कला

पाकिस्तानको कार्यक्रममा घन्कियो नेपाली गीत

पाकिस्ताकाे राष्ट्रिय दिवसकाे अवसरमा अायाेजना गरिएकाे कार्यक्रममा नेपाली गीत गाउँदै पाकिस्तानी गायिका सारा रजा खान । तस्बिर : शालिक

काठमाडौँ – शुक्रबार पाकिस्तानले आफ्नो ७८ औँ राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा पनि पाकिस्तानी राष्ट्रिय दिवस मनाइयो।

पाकिस्तानी दूतावासको आयोजनामा शुक्रबार साँझ काठमाडौँमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षत्री, काँग्रेस नेता रामचन्द्र पौडेल, नेपालका लागि भारतीय राजदूत मञ्जिप सिंह पुरी लगायतको उपस्थितिबीच उक्त कार्यक्रम मनाइयाे ।

उपराष्ट्रपति पुन र नेपालका लागि पाकिस्तानी राजदूत डा.मजहर जावेदले संयुक्त रुपमा केक काटेपछि सुरु भएको उक्त कार्यक्रममा पाकिस्तानी गायिका सारा रजा खानले पाकिस्तानी तथा नेपाली गीत/गजल सुनाउँदै माहोललाई झनै रोमाञ्चक बनाएकी थिइन्।

पाकिस्तानी राष्ट्रिय गीतबाट आफ्नो प्रस्तुती सुरु गरेकी साराले गुलाम अलिको नेपाली गजल गाजलु ति ठूला ठूला आँखा गाउँदा उपस्थित नेपाली तथा पाकिस्तानी जोडदार तालीका साथ रमाएका थिए।

कार्यक्रममा उनले नेपालको निकै लोकप्रिय गीत रेशम फिरिरि आफ्नै लवजमा गाउँदा उपस्थित सबैले ताली रोक्न सकेनन्। नेपाली र नेपाली गीतको तारिफ गर्दै उनले फेरि नेपालको अर्को चर्चित गीत कुटुमा कुटु सुनाइन्।

पाकिस्तान र नेपालको सुमधुर सम्बन्धका कारण आफूले नेपालमा आफ्नो प्रस्तुती प्रस्तुत गर्न सकेको  भन्दै उनले नेपाल र नेपालीको खुलेरै तारिफ गरिन्। 

प्रकाशित: १० चैत्र २०७४ ०८:०३ शनिबार