कला

क्यान्सरविरुद्ध कविता क्याप्सुल

कस्तो हुन्छ होला

त्यत्रो दुःखले हुर्काएको छोरो

आज मृत्युसँग जुद्धै छ

ती आमाको छाती चर्किन्छ,

त्यो बाबाले टेकेको जमिन भासिन्छ,

यस्तैयस्तै सोच्दै म फोनमा हाँसिदिन्छु,

तैट! केही भा’छैन मलाई म भनिदिन्छु,

म ठिक छु

तर खासमा माया गर्नेहरूको भिडमा म एक्लै छु।

क्यान्सरसँग लडिरहेका एक युवाले आफ्नो जीवन संघर्षलाई यसरी कवितामा ढालेका छन्।  

‘म पात्रले कलम हतियार बनाइरहेछु। एक्लै असम्भव छ यो युद्ध, रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु,’ क्यान्सरसँग लडिरहेका एक लडाकु भन्छन्, ‘जिन्दगी सबै बाँच्न दौडिरहेका छन्। म जिन्दगीसँग जुधिरहेको छु। मेडिकल साइन्सले समय तोके पनि म आफ्नै आत्मबल बलियो बनाएर अझै हिँडिरहेको छु। गोरेटोमा कोही साथ मिले धन्य हुनुपर्छ, नत्र हेर मानुष, यो यात्रामा आफ्नो साथी आफैं हुनुपर्छ।’

आत्मबल बलियो बनाएर उनी संघर्षरत छन्। रक्त क्यान्सर भएपछि चिकित्सकले बाच्ने समय आठ महिना मात्र तोकिदिएका थिए। उनको आत्मविश्वासले आयु दुई वर्ष कटाइसकेका छन्। यही हिम्मतबाट उनी अझै जिन्दगीलाई लम्ब्याउन खोजिरहेका छन्।

यी हुन्– ललितपुरको गोदावरी नगरपालिका–३, बुद्ध टोल नहरका ३६ वर्षीय नवराज न्यौपाने। रोजगारीका सिलसिलामा कुवेत पुगेका उनलाई यो रोगले समातेको थियो। उनी कुवेत जानुअघि मलेसिया, साउदी अरेबिया पनि गएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा उनी विभिन्न देशमा एक दशक बसेका थिए।

‘मलेसियाबाट कुवेत गएको तीन वर्ष पुगेको थियो,’ उनले भने, ‘एक्कासी ठुलै बिरामी भएँ। अस्पतालमा मलाई रक्तक्यान्सर भएको थाहा पाएँ।’

त्यहाँ चिकित्सकले उनलाई अबका केही महिनाको मात्र पाहुना रहेको बताएका थिए। त्यो दिन नै उनको जिन्दगीको अन्तिमजस्तो लाग्यो। जीवन यति अनिश्चित होला भन्ने उनलाई यसअघि कहिल्यै लागेको थिएन।

कुवेती झ्यालबाट हेर्दै

क्षितिजपारि के के सोच्छु

बाबाआमा सम्झँदै म कति रुन्छु

नाइ! तिनलाई थाहा नदिम भन्छु

शरीर अस्वस्थ भएको खबर उनका लागि निकै कठिन थियो। आफ्नै मातृभूमिको काखमा जीवनको अन्तिम क्षण बिताउन उनी देश फर्र्किए। देश फर्केपछि परीक्षण गर्दा क्यान्सर अस्पतालले जिन्दगीको दुई महिनाको भाका दियो। यो जानकारीले उनलाई मर्माहत तुल्यायो। उनले आफू वरिपरि बसेका सबैलाई धमिलो देखे। दिउँसै रात परेझैं भयो। शरीर गल्दै गयो। आखाले साथ दिन छोडे। उनको आवाज पनि कसैले समाएझैं भयो।

‘मेरो शरीरले मात्रै होइन, अब त आँखा र बोलीले पनि मलाई साथ दिन छोडेको थियो,’ भर्खर १४ औं केमोथेरापी दिएपछि बिस्तारामा पल्टिएका उनले थकित स्वरमा कुरा गरेका थिए।  

‘आज धेरै गाह्रो भएको छ,’ उनले भने, ‘बिस्तारै निस्किएका यी बोलीहरू बन्द होलान् जस्तो छ। हे भगवान् ! मलाई बाँच्न केही समय देऊ। मलाई बाच्न मन छ। कहिले पूरा नभएको मेरी आमाको सपना पूरा गर्नु छ।’

रोग लाग्न उमेर भन्नु पनि केही हुँदो रहेनछ। रोगले उनलाई गलाउँदै ल्यायो। ‘मेरो शरीर मरे पनि म आफैं मरेको छैनँ,’ उनलाई एक दिन यस्तो लाग्यो, ‘म उठ्नुपर्छ। डाक्टरले दिएको समयभन्दा दुईचार दिन बढी बाँच्ने मनमा रहर जाग्यो। तीस दशक कसरी बिताएँ थाहा छैन। तर दुईचार दिन बढी बाँच्नलाई म आफंैसँग सघर्ष गर्दै जुध्दै, लड्दै अघि बढेँ।’

गोदावरीस्थित सुकुम्वासी बस्तीमा पस्नासाथ उनको सानो घर छ। वैदेशिक रोजगारीमा कमाएको सबै पैसा उपचारमै सकिएको छ। उनी आफ्नो जिन्दगी थोरै भए पनि लम्ब्याउनुपर्छ भन्ने भएपछि साहित्यको सान्निध्यमा पुगेका छन्। कम्तीमा कविता देखेर पनि कसैले सहयोग गर्लान् भन्ने उनलाई लाग्यो। अरूसँग हात फैलाउनुभन्दा आफैंले लेखेको कविताको पुस्तक बेचेर उपचार गर्नतिर उनी लागेका छन्।

अस्पतालको शड्ढयामै उनले ‘सपनाका लहरहरू’ काव्यकृति लेखे। उनको सानैदेखि कविता लेख्ने बानी थियो। त्यही किताब बेचेर आएको आम्दानीबाट उनले बाचुन्जेलका लागि औषधी उपचार गर्ने अठोट लिएका छन्।

उनका अनुसार, अनुप्रस्थ फाउन्डेसनबाट सुरुवाती दिनदेखि नै उनलाई आर्थिक सहयोग मिलिरहेको छ। ‘फाउन्डेसनका निरन शाही दाजुले नै मलाई हरसमय हेरिरहनुभएको छ,’ उनले भने। फाउन्डेसनले पनि सधैं सहयोग गर्न नसक्ला भनेर आर्थिक जोहो गर्नतिर लाग्नु स्वाभाविक हो। उनको यही प्रयासको कडीका रूपमा ‘सपनाका लहरहरू’ भाग तीनसम्म प्रकाशित भइसकेको छ।

‘सपनाका लहरहरू–३’ को आवरणमा उनको अन्तिम इच्छा लेखिएको छ। ‘अन्तिम बिदाइमा मेरो मेरै गीत गाइदिनु, प्याराजन हो ! फूल पर्दैन मलाई छातीमा, सलाई कोर्नुअघि बस् सिरानीमा कलम र कापी राखिदिनु,’ उनले लेखेका थिए।

सास छउन्जेल यसरी नै यो पीडा भुलाउन केही न केही लेखिरहने उनको अठोट छ। स्वास्थ्य विज्ञानले तोकेको मिति नजिकै आउँदा उनलाई डर लागिरहन्थ्यो। भरेभोलि नै मर्छु भन्ने अवस्थालाई पार गरेर अझै केही दिन बाँच्छु भन्ने उनलाई लाग्ने गरेको छ। ‘लडाइँ अझै जारी छ, के कति बाँचिन्छ, त्यो भगवान्को हातमा छ,’ उनले भने, ‘तर, आफ्नो तर्फबाट संघर्ष गर्न छोड्नु हुन्न।’

गोदावरीस्थित सुकुम्वासी नहरमा चिटिक्कको सानो घर बनाउने उनको रहर छ। क्यान्सर लाग्नुअघि उनी परिवार र आफ्नो जिन्दगीलाई सरल र सहज बनाउने उद्देश्यमा रमेका थिए। नियतिलाई त्यो स्वीकार्य थिएन। त्यही भएर उनी निको हुन गाह्रो हुने रोगले थलिए। दुःख, पीडा, रोदन, हीनताबोध आदि नकारात्मक शक्तिलाई अझै पनि चिर्दै र च्यात्दै थिए। उनी निरन्तर लडिरहे। उनी ‘द पोइट आइडल’को सिजन वान र टुमा समेत सहभागी भएका थिए। त्यहाँ उनलाई भव्य स्वागत गर्दै निर्णायकहरूले प्रशंसा गरेका थिए।

आफू बिरामी हुँदा आमाको धेरै सम्झनाले सताउने गरेको उनी सुनाउँछन्। आमा सधैं सिरानीको छेउमै बसेर टाउको मुसारिरहँदा सन्चो भएजस्तो लाग्छ। आमाको यादले सताइरहेका उनले अश्रुपुरित नयनले मध्यरातमा ह्वाट्सएपमार्फत् प्रतिक्रिया व्यक्त गरे, ‘संसारमा सबैभन्दा ठुली त आमै हुन्। सबैभन्दा सुखी, सहनशील र दयालु मेरी आमा हुन्। आफू दुःखी बनेर पनि सन्तानलाई खुसी बनाउँछिन्। त्यसपछि अनि बल्ल बाको नाम आउँछ। जसले ठुलाठुला चट्याङको सामना गरेर कर्म दिने  काम गर्छन्।’

उनी ममतामयी आमा र बुबाले आफूप्रति गरेको त्यागलाई सम्झिदैन् मात्र, अरूलाई पनि उनका पीडामा आँखालाई भिजाइदिन्छन्। स्वस्थानी व्रत कथामा रहेकी गोमा ब्राह्मणी भन्ने पात्रसँग मिल्दोजुल्दो छ उनकी आमाको नाम। हो, तिनै गोमाबाट जन्मेका उनी आफू साह्रै अभागी रहेको विषादपूर्ण अभिव्यक्ति दिन्छन् उनी।

‘हजुरआमाले रछानमा लात्तीले दुई फिट उफ्रिने गरी फ्याँकिदिँदा म आमाको काखमा थिएँ,’ उनी भन्छन्, ‘घरपरिवार र पतिबाट पनि साथसहयोग नपाएपछि आमाले मलाई काखी च्यापेर पाटनमा अरूको काम गर्दै हुर्काउनुभएको थियो।’

आमा यदाकदा एक्लै हुँदा भन्ने गर्थिन्, ‘त्यत्रो दुःख सहेर हुर्काएको छोरो आज रक्तक्यान्सरसँग जुद्धै छ। लाचार भएर लडिरहेछ। योभन्दा बरु उही बेला भोटे कोसीमा हाम फाल्न आँट किन आएन। किन फाल हानिनँ होला म? कसरी हेरौं मेरो मुटुको टुक्राको बिजोग।’

बिरामी भएर ओछ्यानमा थलिएको बखत छोरा निदाएको चाल पाएर भेट्न आएका इष्टमित्रलाई बिस्तारामा बसाउँदै आमाले भनेकी थिइन्, ‘जति दुखे पनि हाँसिरहन्छ मेरो छोरो। कति दुःखले हुर्काएको छोरो हो। उसले बोल्ने गरेको तोते बोली र ताते ताते गर्दै हिँडेको हिजोझैं लाग्छ। आमा कहिल्यै नरुनु है भन्थ्यो। मेरो छोराको आँट र साहसको अर्को नाम हो नवराज न्यौपाने।’ ठ्याक्कै स्वस्थानीको कथामा जस्तै आमाको नाम गोमा अनि छोरा नवराज।

परिवारको जेठो छोरा नवराज सानैदेखि पढाइमा अब्बल थिए। सबैका प्यारा उनी सानैदेखि आमाका हरेक कामलाई साथसहयोग गर्थे। अहिले ओछ्यानमा बिरामीले थलिए पनि बालापनको केही मिठा सम्झनाहरू उनले नागरिककर्मीसँग भन्छन्, ‘सानैमा बाबुको साथ नपाएको म आमाले भरपुर माया दिनुभएको थियो। स्कुलबाट फर्केर गृहकार्य गर्नेबित्तिकै आमाले भुटेर राखेको मकै भटमास खाँदै दुई भाइ च्यापी खेल्न दौडिन्थ्यौं। आमाको मायामा अमृत मिसिएको छ। त्यो अमृत मैले पिएको छु।’

उनीहरूको पारिवारिक अवस्था त्यति ठिक छैन। छोरा क्यान्सरले थलिएको दुई वर्ष हुँदा पनि उनका बाबु भेट्न आएका छैनन्। ‘आमा जवानी हुँदा त बाबाले मतलब गर्नु भएन। उहाँले अर्को विवाह गरेर आफ्नै परिवारसँग रमाइरहनुभएको छ। हाम्रो उहाँलाई केही मतलब नै छैन। धेरै समयपश्चात आमाको पनि दोस्रो विवाह भएसँगै मेरा प्यारा दुई भाइ अर्जुन र भीमको जन्म भयो।’

दुइटै हातमा पालैपालो पानी र रगत

नसाभरि सुइको डामै डाम देख्छु

आफैंलाई क्षीण अवस्थामा पाउँछु

ऐना हेर्छु

बेलाबेलामा आफैं तर्सन्छु

न त खान रुच्छ न त पिउन नै

हर चिज वाक्! वाक्! लाग्छ

आफ्नै हालत देखी म त दंग छु

म त छक्क छु

माया गर्नेहरूको भिडमा म त एक्लै छु।

उनी सधैं बिस्तारामा पल्टेरै आफ्नो मनको व्यथालाई मसीद्वारा कापीमा लेखिरहेका हुन्छन्। कालो मसीले लेखिएका कापी उनको नामको पुस्तक भएर आइरहेको छ। उनी आफ्नो साहस र भरोसालाई टुट्न दिएका छैनन्। उनको अहिलेको पूरै लगाब कविता रचनामा छ। उनको घर पूरै पुस्तकै पुस्तकले भरिभराउ छ।

‘पुस्तक अझै पनि केही थान बाँकी छन्,’ उनले भने, ‘कसैले पुस्तक किनेर वा स्वइच्छाले गरेको आर्थिक सहयोगले मेरो लडाइँलाई सहज बनाउँछ। पुस्तक लिएर वा नलिई आर्थिक सहयोग गर्नेहरू सम्पूर्णमा मेरो नमन छ।’ 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औं स्थापना दिवस तथा ३० औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा म्यानपावर व्यवसायीहरूको छाता संस्था संघले गत सोमबार एक लाख एक हजार ११ रूपैयाँ उनलाई सहयोग गरेको थियो। संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार वैदेशिक रोजगारीमा कुवेत पुगेर रक्तक्यान्सर भई फर्केका न्यौपानेलाई सानो आर्थिक सहयोग गरेका हौं।

‘उहाँ मलेसिया, साउदी अरेबियामा कमाउन जानुभएको थियो। त्यसपछि कुवेत पुगेर उहाँलाई त्यस्तो रोग लाग्यो। उहाँको जीवन रक्षाका लागि केही सहयोग होस् भन्ने हाम्रो चाहना हो। साथै संघको स्थापना दिवस र वार्षिक साधारणसभामा उहाँले लेखेका कविताको पुस्तकलाई पनि स्टलमा राखिदिएका थियौं,’ अध्यक्ष भण्डारीले भने। वैदेशिक रोजगारीमा गएका मान्छेहरूलाई विभिन्न रोग लाग्छ। यस्ता व्यक्तिलाई सामाजिक उत्तरदायित्वको भावनाअनुसार सहयोग गर्न एउटा कोष सञ्चालन गर्न लागेको भण्डारीले बताए।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालका अनुसार वैदेशिक रोजगारीमा बिरामी भएर फर्किएको वर्षदिन भित्र बोर्डमा आएर निवेदन दिएको खण्डमा प्रायः क्यान्सरबाट ग्रसित बिरामीले आर्थिक सहायता सात लाख पाउने प्रावधान रहेको छ। साथै श्रम स्वीकृतीको म्याद सकिएको वर्षदिनसम्म बिरामी वा आफ्नो परिवारले बोर्डमा निवेदन दिएको अवस्थामा आर्थिक सहायता पाउने व्यवस्था रहेको सूचना अधिकारी ढकालले बताए।  

कुवेतबाट क्यान्सर भएर फर्किएका न्यौपाने यसबारे राम्रो जानकार नभएकै कारण बोर्डबाट आर्थिक सहायता पाएका छैनन्। ‘आर्थिक सहायताबारे थाहा पनि भएन। बिरामी भएको वर्षदिनपछि मात्रै थाहा भयो कि बोर्डबाट आर्थिक सहयोग पाइन्छ भनेर। मेरो परिवार बुझ्न पनि गएका थिए। तर, मैले पाउने समय सकिसकेको रहेछ,’ उनले भने।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार पाँच सय ५७ जनालाई आर्थिक सहायता प्रदान गरेको छ। वैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेर क्यान्सर भई मृत्यु भएका ७६ जना र बिदेसिएका त्यस्तै एक सय २८ जना क्यान्सर बिरामीले बोर्डबाट आर्थिक सहायता पाएका थिए। तर, रक्तक्यान्सर लडाकु न्यौपानेले पाएका थिएनन्।

आफूलाई सहयोग गर्नेहरूलाई सम्झँदै उनी भन्छन्, ‘क्यान्सर विरुद्धको लडाइँमा मेरो पुस्तक लिएर होस् या मायाले बाबु भनेर होस्, आर्थिक अनि भावनात्मक रूपले साथ दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद दिन्छु।’

असहज अनि अप्ठ्यारो लाग्छ,

सोचेर ल्याउँदा होइन झैँ लाग्छ।

बास्तविकता तर यही हो,

सत्य आखिर यही,

हो म बिरामी छु।

रूप यस्तो थिएन त,

खासै राम्रो नभए पनि तर

अहिले त कुरूप देख्छु,

झन् सुकेर लौरो झै भाछु,

तीतो सत्यलाई अपनाएर

हरचीज स्विकार्दै छु।

हो आज म माया गर्नेहरूको भिँडमा एक्लै छु।

प्रकाशित: २२ असार २०८१ ०८:२५ शनिबार

#Kavita capsules against cancer