कला

प्रदीप खड्का भन्छन्: ‘वास्तविक जीवनमा छिट्टै विवाह हुन्छ’

नेपाली चलचित्र ‘पुजार सार्की’ को प्रिमियर शो भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो।

प्रिमियर हेर्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रतिक्रियाकाे आफू भोको रहेको र सोहीअनुसार दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया दिएकोमा खुसी लागेको प्रतिक्रिया दिए।

पुजार सार्कीले उठाएको विषय आफ्नो लागि आफ्नो जीवन र सिनेमाको लागि इतिहास रहेको उनको भनाइ थियो। पुजार सार्की वास्तविक कथावस्तु रहेको उनले सुनाए।

अभिनेता प्रदीप खड्काले चलचित्रमा डेटिङ रोमान्स कम भयो नि भन्ने प्रश्नमा अफ स्क्रिन बढी भएर अन स्क्रिन कम भएको हुनसक्ने भन्दै हासीमजाक गरे।

विवाहको सम्बन्धबारेको प्रश्नमा उनले वास्तविक जीवनमा अब छिटै विवाह गर्ने बताए।

अभिनेत्री अञ्जना बराइलीले चलचित्र दर्शकले मन पराइदिनुले अभिनय गर्ने पात्रहरु सबैले न्याय दिन सकेको आफूले बुझेको बताइन्। त्यस्तै अर्की अभिनेत्री परीक्षा लिम्बूले दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेकाले खुसी लागेको सुनाइन्।

बिहीबार (आज) बाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’ लाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’ लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

प्रकाशित: १० जेष्ठ २०८१ १४:१६ बिहीबार