कला

खट्को

कथा

२०७५ वैशाख १२ गते

८ः०० बजे

‘भन्ज्याङ छ है !’

मैले हात उठाएर कराउँदा नकराउँदै बस बिसाइसकेको थियो। मेराअघिका दुईचार जना ओर्लेपछि म पछि लागें।

‘बल्खुदेखि दुई जना,’ पाँच सयको नोट थमाउँदै सहचालकलाई भनें।

‘दुई जना?’ उसले मेरो पछाडि आँखा दौडायो।

‘अँ। बाँकी खुद्रा आफैंसित राख।’

मैले यसो भन्दा ऊ अल्मलियो। नोट एकैछिन हातमा खेलायो र कपाल कन्याउँदै बसको ढोकामाथिको टिनको पातोमा ढ्यापढ्याप हान्यो। बस गुड्यो।

‘छिटो आऊ न,’ ब्याकप्याक भिर्दै ऊ कराई।

‘पख न। भएभरका सामान मेरो रकस्याकमा कोचेर आफू भने हलुको झोला बोक्या छ। फेरि उसैको डाँको। बाठी कहींकी !’ गनगन गर्दै झोला भिरें र उसका पछि लागें। ऊ फुरुक फुरुक गर्दै सडकपारि कुदी।

अघि गाडीबाट झर्नेहरूले मलाई फर्कीफर्की हेरेर गयो। उनको आवाजै चर्को। जहाँ पनि जात्रै गर्छे। मधुरो बोल भन्दा टेरपुच्छर लगाउँदिनन्।

‘अनि जान्ने भएर किन फाइभ हन्ड्रेड भिरा’को नि? पैसा बढी भा’ हो?’ आँखा नचाउँदै पारिबाट च्याँट्ठिई।

मलाई उनको चर्को बोल्ने बानी पटक्कै मन पर्दैन। तर यो चाहिँ बानी खुब मन पर्छ। रिसाउँदा होस् कि आत्तिँदा होस्, या कुनै कुरा चित्त नबुझ्दा होस्, आँखाको नानी गोलगोल पार्दै नचाउँछे, मुख चुच्चो पार्दै।

‘होस् न त। आज तिम्रो बर्थडे। केटोलाई तिम्रोतर्फबाट बर्थडे ट्रिट भो,’ मैले हाँस्दै भनें।

फर्पिङ हुँदै सिस्नेरीको बाटो हेटौंडा जाने टाटा सुमोहरू लस्करै कुदाकुद गर्दै अघि बढे। मैले बाटो काटें।

‘लल, दिलदार महासय। बरु बाटो कता हो, भन ! म त कहिल्यै गा’छैन। तिम्रै पछिपछि हो लाग्ने!’

‘बाटो थाहा न’भा मान्छे किन अघिअघि नि त? दक्षिणकाली जाने विचार हो? साइनबोर्ड देखिनौ?’ बाटो छेउ दाहिनेतिर ठिङ्ङ उभिएको बोर्ड देखाउँदै भनें।

‘ए! यता पो? हिहिही!’ मस्किँदै ऊ ढुंगे सिँढी चढ्न थाली। म उसको नितम्बको लयात्मक डोलाइ नियाल्दै कदम अघि बढाएँ।

‘ल अघि जाऊ। एक त तिमी मेरो गाइड। अर्को, तिमी मेरो पछि लागेको मलाई डर लाग्छ। तिम्रो नजर कता कता डुल्छ, था’ नपा हो र?’ उनको लाउडस्पिकर घन्क्यो।

‘ह्याककक ! ओभर हैन है। अनि के आकाश नियाल्दै हिँड्नु?’ ठुस्किँदै मैले भनें।

‘बाटो हेरेर हिँड्ने नि। ओभरस्मार्ट !’ उसले हकारी र मेरो पछि लागी।

दुई पाइला के हिँडेकी थिई, ढुंगोमा अल्झिछ कि कुन्नि, लर्खरिँदै मेरो हात समाउन आइपुगी।

‘बाटो हेरेर हिँड्ने नि। गोज्याङ्ग्री !’ रिसाएझैं गरेर उनको हात हल्का निचारें।

‘रिभेन्ज!’ ऊ अर्को हातले मुख छोपेर मरीमरी हाँस्न थाली। ‘एक नम्बरको छुच्चा हौ के तिमी !’

म दंग परेर उसलाई नियालिरहें। उसको हाँसो धुपीका रुखहरूको सुसाइसँग मिसिएर मधुर धुन बन्यो। म मुग्ध बनी सुनिरहें।

ढुंगे सिँढी ढुंगा छापिएको गाडी गुड्ने सडकमा मिसियो। बाटो तेर्सो भयो। हिँडाइको सकस कम भयो। दुइटा बाइक हुइँकिँदै उकालो लाग्यो। जंगलको शून्यपन एकैछिन बिथोलियो। उसको फुलेको सासको स्वाँस्वाँले धुपीका झल्लरे पातमा हावा छिरेर निक्लेको स्याइँस्याइँ आवाजसँग दोहोरी खेल्दै थियो।

‘पख न एकैछिन। उफ!’ कम्मरमा हात हालेर ऊ दोब्रिई। मैले उसलाई मेरो हातको भर दिएँ। ऊ मेरो हातैमा झुन्डिई।

‘त्यही भएर तिमीसित कतै जान मन लाग्दैन भन्या। जता नि हिँडाउने। छुच्चा!’ स्वाँस्वाँका बीच यति भनेर ऊ बाटो छेउ थुचुक्क बसी–मुख चुच्चो पारेर!

‘ल, दुई सिप पानी पिऊँ। धेरै नि पिउनुहुन्न। पेट बटारिन्छ। हिँड्न उल्टै गाह्रो पर्छ,’ मिनरल वाटरको बोतल अघि सार्दै मैले भनें, ‘एकैछिनमा बानी पर्छ। ठिक हुन्छ।’

झोलामा अड्काएको वाकिङ स्टिक फुकाएँ र उसलाई दिएँ। ‘दस मिनेटमा हात्तीवन रिसोर्ट पुग्छौं। उतै थोरै सुस्ताम्ला।’

एक हातले मेरो हात च्याप्प समाएर अर्को हातले लट्ठीको टेकोको भर लिँदै ऊ सुस्तसुस्त हिँड्न थाली।

एक मन थकथकी लाग्यो। खुरुक्क कतै नजिकै बर्थडे मनाउनुपर्ने ! ‘बर्थडे गर्ल’को हविगत देखेर मनमा टिठ लाग्यो। खुब माया लाग्यो। सास्ती दिन ल्याएजस्तो भयो।

तर रिसोर्टसम्म पुग्दानपुग्दै ऊ चुलबुलिन थाली। तन्नेरी ज्यान बौरिएछ। त्यसमाथि एकैछिनको चिया चुस्कीसितको सुस्ताइ र रेस्टुरेन्टको आँगनबाट देखिने काठमाडौं उपत्यकाको मनोरम दृश्यले उसमा गजबको ऊर्जा थप्यो।

‘वाह! क्या दामी भ्यु!’ ऊ प्रफुल्लित मुद्रामा चिर्बिराउन थाली।

‘यहाँबाट भन्दा माथिबाट अझ दामी देखिन्छ !’

‘भन्नै पर्दैन। हाइटबाट दामी देखिइहाल्छ नि,’ मेरो कुरालाई बीचैमा काटी।

‘जामजाम, ढिलो हुन्छ। नौ बज्न लागिसक्यो। टप पुग्न तीन घण्टा कम्तीमा लाग्छ,’ झोला उचाल्दै मैले यति भन्न पाएको हुँदिनँ, ऊ झोला र लठ्ठी बोकेर खुरुरु कुदिहाली। बिल तिरेर निक्लँदासम्म ‘हाइकर मैयाँ’ परै पुगिसकिछ। मैले आफ्नो कदमको स्पिड बढाएँ।

९ः०० बजे

वैशाखको महिना भए पनि बिहानीपखको सिरसिरे हावाले तन शीतल बनायो। त्यसमाथि उसको ननस्टप बोलाइले मनलाई नै पनि शीतल बनायो। पटरपटर बोलिरहने उसको बानी कहिल्यै छुटेन। उसको बोली डाँडाका खोल्साखोल्सीमा हाम फाल्दै बग्ने कञ्चन खोल्सोझैं अविरल। डाँडैडाँडा बहने पवनको झोक्काझैं चञ्चल। छिनछिनै खितखिताउने उसको बानी– लाग्छ मेरा हरेक कुरा उनका लागि चुट्किला हुन्। मेरा कुराले मात्र किन, जे कुराले पनि उसलाई हँसाउँछ। त्यसैले कहिलेकाहीं म उसलाई भन्ने गर्छु, ‘अरे यार, तिमी त पात हल्लिए नि हाँस्छौ। के विधि खितखिते भा’को तिमी!’

‘पात हल्लिँदा नि रे? हाउ फन्नी, हिहिही!’ मेरो पाखुरामा प्याट्ट हानेर ऊ मरीमरी हाँस्छे।

सायद उसलाई मेरो सामीप्यले खुसी दिलाउँछ। तब न मसँग हुँदा ऊ छिनछिनमा मुस्काउँछे, दिल खोलेर हाँस्छे, मेरा सानाभन्दा साना कुरामा पनि खितखिताउँछे।

अँ साँच्ची, केही छिन अघिसम्म हिँड्न गाह्रो मान्दै गरेकी उनी अब मलाई तान्दै लतार्दै हिँड्ने भई। ट्रेलबाट छड्केर डुजोम गुम्बा पनि उसैले तानेर लगी। बाटो छेउको साइनबोर्ड हेर्न सिकिछ!

गुम्बामा त्यो बखत ‘नो एन्ट्री’ रहेछ। भित्र पस्न नपाएकाले गेट बाहिरबाट देखिने दक्षिणतर्फको फाँटमा नजर दौडायौं। हाम्रो सामुन्ने डोल्लुदेखि फर्पिङ गाउँसम्म लमतन्न पसारिएको थियो।

फर्पिङ, जुनबेला यसलाई शङ्खरापुर भनिन्थ्यो र जतिबेला राजा भीमार्जुनले यहाँ राज गर्ने गर्थे। भनिन्छ कि, त्यतिबेला काठमाडौं उपत्यका बनिसकेकै थिएन। त्यतिखेर उपत्यका विशाल नागदह थियो, पूरै जलमग्न। हुनसक्छ, त्यतिखेर यो राज्य त्यही नागदहको डिलमा बसेको हुँदो हो। त्यही दहको पानीमा फर्पिङ प्रतिबिम्बित हुँदो हो।

लिच्छविकालीन इतिहास बोकेको यो ठाउँलाई वज्रयान बुद्धमार्गीहरू तीर्थका रूपमा पुज्छन्, किनकि पद्मसम्भव (गुरु रिम्पोछे)ले यसै ठाउँमा रहेको असुर गुफामा ध्यान गरेर ज्ञान प्राप्त गरेका थिए रे, जुन कि हालको फर्पिङ बजारभन्दा मास्तिर उत्तरतर्फ जंगलमा रहेको छ।

भनिन्छ कि, उनी जाडो याममा पारिलो घामले न्यानो हुने असुर गुफामा र गर्मीमा शेषनारायण मन्दिरपरिसरमा रहेको सितलु परेको होचो याङ्लेसो गुफामा ध्यान गर्ने गर्थे। प्रमाणस्वरूप होचो गुफाको छतमा ठ्याक्कै टाउकाको आकारको डोब अहिले पनि देख्न सकिन्छ। ध्यान गर्दै गर्दाका गुरु रिम्पोछेको शिरको डोब बसेको रे त्यो ! उनैको ध्यानमुद्रामा बसिरहेको विशाल मूर्ति केही वर्षअघि मात्र यही डाँडाको ठ्याक्क मुन्तिर डोल्लुको पाखोमा बनेको छ।

ध्यानमुद्राको कुरा गर्दै थिएँ, यता खितखिते मैयाँ पलेटी कसेर ध्यानमुद्रामा बसिसकेकी थिई, हरियो घाँसे मैदानमाथि।

‘आऊ तिमी पनि, एकैछिन मेडिटेट गर!’ बन्द आँखामध्ये देब्रे चाहिँ हल्का उघार्दै उसले नटखट पारामा मलाई आफूसँगै बस्ने इसारा गरी।

‘हत्तेरी ! के गरेकी भन्या? यो मेडिटेट गर्ने समय हो र? त्यत्रो हिँड्नुछ।’ म हल्का झर्किएँ। कहिलेकाहीं उनको चर्तिकला देखेर दिक्क लाग्छ। बिल्कुल चाइल्डिस !

‘ह्या ! ठुस्स नबन न। क्या पिसफुल ठाउँ छ। दिमाग ठन्डा हुन्छ। आऊ।’

जिद्दीको अगाडि मेरो के लाग्नु। म पनि ध्यानमग्न बनिदिएँ।

१०ः३० बजे

उकालोभरि मलाई सरापिन्। ओरालो सुरु भएपछि चहकिँदै अघि लागिन्। बेपत्तै हुनेगरी अघि लागिन्। चम्पादेवी पुग्न आधी बाटो बाँकी हुँदा चौबाटो पुगियो। दायाँतिरको गोरेटो ओर्ले बोसनगाउँ, बायाँतर्फको गोरेटो ओर्ले खार्पा। खार्पा हुँदै फाखेलको बाटो कुलेखानी पुगिन्छ। ओरालो त पक्कै लागिनन् होली। हे भगवान् ! कहाँ कुदी यो ? सुनसान बाटो। हत्तेरी !

तर मैले चिन्ता लिनुपदैनथ्यो किनकि चौबाटोपछि उकालो सुरु हुन्छ। नभन्दै ऊ थोरै माथि सियाँलमा थुचुक्क बसेर ह्याटले अनुहार हम्किँदै थिई।

‘कति स्लो हिँडेको! एक घण्टा भो ह्याँ कुरेको,’ आँखा नचाउँदै उसले भनी। जिस्किन त माहिर छिन्!

‘कु¥यौं एक घण्टा ! अब कुर्नु त मलाई छ। देखेनौ ठाडो उकालो?’

‘त्यही त। त्यही देखेर त लास्टै तनावमा छु नि,’ उसले अनुहार खुम्च्याई। ‘हिँड्न नसके मलाई बोक्नुपर्छ नि। सक्छौ?’

‘तिमी फिस्टीलाई बोक्न के गारो!’

‘खुप होला फिस्टी। पचास पुगिसकें। के भन्ठान्या?’

‘हेर्दा त हावाले उडाउलाजस्तो छ।’

‘उडायो खुप। बढी नहेप है। भन्द्या’छु।’

ऊ ठुस्किई। म मुस्कुराउँदै अघि लागें। ‘ल आऊ आऊ। बढी नौटंकी गर्ने होइन। अझै डेढ घण्टा उकालो हिँड्नु छ।’

ऊ ठुस्स अनुहार पारेर मेरो पछि लागी। मौसम पनि उसकै अनुहारझैं ठुस्स परेको थियो। उत्तरतर्फ हिमालको झल्को देखिँदैनथ्यो। नागार्जुन डाँडाको टुप्पोमा रहेको जामाचो गुम्बा हल्का पाराले देखिन्थ्यो। डाँडाको दाहिने भाग होचो हुँदै बालाजुको रानीवन एरियामा गएर टुंगिन्छ। नागार्जुन नामलाई सार्थक पारेझैं डाँडाको आकार ठ्याक्कै नागजस्तै, बालाजु बाईस धाराको भागलाई निल्न ठिक्क परेको नागजस्तै। हेर्दै जाँदा त्यसको दाहिनेतर्फ पर तुवाँलोले ढाकेको उपत्यकाको मध्यभागमा ठिङ्ङ उभिएको सेतो रङको धरहरा भने ठम्याउन सकिन्थ्यो।

११ः३० बजे

उकालोभरि दश ठाउँमा सुस्ताई। सयपटक सरापी। खुट्टो बाउँडियो भनेर बबाल मच्चाई। जेनतेन टुप्पोमा पुग्दा ठ्याक्कै साढे एघार बजेको थियो। जंगलको बीचमा फुलचोकी माई। न मन्दिर, न पाटी। एउटा घण्ट र माईको मूर्ति सिवाय अरू केही थिएन। हामी आएको गोरेटो पश्चिमतिर अघि बढेको थियो। उतैउतै भष्मासुर, वाणासुर डाँडा हुँदै चन्द्रागिरिको भालेश्वर महादेव पुग्न सकिन्छ। तर हाम्रो आजको यात्रा भने यहींसम्म मात्र। गन्तव्य यहींसम्म मात्र।

‘ओई, यत्रो टाढा आ’छौ। देवीदर्शन गर्नुछैन। ट्वाँ परेर के हेरि’रा ?’

‘पख न। एकैछिन सुस्ताउन देऊ। थाकेर मरें म त।’

छेउको घाँसमा लम्पसार पर्दै उसले आँखा चिम्ली। एउटा कमिलो उसको सर्टको बाहुला हुँदै अनुहारमा चढेर एकफन्को मारेर फर्किसक्दा पनि उसले पत्तो पाइन। भुस्कुट सुतिछ। बिचरी! लास्टै थाकिछ क्यारे। बर्थडे बिजोग भो मोरीको !

हरियो जंगलमुनिको कङ्क्रिटको जंगललाई तुवाँलोको एक पत्रले लपेटेको थियो। देवी दर्शन गरेर हामी ओरालो झर्न थालेका थियौं। उकालोमा जति गुनासो गर्थी, ओरालोमा उति नै चहकिन्थी। मृगझैं उफ्रँदै बाटो छेउको ढुंगोमा उक्ली।

‘एक क्लिक हान त। ह्याँबाट देखिने सिन क्या दामी छ,’ ढुंगाको छेवैसम्म पुगेर उसले एउटा पाउ हल्का अघि सारी र कम्मरमा हात हालेर जिउलाई थोरै ढल्काई अनि मुखलाई अनौठो पाराले बंग्याएर रेडी छु भन्ने भावमा हातले इसारा गरी।

‘ओई, खस्ला ! छेउसम्म नजाऊ त!’ म गनगन गर्दै मोबाइलको क्यामेरा खोल्न थालें।

‘ह्या, छिटो न !’ ऊ अप्ठेरो तरिकाले ढल्केकी थिई। पोज पनि कस्तो न कस्तो ! नखरमाउली कहींकी !

म मोबाइल ऊतिर सोझ्याउँदै थिएँ कि अचानक संसार हल्लियो !

११ः५६ बजे

फनफनी घुमायो। बेस्सरी रिँगायो। शरीरको सन्तुलन रहेन। के भएको थम्याउन सकिनँ। कच्ची बाटोमा गाडी हल्लिएझैं भयो। थुचुक्क बसें। छेउको बुट्यान समाएर आफूलाई सम्हाल्ने कोसिस गरें। ढुंगोतिर नजर दौडाउँदा उनी त्यहाँ थिइन। म आत्तिँदै लडखडाउँदै ढुंगो छेउ पुगें। बुट्यान समाएर तल हेरें। ऊ मलाई नै हेर्दै थिई, लम्पसार पल्टिएर– बीस फिटजति मुनि अर्को ढुंगामा, चाक्लो ढुंगामा। हात थोरै उचालेकी थिई। सायद मेरो हात समाउन आफ्नो हात बढाएकी हो। उनको शिरको वरिपरि ढुंगामा रातो घेरा थियो। ऊ आफ्नै रक्तआहालमा बेहाल थिई। एउटा लामो क्रन्दन सुनें। मेरै आवाजझैं लाग्यो। म आफै चिच्याउँदै थिएँ क्यारे।

हो, त्यो म आफै थिएँ। चिच्याउने म आफै रहेछु। म चिच्याएको म आफै सुन्दै थिएँ। मेरो चिच्याहट तल उपत्यकासम्म ध्वनित भयो, प्रतिध्वनित भयो। त्यो उपत्यकासम्म, जुन एक युद्धभूमिमा परिणत भएको थियो। घर, पर्खाल, इँटाभट्टाका चिम्नी ढलेर उडेका धुलाका डंगुर, मानौं बारुदका धुवाँ। बारुदको धुवाँभित्र धमिला आकृतिहरू। धमिला आकृति जो पलभर अघिसम्म सङ्ला संरचना थिए।

नागार्जुन डाँडालाई पछ्याउँदै दाहिनेतिर नजर दौडाएँ। एकैछिन अघिसम्म ठिङ्ङ उभिएको धरोहरा गायब थियो। त्यो ठाउँ, यस्तो लाग्थ्यो, मानौं युगौंयुगदेखि सपाट मैदान थियो। त्यो सपाट मैदानबाट मेरो चिच्याहट प्रतिध्वनित भएर मसम्म आइपुग्यो।

प्रतिध्वनिले मलाई घचघच्यायो। पानी छम्क्यो अनि भन्यो, ‘सुन्नुस् त ! सुन्नुस् त!’

मैले बिस्तारै आँखा उघारें। डाँडामुन्तिरको चाक्लो ढुंगा खाली थियो। उपत्यकामा धुवाँधुलोको कुनै नामोनिसान थिएन। कम्पनको कुनै आभास थिएन। टन्टलापुर घाम लागेको थियो। हिमाल झलमल खुलेको थियो।

फर्केर हेरें। मिनरल वाटरको बोतल बोकेका एक युवकलाई मैले ठम्याएँ, जो प्रश्नवाचक चिह्न बोकेर मसामु उभिएका थिए।

मध्याह्न

‘ओई! के भो? निदाएको? एउटा फोटो खिच्न पनि के विधि टाइम लगाएको भन्या, छ्या !’

म झसङ्ग भएर उठ्छु। मिनरल वाटरको बोतल बोकेका युवक कतै थिएनन्। ऊ भने ढुंगाको छेउमा पोज दिएर उभिएकी थिई।

‘तिमी?’ म सुकसुकाउँदै बोलें।

म अल्मलिएको देखेर ऊ खितखिताउँदै हाँसी।

‘म के त?’

‘तिमी... तल... ढुंगामा...।’

‘हो, तल ढुंगामा म नै थिएँ,’ एकछिन अघिसम्म खितखिताउँदै गरेकी उनी अचानक भावुक बनिन्। ‘अब यहाँ पनि म नै छु। पछि कहीं टाढा म नै हुनेछु।’  

ढुंगाबाट ओर्लेर ऊ मछेउ आएर बसी। मेरो हात समाएर मुसारी। मेरा टिलपिल गर्न थालेका आँखामा नियाली।

‘हेर न। तिमीले बुझिहाल्यौ। सँगसँगै आएथ्यौं। म केही अगाडि जानुपर्ने भो।’ उसको मधुरो आवाज कतै टाढाबाट मसम्म पुग्दैथियो। ‘तिमी बिस्तारै आऊ न है। म जाँदै गर्छु। हुन्न?’

जाँदै गर्ने ? मलाई छोडेर? कुरा सुन्दै नै भावविह्वल भएँ। मन कटक्क खायो। गला अवरुद्ध भयो। आँखाबाट अश्रु बरबर्ती झर्न थाले। उसले औंलाले पुछिदिई र हत्केलाले ओठ हल्का छोपिदिई।

‘धत्, यति लाठे भएर नि रुने हो?’

म केही बोल्नै सकिनँ। चुपचाप आँसु बगिरह्यो।

‘यसमा तिम्रो केही दोष छैन। हुनु यही थियो। भयो। स्वीकार गर्न सिक।’

मनमा गाँठो परेको थियो। छातीमा ऐंठन परेको थियो। म छाती पिटीपिटी रुन चाहन्थें। त्यो दिन, त्यो दिन यदि म कायर नबनेको भए, तड्पिँदै गरेकी तिमीलाई छोडेर नभागेको भए ! कथा अर्कै बन्थ्यो। स्वीकार गर्न सिक त भन्छ्यौ तर कसरी स्वीकार गर्नु कि तिम्रो अवसानको कारक म होइन भनेर।

ऊ भने बोल्दै थिई। सायद मेरो दिमागभित्र उसको आवाज गुन्जिँदै थियो।

‘त्यतिखेर तिमी विचलित थियौ। तिमीले जे गर्‍यौ, जोकोहीले त्यही नै त गर्थे। तर तिमी आफूलाई दोषी मान्दै आएका छौ। वर्षौंवर्ष भयो, तिमी प्रायश्चितको आगोमा दन्किरहेछौ। प्रत्येक वर्ष तिमी यही दिनको छेको पारेर डाँडा उक्लिन्छौ। आएर यही ठाउँमा आफ्नो मनको वह पोख्छौ। म तिम्रो आर्तनादमा अल्झिएर यही पाखापखेरामा रुमलिई हिँडेकी छु। अब मलाई जान देऊ। मलाई मेरो आफ्नो यात्रा गर्न देऊ।’

उसका आँखा सुकोमल थिए। त्यहाँ न कुनै पूर्वाग्रह थियो, न कुनै गुनासो। थियो त केवल मुक्तिको चाह। एउटा अर्को यात्राको चाह। गन्तव्यविहीन त म थिएँ। उसमा गन्तव्यबोध थियो। दोषी त म आफूलाई मान्थें। उसले कहिल्यै मानिन। जकडिएको त म थिएँ। ऊ मोहजालबाट अविचलित अघि बढ्न चाहन्थी।

र त, मैले उति नै खेर फुकाएँ– उसलाई। मेरो यादबाट! मेरो बन्धनबाट! मेरो मोहजालबाट!

ऊ उठी। दुई कदम अघि बढेर फरक्क फर्की। उसको घना कालो केसले आधा अनुहार छोपिएको थियो। उसले बिस्तारै तिनलाई हटाई, जसरी मैले हटाइदिने गर्थें। उसको ओठमा मन्द मुस्कान खेलिरहेको थियो। शिरवरिपरि धपक्क बलेको आभाले उसको सम्पूर्ण अनुहार उजेलिएको थियो। उसले अन्तिमपटक मलाई हेरी अनि सरासर उकालो उक्लिन थाली।

चम्पादेवी डाँडाको टुप्पोमा एक जोडी काग उड्दै थिए। त्यसको ठिक मुन्तिर मेरी जोडी बिस्तारै विलीन हुँदै थिई। लाग्छ, अब भने मेरो मनको खट्को ऊसितै विलीन हुनेछ।

प्रकाशित: १५ वैशाख २०८१ ०६:५३ शनिबार

अक्षर