कला

अवमूल्यन

लघुकथा

“लहै आयो...!”

“बिक्रीको माल आयो...!”

ऊ कराउँदै थियो तर खासै कसैले किन्ने चासो देखाइरहेका थिएनन। ऊ हरेक तरहले प्रचार गर्दै थियो, व्याख्या गर्दै थियो। गुण गाउँदै थियो। खासियत फलाक्दै थियो। जसरी पनि बेच्न लागिपरेको थियो। तर,किन्ने चासो कसैले देखाइरहेका थिएनन।

“के बेच्न लागेको हो तपाईले?” एउटा विदेशीले चासो देखायो।

“म...!” म आफैलाई बेच्न खोजेको हो, किन्नुहुन्छ मलाई?”

उसले नाख खुम्च्यायो। बाइपास गर्‍यो!

“सर किन्ने हो मलाई, म आफैंलाई बेच्न चाहन्छु,” अर्कालाई सोध्यो। उसले पनि वास्ता गरेन।

“के हो...? मेरो जरुरत नै नभएको हो कसैलाई...?”

“म मूल्यहीन हो...?”

“हैनहैन...! म त अमूल्य हो...! कसरी मूल्यहीन हुन सक्छु।”

उसलाई यथार्थमा विश्वास लागेन।

“सर, मलाई किन्नुहुन्छ? मैले मलाई बिक्रीमा राखेको छु।” उसले अर्को विदेशीलाई सोध्यो।

-भयो नकिन्ने, छोटो उत्तर।

“किन्नु न सर डिस्काउन्टमा!”

“सर आखिर कोही मलाई किन किन्न मान्दैनन! कम्तीमा यति त बताइदिनुस्!”

त्यो विदेशीले एकछिन उपहासपूर्ण नजरले हेर्‍यो!

“जुन कुरा सित्तैमा पाइन्छ, त्यो कुरा कसले किन्छ मूर्ख?”

प्रकाशित: ३ जेष्ठ २०८१ ०८:३७ बिहीबार

devaluation scornful look Short story