घरको ढोकाबाहिर उभिरहेको देखेर सोधेँ, ‘कस्लाई खोजेको बाबू?’
‘कसैलाई पनि होइन। जाडो भएर एकै छिन बसेको।’ उसले उत्तर दियो।
उसकाे अनुहार मलिन थियो। असोज महिनाको बिहानीपख भएकाले अलि चिसो नै थियो। केटाले बाक्लो लुगा लगाएको थिएन। हाम्रा त्यत्रै एउटा छोरा थियो। मलाई त्यसको माया लाग्यो र भनें, ‘भित्र हिंड। म न्यानो लुगा दिन्छु अनि केही खाने कुरा पनि दिन्छु।’
उसले पहिले त मानेन। पछि डराउँदै भन्यो, ‘म चोर होइन। खराव केटा पनि होइन। यहाँ आँगनमा मजस्तै दाइहरू खेलेको देखेर हेर्न मात्र आएको।’
भित्र लगेर न्यानो लुगा र तातो खाना दिएँ। भित्तामा टाँगिएका तस्वीरहरू ट्वाल परेर हेर्दै उसले भन्यो, ‘यो कस्को तस्वीर?’
मैले छोटो उत्तर दिएँ, ‘हाम्रो परिवारको।’
‘यो सानो केटी तपाईंको नन्द हो?’ उसले अनायास भन्यो।
मैले सहमति जनाएँ, ‘हो।’
त्यसपछि ऊ केही बोलेन। तर, बारम्बार भित्तामा झुन्ड्याएको तस्वीरतिर आँखा लगाइरह्यो। मलाई अचम्म लाग्यो अनि सोधेँ, ‘तस्वीर किन हेरिरहेको?’
‘तपाईलाई म आमा भन्छु है।’ उसले सोध्यो।
मैले जिज्ञासा राखेँ, ‘किन?’
उसले भन्यो, ‘आमा भनेपछि मनको कुरा सबै भन्न मिल्छ नि। त्यसैले।’
‘हुन्छ,मलाई आमा नै भन।’ मैले अनुमति दिएँ।
उसले फेरि भित्ताको तस्वीर हेर्याे। आँखाभरि आँसु टलपलायो। अनि भन्यो, ‘हजुरबुबाले हुन्नभन्दा भन्दै पनि मेरी आमा लाहुरेसँग मुग्लान पसेकी रे। म मुग्लानमा नै जन्मिएको रे। त्यसपछि माइतीले मुखै हेरेनन् रे। बाआमालाई खोलाले बगाएर बेपत्ता पारेपछि म आफन्तहरूको खोजीमा नेपाल आएको। बेखर्ची भएर धेरै दुख पाएँ। आज हजुरले मलाई आमाजस्तै माया गर्नुभयो।’
अनि तस्वीरमा भएकी केटीलाई औल्याउँदै भन्यो, ‘यिनै हुन् मेरी जन्म दिने आमा।’
प्रकाशित: १६ वैशाख २०८१ १३:५८ आइतबार