चारैतिर उज्यालाे हुने गरी ठुला साना सबै हिमाली परिवार एकत्रित भएर फैलिएका थिए। पुस्तौंदेखि विरासतमा पाई आएको सुनचाँदीका ठुलासाना हिमशिखरहरू हिउँकै बाक्ला बर्कोहरू गमलङ ओढेर रमाउँदै बसेका थिए। तर पछिपछि आफूहरूमाथि अतिक्रमण गर्नेहरूको मिचाइले उनीहरूको उचाइ साँगुरा हुँदै गएका थिए।
कतै त शरीर नै नढाक्ने भैसकेका थिए। आफ्नो अस्तित्व नै जोखिममा पर्दै गएकोमा उनीहरू टाढैबाट रुग्ण देखिन्थे। उनीहरू एकपासमा मौन भाषा प्रयोग गर्दथे। तर, अतिक्रमणकारीहरू उनीहरूको पीरमर्का बुझेर पनि नबुझेको जस्तो गरेर दिनानुदिन अतिक्रमण गर्दै थिए।
कुनै खास सिजनमा अतिक्रमणकारीहरू हुल बाँधेर उनीहरूको चाहना, आवश्यकता, पीडा आदिको ख्याल नगरी को पहिला को होडबाजी लगाउँदै ठूलो समूहमा कुल्चेर, जताततै काट्ने, घोच्ने, फोहरका थुप्रा यत्रतत्र फ्याँकेर उनीहरूको आरोहण गर्नेकोमा आफूहरूको उचाइ बढेको गौरव गर्दै थिए।
सेतो हिउँरूपी गौरवशाली सुनौलो मजेत्रोको अस्तित्व मेटिने आफूहरूले प्रयोग गरिसकेका थरीथरीका पत्रु सरसामान त्यहीं छोडेर हिमालको सुन्दरता हराएको हेक्का राख्दैन थिए। तर, हिमालहरू यसरी आफूहरूको अस्तित्व नै जोखिममा पार्ने गरी बनाएका घाउ चर्किएर उनीहरूलाई पीडा भएको थियो।
यस्तो कुकार्य सभ्य, विकसित मानव समुदायले गरेकोमा दु:खी हुँदै उनीहरू सबै एकजुट भएर एउटै सिजनमा धेरैलाई आफूहरूलाई टेक्ने अनुमति नदिने चेतावनीस्वरूप माथि चढ्दै गरेका एक हुल आराेहीले टेकेको हिम भाग पहिरोद्वारा तलतिर नै चिप्ल्याइदिए।
प्रकाशित: १८ जेष्ठ २०८१ ११:१७ शुक्रबार