यालाई पत्र लेखिबोधको यात्रामा निस्कन्छ। काव्यालाई लाग्छ– हरेक युगमा लोग्नेमान्छेको सोच र खोजको मूल्य किन स्वास्नीमान्छेले नै चुकाउनुपर्छ? के यशोधराको स्व थिएन ? के स्वास्नीमान्छेको स्व हुँदैन ? इतिहास के लोग्नेमान्छेको मात्रै हो? कैयन् प्रश्नहरू अनुत्तरित छन्। कैयन् सन्देहहरूकै बीच टुंगिन्छ आख्यान। लाग्छ, यहींनेर सकियो आख्यान।

समग्रमा भन्नुपर्दा काव्यात्मक भाषा, दुई पात्रले निर्माण गरेको कल्पनातीत संसार, मध्यान्तरअघि व्याख्यात्मक प्रसङ्गहरू राखेर लेखिएको वर्तुल निबन्धात्मक कथन र मध्यान्तरपछिको स्वैरकाल्पनिक तथा सनसनीपूर्ण लाग्ने रोचक कथानक ‘स्व’को शक्ति हो।

 साहित्य, विज्ञान, दर्शन र अध्यात्मको संयोजन ‘स्व’को सौन्दर्य हो। आफू र आफ्नो अस्तित्वको खोजी हो ‘स्व’। हाम्रोमा पहिलो आख्यान सशक्त लेखेर दोस्रो वा त्यसपछिका आख्यानहरूले पाठकले नाक खुम्च्याउनुपरेका घटनाहरू थुप्रै छन्। तर सामाजिक यथार्थवादी धरातलमा उभिएको नथियाको तुलनामा अलिक पृथक् र गम्भीर पाठकको अपेक्षा राख्ने ‘स्व’ पढ्दा नथिया पढेका पाठक निराश हुनुपर्दैन। 

प्रकाशित: २२ असार २०८१ ०९:५२ शनिबार

#A quest for existence #A Vision of the Divine Form