“आहा कति धेरै पुस्तक रहेछ्न्।!’’ कोठामा सजाइएका धार्मिक पुस्तकहरू देखेर रुद्रप्रादजीको छिमेकीले भने।
रुद्रप्रसादजीले भने, “के गर्नु अध्यात्मिक मन भए पनि पहिला जागिरे जीवनमा फुर्सद मिलेन। अहिले प्रवचन र कीर्तन भएको ठाउँमा पुग्ने पनि गरेको छु।’’
घर, गाडी र बगैंंचाको सान र सौगात देखेर अचम्म मानेका छिमेकी उनीसँग विदा भएर गए।
“हैन हिजो श्रीधर बाजेले भनेको ठाउँमा जाने हैन?’’ चियाको खाली कप लिन आएकी श्रीमतीको बोलीले उनी झस्के।
छोराको विवाह गर्ने उमेर भए पनि चित्तबुझ्दो घरानाबाट कुरा आएको छैन। हुन त उनको खानदान पनि उनैलाई मात्र थाहा छ काठमाडौंमा।
उनले भने,“हो त है। श्रीधर बाजे पनि कुरा सबै बुझ्न मानेनन्। के गर्ने जिल्लाबासी हो रे। मिले कुरा अगाडि बढ्ला नभए एउटा जिल्लाबासीसँग परिचय होला।’’
कुरा गर्दा गर्दै श्रीधर बाजे आइपुगे।
श्रीधर बाजेले भने, “पहिला हामीले भेटौं क्यारे। हुने जस्तो भएमा बाँकी कुरा केटाकेटीलाई आफैंले बुझ् भनिदिए भयो।’’
“फोनमै कुरा गरे पनि हुने। हजूर त्यत्ति पनि गराउन सक्नु भएन।’’ रुद्रप्रसादजीले बाजेसँग गुनासो गर्नुभयो।
श्रीधर बाजेले भने,“नजिकै भेटौं न भन्ने कुरा भयो उताबाट।’’
नजिकैको क्याफेमा भेट्ने निधोले उनीहरू घरबाट निस्किए। क्याफेको कुनाको टेबलमा उनको प्रतीक्षामा एकजना बसिरहेका थिए। अभिवादन आदानप्रदान गर्ने बेलामा आँखा जुधे। रुद्रप्रसाद भित्रैबाट झस्कने गरेर तर्से।
“पछि आफ्नै मान्छे पर्लान् भन्ने भएको भए के त्यस्तो गर्दो हुँ र।’’ उनले मनमा कुरा खेलाए तर उनको दिमागमा भने घुस खान नपाएर अड्काएको फाइलको याद आइरह्यो।
प्रकाशित: १७ वैशाख २०८१ १३:५१ सोमबार