कला

बुढ्यौली

लघुकथा

‘हजुर, केही पाम्।’

आवाजले रस्मीको गति टक्क रोकियो। टाउको घुमाएर हेरिन्। सडक पेटीको छेउमा बनाइएको फलामको बारमा आड लागेर एक जोडा बुढाबुढीले हात फैलाइरहेका थिए। उनीहरूले माग दोहोयाए,‘भोकै छम् हजुर, खानेकुरा दिए यहीँ खान्छौँ। पैसा दिए किनेर खान्छौँ। ’

रस्मीलाई अप्ठ्यारो महशुस भयो। ‘यी ८०/८१ वर्षका जस्ता देखिने बुढाबुढी सन्तानको स्याहारसम्भारमा घरमा हुनुपर्ने थियो। स्याहार सम्भारको त कुरै छोडौं, पेटसमेत रित्तो छ। त्यही पेट पुर्नको निम्ति मगन्ते हुनुपरेको छ। सिमेन्टद्वारा पोतिएको भुइँको चिसोमा डामिएर बसिरहेका छन्। को होलान यिनीहरू!’

‘हजुर।’

आवाजले उनलाई फेरि झस्काइदियो। केही दिनुभन्दा पहिला सोध्नै पर्ने भयो, ‘हजुरहरूका सन्तान छैनन् र!’

वृद्धाबाट जवाफ आयो, ‘छन् नि छन त, उनका पाँचोटा छन्। मेरा छओटा।’ 

‘सन्तानहरू बेग्ला बेग्लै भएको कुरा गर्नुभयो।’

हो नि, सन्तान जन्माउने बेलामा हामी पतिपत्नी थिएनौं।’

रहस्य झन् झाङ्गिएको महसुस भयो रस्मीलाई।

‘आज सडकमा पतिपत्नी छन्। घरमा सन्तानहरू पनि छन्। ती जन्माउने बेलामा यी पतिपत्नी थिएनन्। यो कसरी भयो?’

‘तपाईहरू कसरी फालिनुयो त यहाँ?

बुढा बोले, ‘बुढीलाई उसका छोराले चौतारीमा राखेर गएछ। मलाई मेरा छोराले घरबाट निकालिदियो। दुवै आआफ्नै तरिकाले वृद्धाश्रममा भर्ती भयौं।’ 

‘मेरो प्रश्नको सबै जवाफ त आएन नि?’ रश्मीले पहिलैको प्रश्नको सम्झना गराइन्।

‘हाम्रो बिचमा आकर्षण भयो र रुखको छहारीमा गएर विवाह गर्‍याैं। स्विकृतिको निम्ति अनुरोध गर्दा वृद्धाश्रमले निकाला गरिदियो।’

प्रकाशित: ७ असार २०८१ १३:३६ शुक्रबार