कला

सुरु हुँदै नेपाली फिल्म महोत्सव ‘किम्फ’

जेठ १६ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिन पारेर नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आएको छ। सन् १०५३ को मे २९ तारिखमा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहण गरेको दिनलाई दिवसको रूपमा मनाउँदै यस वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सुरु हुँदै छ।

यसअघि अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर डिसेम्बर ११ तारिखमा आयोजना हुँदै आएको किम्फले यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना हुन लागेको जानकारी आयोजक किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बुले दिइन्।

‘किम्फको आयोजना गर्न थालेको २४ वर्ष भएछ,’ किम्फ फाउन्डेसनकी अध्यक्ष लिम्बुले स्मरण गरिन्, ‘किम्फको २१औं संस्करणसम्म आइपुग्दा विभिन्न खालका उताढचढावहरूको अनुभव गरियो। यत्तिका वर्षमा हामीले नयाँ फिल्म मेकरहरूलाई प्लेटफर्म प्रदान गरेर फिल्मको माध्यमबाट समाजलाई जगरुक बनायौं भन्ने लाग्छ।

त्यत्ति मात्र नभएर दीपक रौनियार, अभिनाश विक्रम शाह र मीन भामजस्ता फिल्म मेकरलाई सुरुवाती दिनमा प्लेटफर्म दिएर राम्रा र कलात्मक फिल्महरू दर्शकमाझ पुर्‍याउन भूमिका निर्वाह गर्यौं। नयाँ फिल्म मेकरलाई प्रोत्साहन गर्नेदेखि ग्रान्डमार्फत राम्रा कलात्मक फिल्महरू किम्फबाट बनेका छन्।

नेपाली कथालाई किम्फले स्पेस दिएको छ। त्यसबाहेक विदेशबाट आएका राम्रा तथा कलात्मक फिल्म नेपाली दर्शकलाई देखाएर बहससमेत गराउन किम्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो भन्ने लाग्छ।’

२१औं संस्करणसम्म आइपुग्दा किम्फमा ११ सयभन्दा बढी कथानक फिल्म, डकुमेन्ट्री र सर्ट फिल्म प्रदर्शन भइसकेका छन्। त्यसमध्ये दुई सयभन्दा बढी ‘नेपाल पानारोमा’अन्तर्गत प्रदर्शन भइसकेका छन्। महोत्सवले सन् २००७ देखि ‘नेपाल पानारोमा’ सुरु गरेको हो।

त्यस्तै ६० हाराहारीका मास्टरक्लास, कार्यशाला र प्रदर्शनी आयोजना गरिसकेको छ। सन् २०१९ देखि सुरू टोनी हेगन फाउन्डेसन डकुमेन्ट्री ग्रान्डअन्तर्गत हालसम्म १६ जनाले फिल्म बनाउन अनुदान प्राप्त गरिसकेका छन्। त्यसमध्ये १४ वटा फिल्म बनेका छन् भने दुईवटा बनिरहेका छन्।

आगामी जेठ १६ (मे २९) देखि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सुरु हुने महोत्सव जेठ २० (जुन २ तारिख) सम्म चल्नेछ। महोत्सवमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्। ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ नारासहित आयोजना हुन लागेको महोत्सवको २१औं संस्करणको उद्घाटन इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रिमियरबाट सुरु हुँदै छ। नेपालमा खिचिएको यो डकुमेन्ट्रीमा बाघको बच्चालाई सिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथा समेटिएको छ।

किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत डकुमेन्ट्री, कथानक, सर्ट तथा प्रयोगात्मक फिल्म समावेश छन्। त्यस्तै नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत हुनेछन्।

यसपटक किम्फमा ‘बाइ दोज हु व्हेयर देअर १९२१, १९२२, १९२३, १९२४’ शीर्षकमा फिल्मसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासका दुर्लभ फोटा तथा कथानकको प्रदर्शनी हुनेछ। नेपाल–कोरिया मित्रताको ५०औं वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्मको विशेष प्रदर्शन हुनेछ।

मानवशास्त्री डा. सुरेश ढकाल, बेलायती निर्देशक तथा निर्माता डिना मुफ्ती र स्विटजरल्यान्डकी फिल्म सम्पादक रेजिना बत्स्र्कीको निर्णायक टोलीले यसपटक किम्फमा प्रदर्शन भएका फिल्महरूबाट उत्कृष्ट छनोट गर्नेछन्। उनीहरूले अन्तर्राष्ट्रिय विधाका तीनवटा फिचर कथानक, ११ वटा फिचर डकुमेन्ट्री, ७/७ वटा सर्ट फिल्म र डकुमेन्ट्री तथा नेपाल पानोरामामा विधाका १३  डकुमेन्ट्री र १६ कथानकमध्येबाट विजेता छनोट गर्नेछन्।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर डकुमेन्ट्रीलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट सर्ट डकुमेन्ट्रीलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १५ सय डलर र उत्कृष्ट सर्ट कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिने किम्फ फाउन्डेसनले जनाएको छ।

नेपाल पानोरामा सर्वोत्कृष्ट डकुमेन्ट्री र उत्कृष्ट कथानक फिल्मले क्रमशः एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दर्शक पुरस्कारको राशि एक लाख रूपैयाँ छ। इन्टरनेसनल एलायन्स अफ माउन्टेन फिल्म (आइएएमएफ) को सदस्य रहेको किम्फलाई यस महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै छ।

सन् २०२२ को २०औं संस्करणसम्म किम्फलाई हिमाल एसोसिएसनले आयोजना गर्दै आएको थियो। हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले किम्फको जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गरे।

नयाँ संस्था दर्ता गर्न समय लागेपछि गत वर्ष किम्फ आयोजना हुन सकेन। किम्फ फाउन्डेसन दर्ता भएपछि पहिलो पटक यही संस्थामार्फत महोत्सव आयोजना हुँदै छ।

‘सधैं पुरानो टोली भइरहन्छ भन्ने छैन,’ उनले भनिन्, ‘किम्फको नेतृत्वमा युवा पुस्तालाई ल्याउनुपर्छ भनेर हामीले यसपटक विभिन्न संस्थासँग सहकार्य गरेर सोही अनुसार सेसन तयार गरेका छौं। काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुने महोत्सवले काठमाडौंलाई फिल्म सिटीको रूपमा अघि बढाउन जोड दिएको छ।’

महोत्सवमा महिला फिल्मकर्मीलाई लक्षित गरेर ‘पर्दा पछाडिका महिला’ नामक अन्तक्र्रिया हुँदै छ। ‘नेपाल पानारोमामा अधिकांश महिला फिल्म मेकरहरूका फिल्म सहभागी छन्,’ उनले भनिन्, ‘महिलाको कथा महिलाले भन्नुपर्छ भनेर हामीले यसपटक उहाँहरूका फिल्मलाई प्राथमिकता राखेका हौं। अबका दिनमा महिलाका कथाहरू आउनुपर्छ भनेर विभिन्न कार्यक्रममार्फत हामीले उहाँहरूलाई प्रोत्साहन गरिरहेका छौं।’

महोत्सवमा ‘कट कथा’ले स्टोरी पिचिङ गरिरहेको छ भने स्टोरी टेलर्सको सहकार्यमा निर्देशक मीन भाम, शिलशिला आचार्य र दावा याङ्जुङले आआफ्नो कथा सुनाउनेछन्। महोत्सवमा युवालाई लक्षित गरेर ब्रिटिस काउन्सिलको सहकार्यमा ‘च्याम्पिनिङ योङ फिल्ममेकर्स’ गरिँदै छ। यसमा उनीहरूले फिल्म बनाउने आधारभूत शैली सिक्नेछन्। किम्फले यसअघि गरिरहेको फोटो प्रदर्शनीले यसपटक समेत निरन्तरता पाएको छ।

‘नेपाल पानारोमा’अन्तर्गतका यस पटक महोत्सवका लागि सयवटा हाराहारी फिल्महरूले आवेदन दिएको उनले बताइन्। ‘यसअघि ४० हाराहारीको नेपाली फिल्म महोत्सवका लागि आउने गरेकामा भने यसपटक सय हाराहारीले आवेदन दिए,’ उनले सुनाइन्, ‘युवाहरूले बनाएका फिल्म देखाउने प्लेटफर्म नहुँदा धेरै फिल्म आएको हुनुपर्छ।’ ‘नेपाल पानारोमा’मा १६ वटा आख्यान र १३ वटा डकुमेन्ट्री छनोट भएका छन्।

‘सुरुवाती दिनदेखि किम्फमा आबद्ध भएकाले अहिले यसलाई कसरी टिकाउने भन्नेमा केन्द्रित भएको छु,’ उनले भनिन्, ‘दर्शक र फिल्ममेकरहरू अन्तक्र्रिया गर्ने प्लेटफर्मको रूपमा यसलाई अघि बढाएका छौं।

त्यस्तै शैक्षिक, मानवीय र सांस्कृतिक अनुभव फिल्म, मिडिया कला र डिजिटल कथावाचनमार्फत आदानप्रदान गर्ने पुलको रूपमा विकसित गर्न जोड दिएका छौं। फिल्ममेकर मात्र नभएर दर्शकलाई फिल्म र कलामार्फत जागरूप गराउन लागिपरेका छौं। किम्फको स्वामित्व सबैले लिनुपर्छ।

हामीले डिजिटल प्लेटफर्ममार्फत सामग्री तयार गर्न जोड दिएका छौं। फिल्ममेकरको विकासदेखि फिल्म आर्काइभ र सामुदायिक संलग्नताका कार्यक्रममा केन्द्रित भएर अबको किम्फलाई अघि बढाउन लागिपरेका छौं। यसले महोत्सवको महत्त्व बढाउनेमा आशावादी छु।’

फिल्म निर्देशक केसाङ छेतेनका अनुसार फिल्म र फिल्म मेकरहरूलाई प्लेटफर्म चाहिने हुँदा नेपालको सन्दर्भमा किम्फप्रमुख फिल्म महोत्सव हो। ‘नयाँ फिल्ममेकर र फिल्महरूलाई प्लेटफर्म चाहिने हुँदा किम्फ प्रमुख फिल्म महोत्सव हो,’ उनले भने, ‘यो हाम्रो लागि सकारात्मक कुरा हो। हामीले बनाएका फिल्महरू विदेशले हेर्नका लागि बजारसम्म पुग्नु आवश्यक छ। किम्फले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म नेपाली फिल्मलाई पुर्‍याउन प्लेटफर्म दिएको छ। लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको किम्फले राम्रा फिल्म मेकरहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोगी भएको छ। त्यसमा देखाउने फिल्म हेर्न दर्शकहरूको घुँइचो लाग्ने गरेको छ। यो स्थितिमा फिल्म मेकर र दर्शकबीच विचार आदानप्रदान गर्ने प्लेटफर्मसमेत किम्फले सिर्जना गरिदिएको छ।’

नेपाली फिल्म मेकरका लागि किम्फ महत्त्वपूर्ण रहेको दाबी उनले गरे। ‘हामीले बनाएको फिल्म दर्शकले हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘तर दर्शकमार्फत पुग्ने प्लेटफर्म कम भएको अवस्थामा किम्फ हाम्रा लागि समेत महत्त्वपूर्ण रहेको छ।’

सरकार र स्थानीय प्रशासनले किम्फलाई सहयोग गरेर पर्यटकीय आकर्षणको रूपमा अघि बढाउनुपर्ने तर्क उनले गरे। ‘यसले फिल्म निर्माणलाई प्रोत्साहन गर्नेदेखि फिल्ममार्फत नेपालको पर्यटन प्रवद्र्धन सकिन्छ। यसका लागि सरकारदेखि व्यापारिक घरानालगायतले प्रोत्साहन गर्नु आवश्यक छ,’ उनले भने, ‘फिल्म महोत्सवका आफ्नै दर्शक हुने भएकाले यस महोत्सवले फिल्मको भ्यालु बढाउन मद्दत गर्दछ।  

प्रकाशित: १२ जेष्ठ २०८१ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App