कला

सात प्रदेशका छैसाठी कलाकार पुस्कृत

तीन दशकदेखि नेपाली ललितकला लेखनमा सक्रिय कलालेखक ज्ञानेन्द्र विवशलाई ६० हजार राशिको ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’ प्रदान गरिएको छ। उनी नागरिक दैनिकका नियमित स्तम्भ लेखकसमेत हुन्।

‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले विविध विधामा योगदान पुर्‍याउने सात प्रदेशका ६६ कलाकारलाई सो पुरस्कार प्रदान गरिएकाे थियाे।

उक्त समारोहमा यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान पूर्व कुलपति किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गरिएकाे थियाे। पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ।

यसैगरी एक लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो।

पुरस्कार वितरण तथा प्रदर्शनी उद्घाटन समारोहमा प्रमुख अतिथि संस्कृति मन्त्री तामाङले नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ललिलकलाको संरक्षण, सम्वर्द्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको बताए।

प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्यहरू गरेको धारणा पनि उनले राखे।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन प्रतिष्ठानले काम गरिरहेको बताए। उनले यसबाट कला सिर्जनमा परिणाम देखिए तापनि गुणात्मक रूपमा अझै परिष्कृत हुन बाँकी रहेको धारणा राखे।

प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापना कालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्त्व रहेको बताए।

उनले प्रतिष्ठानको इतिहासलाई गर्वका साथ ग्रहण गर्ने र ललितकलाको उन्नयनका खातिर वर्तमान राम्रो र भविष्य अझै सुन्दर बनाउने कार्यमा प्रतिष्ठान लागेको बताए।

‘अनुसन्धानविना उत्कृष्ट सिर्जना हुँदैन। त्यसकारण प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानलाई आफ्नो रणनीति बनाई काम गरिरहेको छ। हामीले नेपाली मौलिक ज्ञान, परम्परा, कला, शिल्पलाई पुनर्जागरणको चरणमा ल्याउन काम गरिरहेका छौं,  उनले भने।

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाली कलाको महाेत्सवका रूपमा लिइने यस प्रदर्शनी नेपाली ललितकलाको क्षेत्रलाई स्थानीय तहदेखि केन्द्रसम्मको गन्तव्यमा लैजान सफल भएको बताए।

उनले सातै प्रदेशका १ हजार बढी कलाकारलाई ‘प्रादेशिक प्रदर्शनी २०८०’ मार्फत जोडेर गरिएको यस प्रदर्शनीले ललितकलाका क्षेत्रमा पुनर्जागरण ल्याएको धारणा राखे।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८० मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ गरेको हो।

प्रकाशित: १८ जेष्ठ २०८१ १०:३५ शुक्रबार

National Fine Arts Writing Award Campaign for social transformation fine arts