कला

विदेशमा नेपाली हुनुको अर्थ

फाइल तस्बिर।

सन् १९७८ को गर्मी यामको ढल्कँदो साँझमा म्युनिख जान म एक घण्टादेखि अटोवाहन मुनि पर्खिरहेको थिएँ। त्यतिबेला म २४ वर्षको थिएँ। विश्वविद्यालयको विद्यार्थी थिएँ। मेरो कपाल कालो थियो।

म पानीले निथ्रुक्क भिजेको थिएँ। बाटोको किनारमा कुर्दै गर्दा सडकमा धेरै कार हुइँकिए तर एउटाले पनि मेरो औंलाको इसारालाई ध्यान दिएनन्। अँध्यारो झन् गहन हुँदै थियो।

अचानक एउटा फक्सवागन बिटल कार मेरो अगाडि रोकियो र चालकले मलाई भित्र पस्न इसारा गर्‍यो। मैले भिजेको ज्याकेट निचोरें। रकस्याक पछाडिको सिटमा राखेर कारभित्र छिरें।

‘के तिमी नेपाल गएको छौ?’ चालकको पहिलो प्रश्न थियो त्यो। अचम्म मान्दै मैले जवाफ दिएँ, ‘म नेपाली नै हुँ’। उनको कारको हेडलाइटले मेरो रकस्याकपछाडि टाँसिएको नेपालको झन्डा प्रस्ट देखेर गाडी रोकेका रहेछन्। उनी हालसालै काठमाडौंबाट फर्किएका ती चालक मेरो अगाडि रोकिएका रहेछन्।

सहरतिर हुइकिँदै गर्दा हामीले धेरै कुराकानी गर्‍यौं। उनले म्युनिखमा आफ्नो अतिथि कोठामा बस्न सुविधासमेत दिए मलाई। केही दिनको आनन्ददायी बसाइमा मेलै म्युनिखका दर्शनीय स्थलहरूको भ्रमण गरें। त्यो हिप्पीहरूको युग थियो, जब युरोपेलीहरू इरान र अफगानिस्तान हुँदै सडकमार्ग (ओभरल्यान्ड) हुँदै आफ्ना रूपान्तरित भ्यान र डबल डेकर बसहरूमा काठमाडौं आउँथे। म चाहिँ एक नेपाली भएर विपरीत दिशातिर जाँदै थिए।

त्यसपछिका वर्षमा मैले यात्रा गरेका हरेक देशमा विश्वले नेपालीलाई कसरी हेर्छ भन्ने कुरा बुझ्दै गएँ। अमेरिकीभन्दा फरक देखिन क्यानेडेलीहरूले आफ्नो रकस्याकमा झन्डा राखेर आफ्नो देशको पहिचान दिएको मैले देखेको थिएँ। मैले पनि म भारतबाट आएको होइन भनेर देखाउन नेपालको झन्डा राखेको थिएँ क्यारे।

प्रतिष्ठित रातो–त्रिकोण, निलो सीमा, सूर्य र चन्द्रमा अंकित हाम्रो झन्डा अन्य देशको भन्दा प्रस्ट हिसाबले फरक छ। यो हाम्रो फरक पहिचान हो। सगरमाथा हाम्रो अर्को पहिचान हो। चीनसँग सगरमाथा जोडिए पनि दक्षिणी भेगबाट यो हिमाल अत्यधिक आरोहरण गरिने भएकाले सगरमाथा नेपालसँग बढी चर्चित छ र त्यही हिसाबले नेपाललाई विश्वमा चिनिन्छ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने त थेगो नै भइसक्यो। शान्तिका दुत बुद्धबाहेक गोर्खाली योद्धाले पनि नेपालको पहिचानमा ठोस योगदान पुर्‍याएको छ।  

जतिबेला सन् १८१४ मा बेलायतको इस्ट इन्डिया कम्पनीले नेपालमा आक्रमण गरेको थियो, उनीहरू नेपाली सेनाको वीरता र बफादारिताबाट निकै प्रभावित थिए। पछि गएर दुई पक्षबिच भएको शान्ति सन्धिमा नेपाली सेनालाई भर्ती गराउने सहमति भएको थियो।  

गोर्खा सिपाहीहरूले अंग्रेजका लागि लडे र मारिए पनि। यो सिलसिलाको सुरुवात सन् १८१७ मा भएको पिन्डेरी युद्धबाट भएको थियो। गोर्खाली फौज सन् २००४ देखि २०१४ सम्म अफगानिस्तानको हेलमान्ड प्रान्तमा नेटो सेनाको एक हिस्सा थियो। पहिलो विश्व युद्धमा २० हजार गोर्खाली घाइते भएका थिए भने ६ हजार मारिएका थिए।

यसैगरी दोस्रो विश्वयुद्धका क्रममा लगभग ३० हजार गोर्खालीको अंगभंग अथवा मृत्यु भएको थियो। अहिलेको युगमा पनि एक देशका नागरिक अर्काका लागि लड्ने पुरानो प्रचलनलाई नेपालीहरूले निरन्तरता दिएका छन्। बेलायती तथा भारतीय सैनिक, सिंगापुर पुलिस, ओमा र ब्रुनाईमा दरबार गार्डका रूपमा नेपालीले सेवा गरिरहेका छन्।

हिमाल आरोहणमा उच्च क्षमता र सिपका कारण नेपालका शेर्पाले अंग्रेजी भाषामा समेत प्रवेश पाएका छन्। जी–७ समूहका बैठकमा शीर्ष नेताहरूलाई सहयोग गर्ने तथा बैठकको महत्वपूर्ण एजेन्डाको भारी बोक्ने सहायकका रूपमा काम गर्ने व्यक्तिलाई पनि शेर्पा भनिने थालेको छ।

‘शेर्पा’ नै अंग्रेजी भाषाको शब्दकोशमा राखिइसक्यो। विद्यार्थीकालदेखि मैले रेल अथवा जहाजमा यात्रा गर्ने क्रममा कुनै अपरिचितले म नेपाली भन्ने थाहा पाएपछि सोध्ने पहिलो प्रश्न नै ‘तिमी गोर्खा हौ कि शेर्पा ? ’ हो। पछि गएर सन् १९८० ताका एक अन्तर्राष्ट्रिय न्युज एजेन्सीको पत्रकारका रूपमा मैले काम गर्दा फाइल गर्ने अधिकांश समाचार हिमाल आरोहणसँग सम्बन्धित हुन्थे।

हङकङ र लन्डनका समाचार डेस्कका सम्पादकहरू पश्चिमेली आरोहीका हिउँले खाएका औंलाहरूमा बढी रुचि राख्थे। उनीहरू हिउँपहिरोमा पुरिएका शेर्पाबारे गाइडबारे कम इच्छुक थिए।

समग्रमा भन्दा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रहेका हामी नै नेपालबारे यस प्रकारको पुरातन (स्टेरियोटाइप) धारणा बनाउन जिम्मेवार छौं। हामीले बहादुर सैनिक, साहसी आरोही, यति पाइने नेपाली हिमाल भनेर नेपाललाई चिनाएका छौं।

यसले केही हिसाबले नेपालको पर्यटन र ब्रान्डिङलाई सघाउ पुयाउला तर यो पूर्ण रूपमा सही होइन। बाह्य विश्व (कतिपय नेपालीसमेत) ले नेपाल सानो गरिब पर्वतीय देशका रूपमा चित्रण गर्छन्। उनीहरू तिनै अर्थमा गलत छन्।

नेपाल गरिब होइन। हाम्रा नेताहरूको दिमाग गरिब हो। पछिल्ला १५ वर्षमा हामीले १४ सरकार फेरेका छौं। वर्तमान प्रधानमन्त्री तीनपटक सोही पदमा दोहोरिइसकेका छन्। यसअघिका प्रधानमन्त्री पाँचपटक प्रधानमन्त्री भइसकेका छन्। ज्योतिषले गरेको सातपटकसम्म प्रधानमन्त्री हुने भविष्यवाणीलाई विश्वास गर्दै उनी पुनः प्रधानमन्त्री हुनेमा ढुक्क छन्।

नेपाल सानो छैन। कुल तीन करोड जनसंख्या रहेको नेपाल जनसंख्याका हिसाबले विश्वको ४०औं ठुलो देश हो। भूगोलका हिसाबले नेपाल एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

पहाड र उपत्यकालाई सम्म पार्ने हो भने नेपालको क्षेत्रफल अमेरिका जत्रै हुन्थ्यो। आरोहीहरूले नेपालमा उत्तर, दक्षिण, पूर्व र पश्चिम गरी चार दिशामा मात्र नभई तल र माथिसमेत गरी ६ दिशा रहेको भनेर ठट्टा गर्ने गर्छन्।

नेपाल पहाडी मुलुक मात्र होइन। भारतसँग सीमा जोडिएको साँघुरो तराई क्षेत्रमा नेपालको कुल जनसंख्याको ५३ प्रतिशत वसोवास गर्छन्, जब कि तराईले नेपालको क्षेत्रफलको २० प्रतिशत मात्रै ओगटेको छ। भौगोलिक हिसाबले सरदर ८० किलोमिटर दुरीमा नेपाल समुद्री सतहदेखि १०० मिटरभन्दा कमदेखि आठ हजार ८४८ मिटरको उचाइ छ। यस हिसाबले अन्य समग्र महादेशमा पाइने जलवायु र जैविक विविधता नेपालको एउटा पहाडमा पाइन्छ। एसियाको मध्यभागमा रहेको नेपालमा ९९ भाषा र १२३ जनजाति रहेका छन्। यस हिसाबले एक नेपाल र एक भाषाभन्दा फरक पहिचान नेपालको छ।

नेपाल कहिल्यै उपनिवेशमा नरहनुका पछाडि दुई कारण छन्। उत्तरमा रहेको उच्च हिमाल र मलेरिया प्रकोपबाट आक्रान्त तराईमा रहेका घना जंगलले आक्रमणकारीलाई रोक्न सहयोग पुर्‍याएको हो। पहाडी र दुर्गम भूभाग रहेकाले बेलायती तथा चिनिया सैनिक जनरलहरूले नेपालमा शासन गर्न कठिन हुने ठानेर नेपाललाई एक्लै छाडेको पनि हुन सक्छ।

नेपालमा तेल र खनिज पदार्थको प्रचुर खानी पनि छैन। त्यस हिसाबले विश्वका शक्ति राष्ट्रले आर्थिक हिसाबले अन्यत्रझैं नेपाललाई सामरिक हिसाबले कम महत्वपूर्ण नहुनु पनि नेपालको अक्षुण स्वतन्त्रताको हिसाबले फाइदाजनक रहेको मान्न सकिन्छ।  

औपनिवेशिक विरासत र आधिपत्य नभएकाले हाम्रो राष्ट्रिय चरित्रमा पनि यसको असर देखिन्छ। हामी यसमा गर्वित छौं। हामी हाम्रा सम्पदाप्रति गर्वित छौं र हाम्रा दैनिकीमा हामी लो प्रोफाइलमा अनुकूलित भएर बाँच्न अभ्यस्त भएका छौं।  

विगतमा आमसर्वसाधारणको जीवनस्तर उकास्न तथा असफल शासकलाई हटाउन नेपालीहरू सडकमा उत्रिएका छन्। कठिनाइसँग जुध्न सक्ने क्षमता नेपालीमा छ। कुल जनसंख्याको १५ प्रतिशत र त्यसमध्ये पनि अधिकांश २० देखि ४० वर्षका नेपाली युवा जनसंख्या हाल विदेशमा बसोबास र कार्यरत छन्।

काठमाडौंबाट हुने विदेश उडानमा अधिकांश कामदार, विद्यार्थी, आप्रवासी हुने गरेका छन्। सुरक्षा जाँच, हवाइसेवा, कर्मचारी तथा नेपाली कामदारको अधिकतम उपस्थितिका कारण दुबई र दोहाका विमानस्थल नेपालकै विमानस्थल हुन् कि भन्ने भान हुन्छ। काम गर्न नसक्ने नेतालाई सत्ताच्युत गर्नुको साटो नेपालीहरू विदेश पलायन हुनमै उद्यत् देखिन्छन्।

यसो हुँदाहुँदै पनि विदेशमा जतिबेला मेरो परिचय दिन्छु, अधिकांशले आखा उघार्दै र विस्मयादिबोधक हिसाबले भन्छन्–‘वाह !’

सत्तामा रहेकाले सधैं नष्ट गर्ने दिशामा काम गर्दागर्दे पनि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा कसरी यसप्रकारको ब्रान्ड स्थापना गर्न सकेको छ भनेर म कहिलेकाहीं सोच्छु। सगरमाथामा आरोहीहरूको भिड नकारात्मकता हुँदाहुँदै पनि आरोहण दलमा कमी आएको छैन। काठमाडौंका सडकमा झुन्डिएका तारहरू पनि टिकटक निर्माताहरूका लागि आकर्षण बनेका छन्।

त्रिभुवन विमास्थलबाट जति नेपाली बिदेसिन्छन्, त्यति नै पर्यटक नेपाल भित्रिइरहेका छन्। घुमन्ते मिडियाकर्मीका हिसाबले १५ वर्षसम्म काम गरेर म सन् १९९७ मा नेपाल फर्केको हुँ। संकट थेग्न सक्ने र कतै पनि घुल्न सक्ने नेपालीको क्षमताको म प्रशंसक हुँ।  

कल्पना गराैं, हाम्रो नेतृत्व प्रतिस्पर्धी र इमानदार हुन सकेको अवस्थामा, समाज समावेशी र न्यायपूर्ण भएको अवस्थामा र पानीको धाराबाट सिधा पिउन सकिने पानी आउन सम्भव भएको भए नेपाल कस्तो हुन्थ्यो होला।

विदेशबाट नेपाल आउने हरेक मित्रलाई म हरेक पटक नेपालको नयाँ ठाउँ जान सल्लाह दिन्छु। म उनीहरूलाई नेपालबारे सबैभन्दा मन पर्ने कुरा के हो ? सोध्छु, नेपालको अनुपम सौन्दर्यको प्रशंसा गर्छन् कि भनेर। तर अधिकांशले सबैभन्दा बढी नेपाली जनताबाट प्रभावित भएको बताउने गरेका छन्।

कठिन दैनिकी हुँदाहुँदै पनि उनीहरू नेपालीको खुसी, उदारता, आतिथ्य र दयालुपनबाट प्रभावित हुने गरेका छन्। त्यही कारणले होला, अँध्यारोमा समेत झोलामा नेपाली झन्डा देखेर जर्मनीका बिटल कार चालकले गाडी रोकेर मलाई लिफ्ट दिएका।  

–फ्रान्सको पेरिसबाट निस्कने ‘होलिडे’ म्यागेजिनको काठमाडौंमाथि समर्पित नयाँ अंकमा प्रकाशित पत्रकार दीक्षितको आलेखको नेपाली भावानुवाद।

प्रकाशित: १५ वैशाख २०८१ १२:४० शनिबार

नेपाली नेपाल नेपालको झन्डा