कला

अनुपस्थितिमा उपस्थिति

लघुकथा

म केही दिनयता चितवन वागीश्वरीस्थित योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचाररत छु। उपचाररत बिरामी त धेरै छन् तर म पक्षघात भएका असी आसपासका एक उज्यालो र आकर्षक अनुहार भएका बुढा मान्छेप्रति आकर्षित हुन्छु। म आकर्षित हुनाको कारण उनको अनुहारमा उदासीनता र मलिनता कहिल्यै देखिंदैन।

उनलाई सधैं ह्विल चेअरमा राखेर एउटा केटाले उपचार कक्ष, चिकित्सकको कक्ष र कोठामा ल्याउनेलाने गर्छ। मैले अनुमान गरें, त्यो केटा उनको छोरो वा नातिमध्ये एक हुनुपर्छ।

एक दिन एकुपञ्चर विभागमा उनी र म पालो पर्खंदै थियौं।

त्यो केटा क्यान्टिनतिर गएको थियो। मैले ती भद्र बुढा मान्छेसँग सोधें, ‘तपाईंको हेरचाह गर्ने केटा छोरा हो कि नाति?’

बुढा मान्छेले भने, ‘छोरो पनि होइन र नाति पनि होइन। उपस्थित रूपमा त्यो केटाले मेरो स्याहारसुसार गरिरहेको देखिन्छ। तर, अनुपस्थित रूपमा मेरो छोराले नै मेरो स्याहारसुसार गरिरहेको छ।’

मैले अर्को प्रश्न गरें, ‘कसरी?’

उनले जिल्ल पर्ने उत्तर दिए। भने, ‘मेरो छोरो क्यानाडामा छ। उसले त्यहाँ कठोर परिश्रम गरिरहेको छ र मलाई उपचार र अन्य खर्चका लागि पैसा पठाउँछ। त्यो केटालाई मैले मासिक तलव दिएर राखेको हुँ। जब त्यो केटाले म बसेको ह्विल चेअर धकेलिरहेको हुन्छ मलाई लाग्छ, मेरै छोराले नै धकेलिरहेको छ। त्यसैले यतिबेला मेरो छोरा यहाँ छ तर अनुपस्थित रूपमा। अनुपस्थितिमा उपस्थिति भनेको यही हो।’

-रामबाबु घिमिरे 

प्रकाशित: २१ असार २०८१ ०९:१६ शुक्रबार

#Presence in absence #short story