कला

सुशान्तले भेटे हेजल ग्रेस

मुम्बइ – हलिउड फिल्म ‘दि फल्ट इन आवर स्टार्स’को हिन्दी रिमेकका लागि जोडी खोजिरहेको सुशान्त सिंह राजपुतले अन्ततः फिल्ममा हेज ग्रेसको भूमिका गर्ने केटी फेला पारेका छन्। विज्ञानपन फिल्ममा काम गर्ने सन्जना संघीले हिन्दी रिमेकमा सुशान्त जोडीको रुपमा अभिनय गर्नेछिन्।

फिल्मका निर्देशक मुकेश छाबराले सन्जना सुशान्तको अपोजिटमा फाइनल भएको बताएका छन्। फक्स स्टार स्टुडियोले निर्माण गर्न लागेको फिल्म यही वर्षको मध्यबाट फ्लोरमा जानेछ। फिल्मको संगीत अस्कर अवार्ड विजेता भारतीय संगीतकार एआर रहमानले दिने खबर यसअघि नै सार्वजनिक भइसकेको छ। 
निर्देशक छाबराले सन्जनालाई ‘रकस्टार’ फिल्मको दौरानमा नै देखेको तर उसबेला कलिलै रहेकाले फिल्ममा नलिएको बताए। ‘केही वर्षपछि विज्ञापनको सिलसिलामा भेट हुँदा परिपक्व र अभिनयमा पनि लगनशील पाएँ। त्यही बेला नै मलाई यो फिल्ममा सन्जना ठिक हुन्छ जस्तो लागेको थियो, नभन्दै भने जस्तो भयो,’छाबराले भनेका छन्। 

फक्सकी क्रिएटिभ अफिसर रुचा पाठकले पनि सन्जनाले अडिसनमा समेत राम्रो काम देखाएको बताइन्। ‘ अडिसन नसक्दा नै फिल्मको हेजल सन्जना नै हो भन्ने लागेको थियो। प्रतिभाशाली सन्जनालाई डेब्यु गराउन पाउँदा हामी पनि उत्साहित छौं,’पाठकले भनेकी छिन्। सन्जनाले यसअघि इरफान खानको हिन्दी मिडियममा सबा क्वोमारको जवान भर्सनको रुपमा अभिनय गरेकी थिइन्।

जोन ग्रिनको उपन्यासमा आधारित ‘दि फल्ट इन आवर स्टार्स’ सन् २०१४ मा रिलिज भएको थियो। रोमान्टिक फिल्म हुनुका बावजुद फिल्म, अमेरिकामा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा अग्र पंक्तिमा अटाएको थियो। फिल्ममा सुशान्तले भने एन्सल एलगर्टले गरेको भूमिका निर्वाह गरेका छन्। फिल्मले थाइराइड क्यान्सर भएर उपचारका लागि क्याम्पमा रहेको एक जोडी युवतीको कथालाई प्रस्तुत गरेको छ।

प्रकाशित: ७ चैत्र २०७४ ०३:११ बुधबार