कला

कायम राखियोस् हाम्रो मौलिक पहिचान

कैफियत

जहाँ ढुंगा ढुंगामा देवताको वास छ

जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ

त्यो देश मेरो हो–२

ओम गुरुङले गाएको यो गीतमा भनिए झैं हाम्रो देश साँच्चै स्वर्गकै टुक्रा हो। यो शैवभूमि हो। यो पाशुपत भूमि हो र यो विभिन्न ऋषिमुनिहरूको तपोभूमि हो। यो बुद्धभूमि, धर्मभूमि र कर्मभूमि पनि हो। हिमाल, पहाड, तराई, भित्री मधेस, टार, उपत्यका, खोंचले बनेको यहाँको भूबनोट साँच्चिकै अजीव र जादुमय लाग्छ।

यी भूमिले संसारका जुनसुकै भूभागमा उब्जने अन्न, तरकारी तथा फलफूल उब्जाउने क्षमता राख्छन्। सानो देश भए पनि यहाँ वर्षभरिमा ६ वटा ऋतुको अनुभव गर्न पाइन्छ। जाडो तथा गर्मी दुवै विपरीतधर्मी मौसममा पनि यहाँको अधिकतम र न्यूनतम तापक्रमले हामीलाई अन्य देशमा जस्तो गाह्रो पार्दैन। हाम्रा विशिष्ट सांस्कृतिक विविधता र भौगोलक विशेषतामा मोहित भएर यहाँ घुम्न आउने र यहीं जीवन बिताउने विदेशी पर्यटकहरू पनि छन्।

अन्य देशले कृत्रिम वस्तुबाट फाइदा लिन सकेका छन्। हामीचाहिँ परनिर्भरतामुखी आधुनिकतामा रमाउन खोज्ने भएर आफ्नै मौलिक र प्राकृतिक वस्तुबाट समेत फाइदा लिन सकेका छैनौं। हाम्रा मृतसञ्जीवनी जडीबुटी त्यत्तिकै खेर गइरहेका छन्।

विश्वमै जलसम्पदामा दोस्रो धनी देश भएर पनि पानीको सदुपयोग गर्न सकेका छैनौं। हाम्रा नदीनालाबाट प्रशस्त जलविद्युत् निकाल्न सक्दा हामी पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सक्ने थियौं। भविष्यमा त्यसो गर्न सकेको दिन वास्तवमा हाम्रो देशले समृद्धिको बाटो तय गरेको हुने छ।

सगरमाथा र लुम्बिनी हाम्रा प्रमुख मौलिक परिचय हुन्। उता भारत बुद्ध हाम्रै देशमा जन्मेका थिए भनेर प्रचारबाजी गर्छ। उत्तराखण्डमा ‘पशुपतिनाथ’ पनि बनाइँदै छ भन्ने समाचार आएको थियो।

निर्माण कार्यका लागि आवश्यक पर्ने भौतिक सामग्री आफ्नै देशमा उत्पादन हुने भएपछि जेजे बनाए पनि त भयो। देखावटीमा विश्वास गरिने आजको जमानामा सत्य लुक्ने र झुटो देखिने रहेछ ! बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेको पनि यही होला।

हाम्रा हिमाली-पहाडी क्षेत्रमा, तराई तथा उपत्यकामा झैं अन्नबाली फल्दैनन् भन्दैमा तिनको महत्व छैन भन्ने होइन। त्यहाँ यार्सागुम्बालगायतका दुर्लभ वनस्पति पाइन्छन्। मानवीय स्वास्थ्यलाई फाइदा पुर्‍याउने औषधीय गुणका दुर्लभ अन्न र फलफूल त्यतैतिर फल्छन्। सहरिया धुवाँधुलो, भीडभाड र कृत्रिम जीवनशैलीबाट दिक्क भएकालाई हरेक पहाड, जंगल, टार, खोंच र बेंसीले स्वर्गीय अनुभूति प्रदान गर्छन्।

सूर्योदय हेर्नका लागि दार्जिलिङको ‘टाइगर हिल’ जानुपर्दैन। यहाँ, नगरकोट (भक्तपुर), आमा याङ्ग्री (सिन्धुपाल्चोक), ट्याम्के (भोजपुर), अन्तु (इलाम) देखि लिएर सयौं ‘टाइगर हिल’ छन्।

देवता दर्शन गर्न र धर्म कमाउन भनेर भारतका चार धामलगायत अनेक तीर्थ जानुपर्दैन। वराह क्षेत्र, मुक्तिनाथ, पशुपतिनाथ, हलेसी हामीसँगै छन्। पाप नास गर्न भारतमा पर्ने फोहोरी नदीहरू गङ्गा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु, कावेरी खोज्दै नुहाउन जानुपर्दैन। कोशी, गण्डकी, कर्णालीजस्ता थुप्रै स्वच्छ र पवित्र गंगा हाम्रैमा छन्।

पितृ तार्न ठग पण्डाहरूको फेला पर्नलाई काशी, गया, प्रयाग गएर श्राद्ध गरिरहनु पर्दैन। यहीं शालिग्राम फलाउने कालीगण्डकीदेखि लिएर वराह क्षेत्र, गोकर्ण, शाली नदी हाम्रैमा छन्। यी सबैको खालि प्रचारप्रसार र भौतिक सजावट हुन मात्र बाँकी भएको हो।

नेपालीमा एउटा उखान छ– ‘माल पाएर मात्र के गर्नु, चाल पाए पो!’ भूगोलविद् हर्क गुरुङले पनि भनेका रहेछन्, ‘नेपाल नचिन्नु नै नेपालीको अभिशाप हो।’ साँच्चै नै यो स्वर्गको टुक्रालाई हामीले आजसम्म पनि चिन्न सकेका छैनौं। यहाँको स्वच्छ पानी र बहुमूल्य खानीखजानाप्रति शक्तिराष्ट्रले आँखा गाड्दै छन्।

विदेशी प्राध्यापक आएर ‘नेपाल भनेको सुनको कचौरा थापेर भिख मागिरहेको देश हो’ भनेर सम्झाए तर पनि हामीले चेत पाएका छैनौं। त्यसैले त यहाँका सुनचाँदी फल्ने जमिन बाँझिन थालेका छन्। यस्तो विचित्र वातावरणले भरपूर भूमिमा भ्रमणका सौखिन विदेशी पर्यटकहरूका प्रशस्त पाइला टेकाउन सकिएको छैन। ६ वटा ऋतुको अनुभव पनि संसारलाई गराउन सकिएको छैन।

अरूको त के कुरा, विश्वसम्पदा सूचीमा परेका ठाउँलाई नै पनि अलि महत्त्व देखिने गरी व्यवस्थापन गरेर तीबाट आम्दानी लिन सकिएको छैन। भारतका रङरोगन गरिएका सानातिना मन्दिरमा प्रवेश गर्दा टिकट काट्नुपर्छ। हाम्रा प्राचीन कलापूर्ण पशुपतिनाथ, स्वयम्भूनाथ, बूढानीलकण्ठजस्ता प्रख्यात स्थलमा प्रवेश निःशुल्क छ।

तीबाहेक हाम्रा भाषा, भेषभूषा, संस्कृति, जातीय तथा सांस्कृतिक विविधताले पनि हामीलाई थप चिनाउँछन्। तर विदेशी अन्धानुकरण बढ्न थालेको हुँदा तीमध्ये कतिलाई नाश गरिसकियो। बाँकी रहेकालाई पनि कतिन्जेल मौलिक राख्न सकिने हो, भन्न सकिने अवस्था छैन। यति भएर पनि हामी नेपालीमा रहेको एकता, सहिष्णुता र मेलमिलापको भावना विश्वमा अनुपम छँदै छ।

यो देशको माटो मानव जीवनका लागि प्राकृतिक खाद्यभण्डार नै हो। अन्य देशको मरुभूमिमा कोही बटुवाले बाटो भुल्यो भने त्यहाँ ऊ भोकले भन्दा पनि पहिले प्यासले मर्छ होला । तर हाम्रो देशको कुनै पनि अनकन्टार ठाउँमा कसैले बाटो बिरायो भने कयौं दिनसम्म पनि ऊ भोक-प्यासले मर्दैन, किनभने त्यहाँ कतै न कतै पानी त हुन्छ नै।

भोक मेट्नका लागि विभिन्न रुख(वनस्पतिका बोक्रा, पात र मुन्टाको पनि त्यहाँ दुःख हुँदैन। तीबाहेक त्यहाँ जुनसुकै मौसममा पनि कुनै न कुनै फलफूल पाकिरहेका हुन सक्छन्। यस्तो सुविधा संसारका मरुभूमिमय देशमा पाउन कहाँ पाउनु!

यति बहुगौरवशाली परिचय भएर पनि पछिल्लो समय हाम्रो देशको परिचय फेरिएको छ। १७ हजारको बलिदानी र अर्बौंको भौतिक नोक्सानी मात्रै होइन, दुईदुई पटक संविधान सभाको चुनाव गरेर बनाइएको हाम्रो ‘नेपालको संविधान २०७२’ सायद संसारकै सबैभन्दा महँगो पुस्तक हुन सक्छ।

बनाउँदा पनि महँगो र बनाएपछि पालना गराउँदा पनि महँगो– राजनीतिक हिसाबले। ठुला-ठुला आयोजनाहरू जहाँ पनि महँगा हुन्छन् नै। ठुला भईकन पनि महँगो र धेरै समय लगाएर पूरा गरिएको खानेपानी आयोजना सायद हाम्रै ‘मेलम्ची खानेपानी आयोजना’ हुनुपर्छ।

परिकल्पनाको पाँच दशक र काम थालिएको दुई दशकपछि २०७७ चैत १५ बाट यो पानी काठमाडौंवासीका धारामा छोडिएको थियो। कुल खर्च ६५ अर्ब भनिए पनि लागत अझै बढ्दै छ। ७६।२ किमी दुरीको काठमाडौं निजगढ फास्ट ट्रयाक, एक खर्ब १२ अर्ब रूपैयाँको लगानीमा चार वर्षभित्र सक्ने गरी २०७४ साल जेठ १४ मा शिलान्यास भएको थियो।

विभिन्न कारणले गर्दा सेनाले जिम्मा लिएको यो गौरवको आयोजनाले गति लिन सकेको छैन। निर्माण अवधि र लागत पनि अझै बढ्ने भएकाले यो संसारकै सबैभन्दा महँगो सडक हुने सम्भावना छ।

देशको क्षेत्रफलअनुसार सबभन्दा बढी नेतामन्त्री हुने देश नेपालै हुन सक्छ। संसारकै सबैभन्दा महँगो संसद् नेपालकै हुन सक्छ, जहाँ हाम्रा माननीयहरूले पाउने सेवा सुविधा असीमित छ तर त्यहाँबाट जनताका लागि बन्ने कानुन अति नै नगण्य र महँगो छ।

संसारकै सबैभन्दा महँगो निर्वाचन प्रणाली पनि नेपालमै हुनुपर्छ, जहाँ उम्मेदवारले पदअनुसार धेरैभन्दा धेरै खर्च नगरी विजय प्राप्त गर्न सक्दैनन्। संसारमा सबैभन्दा बढी सुविधाभोगी नेता त हाम्रै देशमा भएको सर्वविदितै छ। उनीहरू एकपटक पदमा पुगेपछि फर्किएर सामान्य जीवनमा आउनुपर्दैन। पदमुक्त भए पनि अर्को महत्वपूर्ण जिम्मेवारी पाउँछन्।

पदमा रहुन्जेल अकुत सम्पत्ति कमाउँदा पनि नपुगेर, पदमुक्त भएपछि पनि बाँचुन्जेल राज्यकोषबाट सुविधा पाइरहन्छन्। अन्य देशका नेता पदमुक्त भएपछि सामान्य काम गरेर पनि जीवनयापन गर्छन्। पदमा रहँदा तिनले गरेका सानातिना फजुल खर्चको पनि हिसाब-किताब र आलोचना हुन्छ। सामान्य कामकुरा बिराउँदा पनि पदमुक्त हुन्छन्। जनताको प्रतिक्रियालाई ठुलो महत्व दिइन्छ।

हामीकहाँ विदेशीसँग ऋण लिएर भए पनि हाम्रा नेता तथा कर्मचारीलाई आवास, तलब, भत्ता, मोटर, इन्धन इत्यादि दिनुपर्छ। सरकारी कम्पनी घाटामा गए पनि कर्मचारीलाई बोनससहितको अन्य सुविधा दिनुपर्छ।

ठुलाठुला अपराध प्रमाणित हुँदा पनि अपवादबाहेक दोषीले कार्यवाही भोग्नुपर्दैन। विभिन्न अभियोग लागेका माननीयहरू मजासँग हामीलाई अर्ती उपदेश दिइरहेका छन्, ताली पाइरहेका छन्। मत लिने बेलाबाहेक हाम्रा नेतालाई जनमतको कुनै वास्तै छैन। अनेक काण्डमा बदनाम कमाएका नेता हुँदाहुँदै पछिल्लो समयका नागरिकले पनि परिचय बिगार्न थालेका छन्।

हुन त ख्रुस्चेभले ‘संसारमा नेताहरू जहाँका पनि उस्तै हुन्, तिनीहरू खोला नभएको ठाउँमा पुल बनाउँछन्’ भनेका रहेछन्। तर पछिल्ला दशकमा संसारमा सबैभन्दा बढी झुट बोल्ने नेताहरू पनि हाम्रै देशका हुनुपर्छ। भ्रष्टाचारका लागि अनेक विधि र तरिका अपनाउनमा पनि हाम्रा नेतागणलाई अन्य देशकाले सायदै भेट्टाउलान्।

विश्वकै गरिब मुलुक, भ्रष्टाचार हुने मुलुक, आइक्युमा कमजोर जनता भएको मुलुक, प्रदूषित राजधानी सहर, यस्ता यस्ता परिचय बोकेर बाँच्न हामीलाई साह्रै गाह्रो भइसक्यो। हाम्रो करले पालिएका यतिका सरकार तथा जनप्रतिनिधिको बुद्धि र विवेक, देश र जनताका पक्षमा जाओस्। हाम्रो मौलिक परिचय कायम राखियोस्।

प्रकाशित: २६ जेष्ठ २०८१ ०८:०९ शनिबार

Everest and Lumbini Original identity